back
CTIZAN AD

जुम्ली स्याउ खरिद गर्न आएनन् व्यापारी

वि.सं.२०७७ भदौ १३ शनिवार

867 

shares

 

१३ भदौ, खलङ्गा । कोरोना भाइरस रोकथामका लागि जुम्लालगायत देशका अधिकांश स्थानीय प्रशासनले निषेधाज्ञा जारी राखेपछि यसको मारमा जुम्लाका स्याउ व्यापारी पनि परेका छन् । यो जुम्ली स्याउ किसानले आफ्ना उत्पादन बेच्ने याम हो । पहिलेका वर्षमा त किसानले उत्पादन गरेका जुम्लाको मीठो स्याउ खरिद गर्न यतिबेला किसानका बगैँचामै स्थानीय तथा जिल्ला बाहिरबाट व्यापारीको घुइँचो लाग्ने गर्दथ्यो । तर अहिले स्याउ खरिद गर्न यहाँका बगैँचामा स्थानीय तथा बाहिरका कुनै व्यापारी पनि आउन पाएका छैनन् ।

निषेधाज्ञाले स्याउ व्यापारी बगैँचामा नपुगेको तिला गाउँपालिका–२ का स्याउ किसान कालीबहादुर रोकायाले बताए । उनले भने, “यस याममा जुम्लाको स्याउ सुर्खेत, नेपालगञ्ज, दाङ र देशका अन्य विभिन्न शहरदेखि यहाँका स्थानीय बजारसम्म पुग्दथ्यो । यहाँका स्थानीय बजारमा पनि सानादेखि ठूला पसलसम्म जुम्ली स्याउले भरिभराउ हुन्थ्यो ।” कोभिड– १९ को सङ्क्रमणले गर्दा स्थानीय बजारदेखि तराईका बजारसम्म निषेधाज्ञा भएकाले स्याउ कसरी कहाँ बिक्री गर्ने भन्ने समस्या भएको चन्दननाथ नगरपालिका–४ का स्याउ किसान शोभा कार्की गुनासो गर्छिन् ।

 जुम्ली स्याउ भदौ दोस्रो सातापछि पूर्णरुपमा पाकेर बजारमा लैजान योग्य हुन्छ । परिस्थिति सहज नै भएको भए अब स्याउ किसानका बगैँचामा आएर किसानले खरिदको पक्का गर्ने बेला हो ।

कृषि विकास कार्यालय जुम्लाले भदौ १० गतेदेखि मात्र स्याउ टिप्ने अनुमति दिएको छ । किसानले अघि पाक्ने स्याउ टिप्न शुरु गरेको जनाएका छन् । स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख नवराज भण्डारीका अनुसार यस वर्ष जुम्लामा १० हजार मेट्रिकटन स्याउ फल्ने पूर्वानुमान गरिएकामा त्यति उत्पादन नहुने देखिएको छ । उनले अहिले यस जिल्लामा पाँच हजार १०० मेट्रिकटन मात्र स्याउ फल्ने अनुमान गरिएको जानकारी दिए । यसपाली स्याउको फल कम लागेका कारण किसानलाई घाटा हुने भएकामा भएका स्याउ लिन पनि व्यापारी नआएपछि किसान दोहोरो मर्कामा परेका प्रमुख भण्डारीले बताए ।

जिल्लाको आधाभन्दा बढी क्षेत्रमा स्याउ फुल्ने समयमा तुषारो लागेपछि फल नलागेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालाकराम देवकोटाले बताए । उनले भने, “असिनाका कारणसमेत केही प्रभाव पा¥यो, केही स्थानमा एक वर्ष फल्ने र अर्कोवर्ष नफल्ने भएपछि यस्तो समस्या आएको हो ।” जुम्ली स्याउ भदौ दोस्रो सातापछि पूर्णरुपमा पाकेर बजारमा लैजान योग्य हुन्छ । परिस्थिति सहज नै भएको भए अब स्याउ किसानका बगैँचामा आएर किसानले खरिदको पक्का गर्ने बेला हो ।

पचास प्रतिशत कम फल्यो जुम्लामा स्याउ

गत वर्ष १२ हजार मेट्रिकटन स्याउ फलेको जुम्लामा यस वर्ष ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ । स्याउबाटै समृद्ध बनेका जुम्लाका किसान यस वर्ष नफलेपछि चिन्तित छन् । वर्षभरि दुःख गर्दा पनि स्याउ नफल्दा सात जनाको परिवार कसरी पाल्ने भन्ने पिरलो हुन थालेको तिला गाउँपालिका– १ स्याउ किसान लंकबहादुर बुढाले बताए ।

