
बेखबर छु म यहाँ
शरीरका इन्द्रियहरु स्थिर भएका छन्
नयनहरु मुहान बनेर खहरे बगाइ रहेछ्न्
मनको मझेरिमा एउटा दियो बालेर
औंशीको कालोरातमा दियोको साहारा माग्दै
अनिन्द्रा सङ्ग दोस्ती बढाएर पर्खाइमा छु म ।
तिमी कहाँ छौ म अनभिज्ञ छु
मनभित्र कल्पनाको आकृति ठिङ्ग उभिएको छ
सुस्तरी बात मार्छु तर तिमी मौन किन ?
खै बुझेको मलाई ? खै सुनेको मलाइ ?
चितामा जलिरहेको चिच्याहट झैं चिच्याउँछु
दनदनी बलिरहेको आगोमा
पड्केको आगो झैं पड्किन्छु
र पनि ऊ मौन छ
अनि बर्षायाममा चम्कने बिजुलि झैं
गड्याङ्ग गुडुङ्ग आवाज दिदै आउँछौ
कि भनेर म पर्खिन्छु,म पर्खिन्छु ।
क्षितिजपारिको बादललाई हेर्दै सम्झन्छु
उ त्यहाँ घरी सेतो भएर जिस्काउँछ मलाई
घरी कालो भएर डराउँछ मलाई
अनि म आशाको त्यान्द्रोमा झुन्डिएर
आत्महत्या गर्छु
नदिको तटमा जलेर
खरानी भएको मेरो चितालाई पखाल्न
कालो बादलबाट ऊ पानी बनेर झर्छ
अनि बगाउँछ आफू सङ्गै र समुन्द्रमा
समाहित हुन पुग्छौ अनि हाम्रो भेट हुनेछ
अवश्य हाम्रो भेट हुनेछ त्यहाँ ।
वि.सं.२०७७ साउन ३ शनिवार १०:०८ मा प्रकाशित






























