
शब्दले सधैं सधैं
भावको सेवा गर्दा,
अर्थको गहिरो सागर भित्र,
भाव र सारको माला गुथ्दा
मुल्यका लागि भनेर
तिमी कराई रह्यौ,
ध्यान दिएन कसैले
सुनेन पनि कसैले,
तिमी चिच्याई नै रह्यौ,
मेरो ध्यान केन्द्रित गर्याै
केही अरुको पनि ध्यान तान्यौ,
केहीको बथान जमायौ,
सत्यको निरुपण गर्न,
भनेर तिमी अगुवा भयौ,
बिचरा म !,
अरुहरु झै तिम्रो पछि लागिरहेँ,
तिमीलाई आस्थाको मानक ठानिरहे ।
भोक लाग्दा ,भोको नबनी,
प्यास लाग्दा, प्यासी नभनी,
निष्ठाका हरेक गह्रुङ्गा पाईलाले,
धरतीमा बिछ्याएका
सारा बेथिति विरुद्ध,
कुल्चेर हिड्दाको हाम्रो अहं-गौरव,
छात्ती भरि उम्रिएका बेला,
दिग्बिजयका खातिर,
मुल्यका संगिन उठाएका बेला,
रातको चुकझैको कालरात्री फालेर,
उज्याला किरणको स्वागत गर्ने बेला,
तिमी हरायौ एक्कासी,
छोडेर आस्थाका यात्रु सबै
चिन्तित बने सारा अभियन्ता
खोजीमा निस्किए तिम्रा सहयोद्धा,
तिमी त काम्लो ओडेर,
कुनाकुना पसेर
खै के गर्दैथ्यौ कुन्नी,
म यो देखेर ! अबाक बनिरहे,
आत्मामा बिश्वास् नहुँदा,
मनले टटोली क्रिया तिम्रा
नियालेर हेर्दा जीवन हाम्रा
बिश्वास लाग्दैन आज मलाई,
हिजोको बिप्लब बोल्ने,
आवाजमा आगो ओकल्ने,
शब्दमा बारुद भर्दै,
सारा बैह्रीलाई बम प्रहार गर्ने,
कालो दिनको अत्य गरि,
सुनौलो दिनको
आभास दिलाउने
तिमी नै थियौ कि ?
वा थियो अरु कुनै ?
क्षितिज च्यातेर दमनको
वारि-पारी निष्ठाको बीऊ छर्ने
तिमी नै हौ कि ?
वा हो अरु कुनै
वा हौ तिमी
काम्लो भित्र पसेर,
व्यभिचारमा रम्ने,
भन साँच्ची,
तिमी कुन चाहिँ हौ ?
वि.सं.२०७७ भदौ १३ शनिवार ०८:२१ मा प्रकाशित






























