काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संवादसमेत बन्द भएको छ । आन्तरिक विवाद चर्किँदै जाँदा दुई अध्यक्षबीच संवादसमेत बन्द भएको हो ।
अध्यक्षद्वयबीच मंगलबारदेखि कुनै संवाद हुन नसकेको नेकपाले जनाएको छ । जनाइएअनुसार बुधबार र बिहिबार छलफलको कार्यक्रम तय भएको थियो तर अन्तिम समय स्थगित हुन पुगेको थियो ।
यसअघि साउन १८ देखि तीन दिनसम्म निरन्तर वार्ता चलेपनि ठोस सहमती भने हुन सकेको थिएन् ।
प्रचण्ड र नेपाल समुहको बेग्लै भेलासँगै संवाद बन्द
गत बुधबार अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समुहको बिजुलीबजारस्थिति प्रेसिडेनिसयल कलेजमा बेग्लै भेला भएको थियो । जसमा नेकपा निकटका पत्रकारहरुको पनि उपस्थिति थियो । भेलामा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरुको उपस्थिति थियो ।
भेलामा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल र खनाल लगायतले पार्टीभित्रको अन्तरसंघर्षबारे गम्भिर कुरा खुलासा गरेका थिए । भेलालाई सम्बोधन गर्दै प्रचण्डले ‘खराब परिस्थितिका लागि पनि तयार हाऔं’ भन्दै नेताहरुलाई आग्रहसमेत गरेका थिए । उनले पार्टी विभाजनको लागि पार्टीभित्र र बाहिरबाट निकै ठुलो कसरत भएको कुरा खुलाएका थिए ।
भेलामा वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री ओलीप्रति लक्षित गर्दै ‘विधान उल्लंघन गरेको, मैं हुँ भन्ने अहंकार पालेको, मनामौजी सोंच विकास भएको, पार्टी विभाजनमा उद्धत भएको)जस्ता आरोपसमेत लगाएका थिए ।
प्रचण्ड र नेपाल समुहको उक्त भेलासँगै अध्यक्षद्वयबीचको वार्ता पनि अवरुद्ध भएको छ । जनाइएअनुसार भेलाप्रति ओलीले तिव्र असन्तुष्टी जनाएका छन् । यसबीच नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अध्यक्षद्वयबीच संवाद गराउन गरेको प्रर्यत्न पनि खेर गएको छ ।
प्रचण्ड–नेपाल समुह लक्षित ओली पक्षको कडा टिप्पणी
संवाद हुन नसकिरहेको बेला पार्टी अध्यक्ष एंव प्रधानमन्त्री ओली निकट नेताहरुले अध्यक्ष प्रचण्ड र नेता माधव नेपाल समुह लक्षित कडा टिप्पणीहरु गरेका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले नै खुलम खुल्ला प्रचण्ड–नेपाल समुहले पार्टी विभाजनको ‘रिहर्सल’ गरेकोसमेत आरोप लगाएका छन् ।
बिहिबार सामाजिक सञ्जालमाफर्त प्रचण्ड–नेपाल समुहले पार्टी विभाजन गर्न खाकासमेत स्पष्ट पारेको भन्दै प्रधानमन्त्री, राष्ट्रपति, पार्टी अध्यक्षलगायतको सूचींसमेत प्रधानमन्त्रीका प्रेस सल्लाहकारले सार्वजनिक गरेका थिए ।
थापाको विवादास्पद भनाई सार्वजनिक लगत्तै ओलीका राजनीतिक सल्लाहकारले पनि शुक्रबार पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ लक्षीत कडा टिप्पणी गरेका थिए । ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पदको हैसियतअनुसार काम गर्न श्रेष्ठलाई चेतावनी नै दिएका छन् ।
संवादको वातावरण बिग्रदैंछ : प्रचण्ड सचिवालय
दुई अध्यक्षबीच संवाद हुन नसकिरहेका बेला वातावरण बिगार्ने काम भएको निष्कर्ष अध्यक्ष प्रचण्डले निकालेका छन् । प्रचण्ड सचिवालयले जनाएअनुसार तीन दिनसम्मको छलफल र त्यसपछिका अभिव्यक्ति वातावरण बिगार्ने खालका छन् ।
प्रेस सल्लाहकार र प्रमुख राजनीतिक सल्लाहकारको भनाई गम्भिर रहेको सचिवालयको भनाई छ । प्रेस सल्लाहकारको अभिव्यक्तिले पार्टीभित्रको अन्तरसंघर्षलाई गलत विश्लेषण गरेको समेत ठहर प्रचण्ड सचिवालयको छ ।
वि.सं.२०७७ साउन २३ शुक्रवार १६:०९ मा प्रकाशित
