स्याउ रोपिएको जमीनमा अन्न उत्पादन हुँदैन । “यसपटक न किसानसँग स्याउ छ, न त खाने अन्न । असिना पानी, खडेरी र कालो तुषारोले स्याउ सखाप पारिदियो”, स्याउ किसान रतिमान शाहीले बताए । यस वर्ष असिनापानी र कालो तुषारोले ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए । पाँच वर्षअघिदेखि स्याउको बीमा शुरु भए पनि जिल्लाभर एक हजार १४७ जनाको करिब ५० हजार स्याउ बिरुवाको बीमा गरेको शिखर बीमा कम्पनी जुम्लाका प्रमुख दिपदर्शन फडेराले बताए ।

किसानले उचित मूल्य पाएनन्

कोरोना भाइरसको सङ्क्रमणका कारण बजार बन्द हुँदा यहाँको स्याउले उचित मूल्य पाउन नसकेका बताइएको छ । यसकारण पनि किसान मर्कामा परेका छन् । एकातर्फ उत्पादनमा कमी भएका कारण मर्कामा परेका किसान यही उत्पादित स्याउको पनि उचित मूल्य नपाउँदा किसान समस्यामा परेका हुन् । गत वर्ष जुम्लाका किसानले रु ७० प्रति किलोग्राममा बेचेको स्याउ यस वर्ष भने प्रतिकेजी रु ३५–५० मूल्य पाउन पनि हम्मेहम्मे भएको स्याउ किसान बताउँछन् ।

गत वर्षको स्याउ रङ्गीन, स्वादिलो, पोटिलो, आकर्षक र सस्तो भएर होला यसले चाइनिज तथा भारतीय स्याउलाई पनि विस्थापित गरेको थियो । स्याउले नेपाली बजार ढाकेर भारतीय स्याउ विस्थापित गरे पनि लगानीअनुसारको मूल्य प्राप्त नगरेको स्याउ किसानले गुनासो गरेका छन् । तिला गाउँपालिका– १ राराका स्याउ व्यापारी पदम रावतले राम्रो मूल्य पाउने आशाले सुर्खेतमा स्याउ पु¥याउँदा पनि मूल्य नपाएको गुनासो गरे । गतवर्ष कर्णाली प्रदेश राजधानी सुर्खेतका हरेक फलफूल पसलदेखि सडकपेटीका आसपासका शहर तथा बजार स्याउमय बनेको थियो । स्थानीय हाटतथा बजारहरु नै जुम्ली स्याउले ढाकेको थियो । तर कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष भने सबैतिर सुनसान हुँदा स्याउले पनि त्यही नियति भोग्नु परिरहेको रावतले बताए ।

जुम्ली स्याउको निर्यात

यस वर्ष जुम्लामा उत्पादन भएको स्याउ जिल्ला बाहिर पठाउन शुरु भएको छ । स्थानीय किसानहरू बोटबाट स्याउ टिप्ने र त्यसलाई बजारमा लैजाने काममा व्यस्त हुन थालेका छन् । जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार कोरोनाले बजार बन्द भए पनि यहाँका किसानले खाद्य ढुवानी गर्ने बस तथा अरु गाडीमा जिल्लाबाट स्याउ बाहिर पठाउने गरिएको छ ।

गतवर्ष जुम्लाबाट छ हजार ५०० मेट्रिकटन स्याउ निर्यात भएको थियो । विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै गत वर्ष ३४ करोड १८ लाख ८० हजार रुपैयाँ बराबरको स्याउ निर्यात भएको जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा रु १६ करोड र आव २०७५/७६ मा रु १७ करोड बराबरको स्याउ जिल्ला बाहिर गएको बताइएको छ । पछिल्लो समय जुम्ली किसानको स्याउखेतीप्रति बढ्दै गएको आकर्षणका कारण पनि उत्पादन वृद्धि भइरहेको छ । जुम्लाका साढे १६ हजार घरधुरी स्याउखेतीमा निर्भर छन् ।

