काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परी दर्जनौं वेपत्ता भए । समाचार लेख्दै गर्दासम्म पहिरोमा पुरिएका ११ जनाको शव निकालिएको जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिएकी छिन् ।
तामाङले जनाएअनुसार अझै पनि पहिरोमा परि हराएका २७ जना सम्पर्कमा आएका छैनन् ।
अहिले उक्त क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना र स्थानीय उद्धार तथा खोजी कार्यमा जुटिरहेका छन् । पानी परिरहेको र पहिरो झरिरहेको कारण उक्त क्षेत्रमा उद्धारको काममा जटिलता भइरहेको उपाध्यक्ष तामाङले जानकारी दिएकी छिन् । दुर्गम ग्रामीण भेग भएको कारण पनि उद्धार टोली पुग्न समस्या छ ।
तामाङले जनाएअनुसार पहिरोले ३७ घरलाई पूर्णं क्षति पुर्याएको छ भने १७२ घरलाई जोखिममा पारेको छ । अहिले गाउँपालिकाले बाँकी ४० परिवारलाई उद्धार गरि सुरक्षित क्षेत्रमा लगेको तामाङले जानकारी दिइन् ।
‘गाउँ सार्न पहल गरेका थियौं तर बर्खाले मिल्दैन भन्ने जवाफ आयो’
गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले जनाएअनुसार लिदी गाउँ पहिरोको जोखिममा परेसँगै स्थानीयले गाउँपालिकालाई खबर गरेका थिए । उनीहरुले गाउँ स्थानान्तरण गर्न आग्रह गरेका थिए ।
स्थानीयको अनुरोधसँगै गाउँपालिकाले जिल्ला विपद व्यवस्थापन समितिलाई गत साउन २२ मा गाउँ स्थानान्तरण गर्न अनुरोध गर्दै पत्र पनि लेखेको थियो । तर बर्खाको कारण देखाउँदै जिल्ला विपद व्यवस्थापन समितिले गाउँ सार्न नसकिने बताएको थियो ।
उपाध्यक्ष सिर्जना तामाङका अनुसार विपद व्यवस्थापनले सहयोग गर्न नसकिने जवाफ दिएसँगै गाउँपालिको आफ्नो स्रोतअनुसार अति असुरक्षित देखिएका परिवारलाई सुरक्षित रहन पाल र खाद्यान्नको सहयोग गरेको थियो ।
‘गाउँ नै पुरै जोखिममा छ त्यसैले गाउँ नै स्थानान्तरण गर्नुको विकल्प छैन्, तर विपद व्यवस्थापनबाट पनि बर्खामा सार्न सम्भव छैन् भन्ने आयो’, तामाङले भनिन्, ‘हामीले गाउँ स्थानान्तरण गर्न नसकिने भएसँगै पाल र खाद्यान्न सहयोग गरि घरमा नबस्न भनेका थियौं ।’
उनका अनुसार दुःखद घटना टेन्ट छोडेर घरमा जाँदा भएको हो । ‘उहाँहरु टेन्टमा त जानुभयो तर रातीमा बस्ने बिहान भएपछि घरमा जाने गर्नुभयो, बिहान खाजा खान घर गएको बेलामा पहिरो आएको हो’ उनले भनिन् ।
यस्ताे थियाे गाउँपालिकाले विपद व्यवस्थापनलाई लेखेकाे पत्र

वि.सं.२०७७ साउन ३० शुक्रवार १८:२५ मा प्रकाशित






























