
१.
अधकल्चो बैँशमा फूल झरेको देखियो
आफैंले आफैसँग भूल गरेको देखियो
यहाँ हरेक शब्द शब्दमा फूलबुट्टा भरेर,
मायाको हिसाब् असुल गरेको देखियो ।।
२.
यो जिन्दगीमा कति दुश्मन कति यार भेटियो
खुसी उमंग थियो टुक्र्याइ दिने हतियार भेटियो
तिमी बिनाको यो जिन्दगी पनि खै के जिन्दगी,
जीवनमा हर्ष विस्मातको ओखती प्यार भेटियो ।
३.
पोहोर उडाएको छानोले अझैसम्म खर पाएन
गरीब निमुखाले नसकेरै छाउनुपर्ने घर छाएन
मल्हम पट्टी लगाउन बिपत्तिको आलो घाउमा,
परिणाममुखी बजेट आउनु पर्थ्यो तर आएन ।
४.
यी आँखाको नानीभित्र तिमीलाई लुकाइ राख्थें
चुडिन्छ्की त्यो रुपको धागो कसि कसि मुटु बान्थें
तिमीलाई लाग्थ्यो चोट मलाई एैया एैया हुन्थ्यो,
उछिट्टियोकि मुटुभनी आफ्नो छाती आफै छाम्थें ।।
५.
कोही आउँछन् हाम्रो अस्तित्व गिजोलेर जान्छन्
हामीले देख्ने गरेको मिठो सपना बिथोलेर जान्छन्
सरकारले कुम्भकर्ण निद्राको अभिनय गर्न थालेपछि,
आउँछन् छिमेकी निर्धक्क बाटो छिचोलेर जान्छन् ।
जयन्तीपुर फुटुङ, काठमाडौ
वि.सं.२०७७ भदौ १३ शनिवार ०८:२६ मा प्रकाशित






























