
१)
भर्खर टुसाएका कलिला तामाहरू देखें
शरीरका अंगहरू नछोप्ने जामाहरू देखें
नारीको मन कोमल हुन्छ भनेको सुन्थे
मुटुको टुक्रा छाडेर जाने आमाहरू देखें ।
२)
सबै घरको भित्तामा फूल बुट्टा हुन्न
केटाकेटीले बोलेका कुरा झुट्टा हुन्न
अलिकति सम्पत्ति आर्जन गर्नुपर्छ
आजका मान्छेको भुइँमा खुट्टा हुन्न ।
३)
अचेल डर लाग्छ मलाई खुकुरीको धारसँग
कहिल्यै जिस्किनु हुँदैन बिजुलीको तारसँग
जिन्दगीमा जे जे असफलताहरू भोगे मैले,
उजुरी गर्दिनँ म अदालतमा यो सरकारसँग ।
४)
सडकमा होस् वा सदनमा भाषण गर्छौं चर्का
आजभोलि छुट्याउन थाल्यौं आफ्नो र अर्का
सोझा जनताहरूले जति चुनाव जिताए पनि
बुझ्दै बुझेनौं किसान मजदुरहरूको पीर मर्का ।
५)
नशाको तालमा रथ हाँक्न खोज्नेलाई के भनौं
बीच बाटोमा नपुग्दै थाक्न खोज्नेलाई के भनौं
कठै अर्कैले अनुहारमा लागेको दाग देखाईदिदा,
उल्टै आफ्नो कुकृत्य ढाक्न खोज्नेलाई के भनौं ।
वि.सं.२०७७ भदौ २७ शनिवार ०९:५१ मा प्रकाशित






























