
जीवन मुस्कानका पत्रपत्रमा
हिउँ बनेर जमिरहेका छन्
कमलको फूलमा मोती झै टल्कने
शीतका थोपाहरु ;
दिलको आँसु बनेर ।
डसीरहेको छ
निराश निराश समय ।
कल्पना जलिरहेको चितामा
जिउँदै
मुर्दा हुँनुको पीडा सहनुछ ।
दिलको शान्त बगैंचामा
हुर्हुर्ती डढेलो लागेको बेला
बिरुप समय
उल्टै तेजाब खन्याउँछ ।
सकी नसकी उठाउँनुछ
जिन्दगीको थेगिनसक्नु भार ।
लाग्छ-सारा ब्रमाण्ड
टाउकोलाई केन्द्रीय वृत्त बनाएर
आफ्नै थाप्लो माथि
फनफनी घुमिरहेको छ ।
बीभत्स युद्धको
महात्रासदी मात्र कहाँ हो र !!
घात–प्रतिघातको चित्कारमा उठेका
आर्त स्वरहरुको हाहाकार सुन्ने
सामर्थ्य राख्नु छ ।
च्यात्नु छ
घोर निराशाको अन्धकार प्रहर ।
छिचोल्नु छ
आँसुमा डुबेका निर्मम रातहरु ।
फगत एक्लो
निरस निरस-निसार समयमा
सूर्यका किरणले पनि
अँध्यारो प्रकाश विछ्याउँछन् ;
निभेको छ
हृदयमा प्रज्वलित दीप ।
निराशाको कुइरिमण्डल धूवाँले
ढाकेको छ ढपक्क
आशाको प्रकाशमय आकाश ।
ए ! दुनियाँ !!
चरम जलन सहेको देखेर
पीडापनि द्रवीभूत हुँनेछ
दुःख
आत्मग्लानीमा छट्पटाउँने छ ।
सहनु छ
जीवनका कहालीलाग्दा
अग्निस्पर्शका झुल्स्याउने
चरम यातनापूर्ण
अनगिन्ती-जहरिला निष्ठुर प्रहरहरु ।
वि.सं.२०७७ भदौ १३ शनिवार ०८:०७ मा प्रकाशित






























