
१ साउन, काठमाडौं । अध्यागमनका विभागका कर्मचारी रामचन्द्र काफ्ले प्रवेशाज्ञा (भिसा) बिक्रीमा मुछिएका छन् । काफ्लेले पदका दुरुपयोग गरी ३ जना चिनियाँ नागरिकलाई अनधिकृत तवरले भिसा जारी गरेको पाइएको छ । उनले कति रकममा भिसा बेचे भन्ने कुरा भने अनुसन्धानकै क्रममा रहेको छ ।
विभागको स्टोर शाखामा रहेका भिसा स्टिकर उनले गोप्य ढंगले निकालेका थिए । त्यसपछि विचौलियाको सहायतामा ती चिनियाँलाई रिलेसन (नातेदार) भिसा जारी गरेको खुलेको छ । तर उक्त भिषाका लागि न आवस्यक कागजातपत्र पेश भएको न त भिसा जारी गरेको रेर्कड छ । केहि थान भिसा स्टिकर अनधिकृत ढंगले बाहिरीएको रेर्कड अध्यागमन विभागसँग छ । त्यसकै आधारमा विभागले काफ्लेमाथि कार्बाही थालेको बिहिबारको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।
रिलेशन भिसा पाउन स्थानीय तहले गरेको नाता प्रमाणित, सनाख गर्ने व्यक्तिको सशरीर उपस्थिति र सनाखत गर्ने व्यक्तिको नेपाली नागरिकता अनिवार्य पेस गर्नुपर्छ । ती चिनियाँको कुनै पनि कागजपत्र अध्यागमनमा छैन । मूलतः त्यहि कागजपत्रका आधारमा विभागको गैरपर्यटकिय शाखाले रिलेसन भिसा दिने÷नदिने निर्णय गर्दछ ।