३० असार, नेपालगन्ज । गत जेठ ८ गते साँझ ६ः३० बजेको समय नर्स लक्ष्मी केसीका लागि कहिल्यै नभुल्ने दिन भएको छ । सधै ८ देखि ९ बजे कर्मक्षेत्रबाट फर्कने उनी सो दिन भने अपरान्ह ५ बजे फर्किइन् । नर्सिङ संघ बाँकेकी अध्यक्ष समेत रहेकी केसीले संघको भर्चुअल मिटिङमा रहेका बेला पति मेघराज ओलीले समस्या जटिल छ भन्दै मिटिङ अन्त्य गर्न संकेत गरे ।
सधै जिस्कने पतिले आज पनि मजाक गरेका होलान् भन्ने उनले ठानिन् । तर, उनलाई कोरोना भएको रहेछ । उनले पत्याइनन् । ‘मेरो रिर्पोट नै होइन । म सुरक्षाका सबै बिधि अपनाएर हिँड्थे । कसरी हुन्छ,’ उनले गरेको प्रतिवाद मेघराजले सम्झिए । ‘अरुलाई सम्झाउन सजिलो हुन्छ । आफू, समस्यामा पर्दा गाह्रो हुने रहेछ,’ लक्ष्मीले यर्थाथ दर्शाइन् ।
भेरी अस्पताल नेपालगन्जको मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बहादुर थापाले फोन गरेर सोधेपछि आफू संक्रमित भएको कुरा उनलाई थाहा भयो । खजुरा गाउँपालिकाकी स्वास्थ्य सहसंयोजक रहेकी नर्सिङ अधिकृत केसीले गाउँपालिकाको टिमलाई घर सेनिटाइज गर्न बोलाइन् । कोरोना संक्रमण भएको २४ घण्टासम्म घरकै आइसोलेशनजमा बसेकी केसीले घरमै बस्न माग गरिन् तर पाइनन् । संक्रमण भएको दोश्रो दिनमा उनका पतिमा पनि कोरोना पोजेटिभ देखियो ।
स्थानीय मध्यपश्चिम सन्देश दैनिकका प्रकाशक÷सम्पादक रहेका मेघराज खजुरा गाउँपालिकामा रहेको सुशील कोइराला क्यान्सर प्रखर अस्पतालको आइसोलेशनमा गएपछि दैनिकी फेरिएको बताउँछन् ।
कोरोना संक्रमण र यसबाट जोगिन यस्तो सुझाव दिन्छीन् लक्ष्मी
आइसोलेशनमा बस्नेले आफूलाई दिनभरी नै क्रियाशील बनाउनु पर्छ । सकेसम्म दैनिक रुटिन बनाएको राम्रो । नत्र भने मनमा रोग लागेको छ । के हुने हो भन्ने तनावले घेर्छ,’ मेघराजको सुझाव थियो । लक्ष्मी भन्दै थिइन् । ‘रोग प्रतिरोधात्मक क्षमता विकास गर्न सकरात्मक सोच चाहिन्छ । नत्र भने डिप्रेशनमा जाने खतरा हुन्छ ।’
बिहान सबेरै उठ्ने, योग, कपालभाँती गर्ने, दिनमा तीनपटक तातोपानीको बाफ लिने कार्यतालिका बन्यो । ‘रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्न गुर्जो निकै प्रभावकारी रहेछ । गुर्जो, टिमुर, लसुन, बेसार, अदुवा, नुन मिसाएर पानी खान्थ्यौं । मनतातो पानीमा कागती र मह पनि खान्थ्यौं,’ उनले भनिन् । मंगलबारको अन्नपूर्णपोष्ट दैनिकबाट
फाइल :फोटो
वि.सं.२०७७ असार ३० मंगलवार ०९:३९ मा प्रकाशित






























