
‘हेलो सरिता म सबिता दिदी वोलेकी, अँ सुन्न तँ यसपाली तिज मान्न ठुलो दाजुकोमा जाने की सान्दाजुकोमा ?’ सविताले सोधिन् ।
‘दिदी म त सान्दाजुकोमै जाने है’ सरिताले भनिन् ।
‘यहाँ सुन्न उसो भए ठुल्दिदीलाई चाँही ठुल्दाजुको तिर जान उक्साउनु पर्छ है ल ? म पनि भन्छु, तँ पनि कुरो मिलाएर भन ल ?नत्र के गर्नु ठुल्दाजुकोमा गएर तँ आफै भन त ? दिनै जाँदैन हौ त्यहाँ त !
न त नेट नै चल्छ,न त गर्मिमा आरामले सुत्नै पाईन्छ, त्यो नाथे फ्यानको हावा पनि तातै आउछ, हेर सान्दाजुकोमा त चट्ट एसी खोलेर बस्यो, वाईफाई छँदैछ दिनभरि नेट चलेपछि त्यसैपनि दिन वितेको पत्तै पाईदैन, त्यहीमाथि सान्दाजु र भाउजुको खानपान पनि त अर्कै हुन्छ नि हौ होईन त ,अनि ठुल्दिदी मिसिई भने त कवाफमा हड्डि हुदैन त हा हा हा हा ! कुरो बुझिस त ? हो त्यसोभए पछि ठुल्दिदी, बा आमा, दाजु भाउजुहरूको कुरापनि मिल्छ, खानपान पनि मिल्छ उनीहरूको विचार पनि मिल्छ त्यसले गर्दा ठुल्दिदीलाई जस्सरी भएपनि उतै पठाउनु पर्छ बुझिस नि ? भन्दै सबिताले फोन राखिन् ।
तीनैजना दिदीबहिनी भेलाभएर माईतजाने योजना मनभरि लिएर सबिताका घरमा उत्तिखेरै पुगेकी ठुल्दिदीले चुपचाप सबिताले फोनमा गरेका यी सबै कुरा सुनिरहेकी थिईन् ।
वि.सं.२०७७ भदौ १३ शनिवार ०८:१२ मा प्रकाशित






























