
स्वदेशमा मिल्यो मिठो लगाव भाव साथमा
त्यही नमिल्न सक्दछन् बिदेशको समाजमा
ल गर्न हुन्न देशमा विभिन्न दुर्गती हरू
डसेर आत्म मर्न सक्छ सोँच सन्तती हरू ।।१।।
यहाँ रहन्न जिन्दगी उडेर नष्ट हुन्छ त्यो
गरेर कर्म जे जसो रहन्छ दिव्य नाम यो
युवा छँदा रहन्छ शक्ति नास हुन्छ त्यो पछि
प्रयोग गर्न त्यो सक्यौ भने सजिन्छ जिन्दगी ।।२।।
स्वदेशमा हराभरा गराउने छ योजना
भने रहन्छ सभ्यता र सम्पदा सबै त्यहाँ
शुषुप्त बन्न दिन्न है स्वदेशका कथा हरू
निकृष्ट बन्न दिन्न देशका विशिष्टता हरू ।।३।।
अनेक छन् यहाँ महान धर्मका महानता
हरेक देशवासीमा रहन्छ त्यो समानता
छ चार जात वर्णमा महान एकता सधैं
मिलेर सत्य कर्ममा बढिन्छ धर्म सोंचिदै ।।४।।
परे भने कतै बुढा र बाल सन्तती हरू
जुटेर गर्दछन सबै उदार पद्धती हरू
सुपुत्र देशका सदा महान विश्वमा बने
बढेर युद्ध सत्यको सधै लडे सधै जिते ।।५।।
स्वदेशकै थियो पवित्र पञ्च तत्व जन्मिदा
दियो हरेक चाहिने शसक्त भक्ति दक्षता
बलिस्ट बन्न वायुले दियो पदार्थ जो थियो
स्वदेशकै कुनाकुना भिडेर जिन्दगी बन्यो ।।६।।
बडो बन्यौ बिदेशमा बजार्न पाखुरा हरू
गयौ रम्यौ स्वदेशको भुल्यौ र सम्पदा हरू
कहाँ तिमी बदल्न सक्दछौ र बाल्यकाल त्यो
थियो हरेक सभ्यता र बेच्न पाउने भयो ।।७।।
छन्द- पञ्चचामर
वि.सं.२०७७ भदौ १३ शनिवार ०८:२४ मा प्रकाशित






