जुम्लाको कूल खेतीयोग्य जमीन ३९ हजार ४३५ हेक्टर छ । त्यसको तीन हजार ७०० हेक्टर जमीनमा स्याउखेती हुने गरेको कृषि विकास कार्यालयको तथ्याङ्कले देखाएको छ । उक्त कार्यालयका अनुसार यहाँको तिला गाउँपालिका र तातोपानी गाउँपालिकाबाट झण्डै ४० देखि ५५ टनसम्म स्याउ बजारसम्म पुगिसकेको छ । कृषि विकास कार्यालयले एक महिनाअघि भदौ १० भन्दा अघि स्याउ नटिप्न आग्रह गरेको भए पनि यहाँका स्थानीय तहले जथाभावी सिफारिस दिँदा बजारमा काँचो स्याउ गएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

फुजी स्याउ पनि उत्पादन हुँदै

जुम्ली एग्रो फार्म र हाम्रो सहकारी प्रालिले चार वर्षअघि १० वर्षका लागि चन्दननाथ मन्दिरको २० हजार वर्गमिटर क्षेत्रफल जग्गा भाडामा लिएर स्याउखेती गरिरहेका छन् । जसमा तीन हजार ५०० फुजी जातको स्याउको बिरुवा लगाइएको छ । जिल्लाभरि लगाइएका अन्य स्याउ नफलिरहेको अवस्थामा फुजी स्याउ लटरम्म फल्दा किसानमा खुशी छाएको छ ।

सो स्याउले स्याउले रङ्ग, आकार र स्वाद दिइसकेको छ । जुम्ला एग्रो फार्म व्यवस्थापक रेश्मा श्रेष्ठले मन्दिर परिसरको १० हजार वर्गमिटर क्षेत्रफलमा लगाइएको दुई हजार २०० स्याउको बिरुवामध्ये एक हजार ७०० बिरुवा फलेको बताए । “फुजी, गोल्डेन डेलिसियस, रेड चिप, गाला र जोर्डन गरी पाँच प्रकारका स्याउ लगाइएको छ”, व्यवस्थापक श्रेष्ठले भने, “यो वर्ष कम्तीमा १० देखि १२ टनसम्म उत्पादन हुने अनुमान गरेका छौँ ।” विसं २०७३ फागुन ६ गते जुम्ला ल्याइपु¥याउँदा प्रतिबिरुवा रु एक हजार ३०० परेको जनाउँदै उनले इटालियन फुजी स्याउमा लगानीअनुसार अब आम्दानी उठ्ने अपेक्षा गरिएको बताए ।

जुम्ला एग्रो फार्मले रु २८ लाख ६० हजार र हाम्रो सहकारी प्रालीले रु १६ लाख ९० हजार लगानीमा लगाएको स्याउले निरन्तर आम्दानी दिइरहेको छ । यद्यपी, जरा धेरै गहिरो नजाने भएकाले भिरालो जमीनमा यो स्याउको खेती त्यति सजिलो नहुने अनुभव यहाँका किसानको छ ।

व्यवस्थापक श्रेष्ठका अनुसार एउटा बिरुवामा १० देखि १५ केजी स्याउ फल्ने गर्दछ । गत वर्ष वर्ग विभाजन गरी ‘ए’ वर्गको स्याउको प्रतिकेजी रु १५० र ‘बी’ बर्गको प्रतिकेजी रु १०० का दरले बिक्री वितरण भएको थियो । स्याउबाट उक्त फार्मले यो वर्ष रु १२ देखि १८ लाख आम्दानी गर्ने देखिन्छ । उनका अनुसार चालू आवदेखि प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना स्याउ सुपरजोन जुम्लाले किसानलाई प्रतिबिरुवा रु ५०० अनुदान उपलब्ध गराउने योजना बनाएको सुपरजोन जुम्लाले जनाएको छ । (रासस)

वि.सं.२०७७ भदौ १३ शनिवार ०९:०७ मा प्रकाशित

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

२७ वर्षका विनोदले गाउँमै माछा पालेर बार्षिक २५ लाखसम्म आम्दानी गर्दछन् 

२७ वर्षका विनोदले गाउँमै माछा पालेर बार्षिक २५ लाखसम्म आम्दानी गर्दछन् 

घोडाघोडी (कैलाली), । गाउँका प्रायः युवा वैदेशिक रोजगारमा गए पनि...

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

‘साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन’

‘साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन’

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...