काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले लकडाउनले मात्रै कोरोना संक्रमण नियन्त्रणमा आउने अवस्था नरहेको बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकार वैकल्पीक उपायको खोजीमा लागेको बताए ।
कोरोना महामारीले आर्थिक संकट पनि निम्त्याएको भन्दै मन्त्री थापाले दुवैलाई हल गर्ने गरि काम गरिरहेको बताए । लकडाउन खुकुलो बनाउँदा संक्रमण ह्वात्तै बढेसँगै कडाई बाध्यतामा गरिएको उनको भनाई छ ।
‘कोरोनाको सन्दर्भमा हामीले पछिल्लो समय केहि खुकुलो पनि गर्यौं, त्यसले गर्दा अलि संक्रमण पनि बृद्धि भयो, फेरि अहिले हामीले त्यसलाई कडाई गराएका छौं’ थापाले भने, ‘यसलाई हामीले पूर्णंत नाकाबन्दी गरेर, बन्दाबन्दी गरेर यो समस्या हल हुने देखेका छैनौं, किनभने त्यसले फेरि अर्को समस्या पैदा गराएको छ, त्याे हाे आर्थिक संकट, त्यसकारणले यी दुवै कोरोना र आर्थिक संकट दुवैलाई समाधान गर्नुपर्ने भएकोले यसमा तालमेल मिलाएर हामीले गरिरहेका छौं ।’
स्वास्थ्यका मापदण्ड अपनाउँदै उद्योग व्यवसाय खोल्नुको विकल्प नरहेको मन्त्री थापाको भनाई छ । ‘स्वास्थ्यका मापदण्ड अपनाएर उद्योग व्यवसाय पनि सञ्चालन गर्नुपर्नेछ भने अरु सुरक्षाका मापदण्ड अपनाएर बन्दाबन्दीलाई पनि निरन्तरता दिनुपर्ने छ’, थापाले भने ।
१२ सय बिओपीहरु स्थापना भए
मन्त्री थापाले कोरोना महामारीका बीच १२ सय थप सशस्त्र प्रहरीका सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको जानकारी दिए । उनका अनुसार बिओपी स्थापना भएसँगै लुकिछिपी नेपाल आउने क्रम रोकिएको छ । जसले कोरोना संक्रमण पनि घटाउन पनि सहयोग गरेको छ ।
मन्त्री थापाले भने, ‘खुल्ला नाकाहरुलाई नियन्त्रण गर्नको यसबीच १२ सयभन्दा बढि बिओपी स्थापना भए । त्यसले एक हदसम्म नियन्त्रण गरेको छ । तथापि केही हदसम्म लुकिछिपी आउने पनि छन् । हिजोको जुन अवस्था थियो त्यो अहिले छैन् ।’
वि.सं.२०७७ साउन ३२ आइतवार १७:१२ मा प्रकाशित






























