२८ भदौ, काठमाडौं । सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आइसिटी अवार्डको पाँचौं संस्करणका लागि विजेताहरू छान्ने प्रक्रिया शुरू भएको छ । गत असार ८ देखि भदौ १५ गतेसम्म खुल्ला गरिएको आइसिटी अवार्ड २०२० को अनलाइन आवेदनमा ३ सयभन्दा बढीको आवेदन परेको छ । यो यो आवेदनका संख्या गत वर्षभन्दा दुई गुणा बढी रहेको आयोजकले जनाएको छ ।
कोभिड–१९ को महामारीका कारण सरकारले गरेको लकडाउनका बाबजुद पनि आइसिटी अवार्डमा देखिएको उत्साहले सूचना प्रविधि क्षेत्रमा सम्भावना र अवसरको खोजी भइरहेको अनुभव गर्न सकिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए ।
आइसिटी अवार्डमा यस वर्ष विभिन्न ११ विधाका लागि अनलाइन आवेदन खुल्ला गरिएको थियो । स्टार्टअप आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्डमा सबैभन्दा धरै आवेदनहरु प्राप्त भएका छन् । सबै विधाहरूमा गत वर्षभन्दा अहिलेको आवेदन उत्साहजनक रहेको बताइएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारी, प्रा.डा. सुवर्ण शाक्य, प्रा.डा. मनिष पोखरेल, क्यानका संस्थापक अध्यक्ष विमल शर्मा, एफएनसिसिआईका आइसिटी कमिटी प्रमुख विनोद ढकाललगायतले हरेक वर्ष परिष्कृत रूपमा अघि बढिरहेको अवार्ड कार्यक्रमलाई शुभकामनासँगै सुझाबहरू दिएका थिए ।
स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र इनोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवाडर्, व्यक्तिगत अवेदनका विधाहरू रहेका छन् । यसैगरी पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड र मिडिया पर्सन आइसिटी अवार्ड व्यक्तिलाई प्रदान गरिने अवार्डका विधाहरू रहेका छन् । डिजिटल गभर्नेन्स आइसिटी अवार्ड सरकारी सस्था र डिजिटल एजुकेशन आइसिटी अवार्ड सामुदायिक शैक्षिक संस्थाहरूलाई प्रदान गरिने अवार्ड विधाहरू रहेका छन् । इनोभेसन र वुमन आइकन यस वर्ष थप गरिएका नयाँ अवार्ड विधाहरू रहेको आयोजकले जनाएको छ ।
आइसिटी अवार्ड २०२० को लागि १४ जना विभिन्न क्षेत्रका विज्ञहरूको जुरी समितिमा र १२ जना विशिष्ट व्यक्तिहरूको जुरी सल्लाहकारमा प्रतिनिधित्व रहेको छ । आयोजकले गत बुधवार जुरी र जुरी सल्लाहकारहरूको पहिलो संयुक्त भर्चुअल मिटिङ सञ्चालन भएको छ । उक्त छलफलले अवार्डको छनौट प्रक्रियाहरू अघि बढाएको छ । छलफल कार्यक्रममा पूर्वमन्त्री गणेश शाहले आइसिटी अवार्डले गर्दा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासक्रम र इकोसिस्टममा सघाउ पु¥याएको बताए । नास्टका उपकुलपति प्रा.डा सुनीलबाबु श्रेष्ठले नेपाल पछिल्लो एक वर्षमा ग्लोबल इन्नोभेसन इन्डेक्समा १४ स्थान माथि उक्लेको भन्दै आइसिटी अवार्ड कार्यक्रमले पनि यो उपलब्धिमा सहयोग पु¥याएको बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल कुमार दत्तले सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका उत्कृष्ट व्यक्ति तथा संस्थालाई अवार्ड, स्टार्टअप र इन्नोभेसनलाई प्रोत्साहन गर्नको लागि महत्वपूर्ण कार्य भएको भन्दै मन्त्रालयले यस अभियानलाई सहयोग गर्ने बताए । पूर्व सहसचिव वीरेन्द्र मिश्रले अहिलेको अवस्थामा पनि अवार्डमा उत्साहजनक सहभागिताले अवार्डसँगै यो क्षेत्रमा सम्भावना र अवसरहरू बढिरहेको बताए ।
यसैगरी कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारी, प्रा.डा. सुवर्ण शाक्य, प्रा.डा. मनिष पोखरेल, क्यानका संस्थापक अध्यक्ष विमल शर्मा, एफएनसिसिआईका आइसिटी कमिटी प्रमुख विनोद ढकाल लगायतले हरेक वर्ष परिष्कृत रूपमा अघि बढिरहेको अवार्ड कार्यक्रमलाई शुभकामनासँगै सुझावहरू दिएका थिए । यस वर्ष सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, दूरसञ्चार प्राधिकरणबाट समेत अवार्डको छनौट समितिमा प्रतिनिधित्व रहेको छ । विभिन्न निजीक्षेत्रका अग्रज र विज्ञहरू सहित १४ जनाको जुरी समिति रहेको आयोजकले जानकारी दिएको छ ।
विभिन्न ११ विधालाई यस वर्ष ३ समूहमा विभाजन गरी छनोट प्रक्रिया शुरू भएको आयोजकले बताएको छ । स्टार्टअप, प्रडक्ट, राइजिङ स्टुडेन्ट र इन्नोभेसन विधाहरूमा विभिन्न चरणका छनौटसँगै प्रिजेन्टेशन र पब्लिक भोटिङ समेत सञ्चालन हुनेछ । यसैगरी अन्य विधाहरूमा विभिन्न ३ चरणको छनोट प्रक्रियाहरू रहेको बताइएको छ । अवार्ड विजेताको घोषणा ग्राण्ड फिनाले कार्यक्रममा गरिनेछ । यस वर्षको छनौट प्रक्रिया तथा जु्री मिटिङहरुरू भर्चुअल रूपमा सञ्चालन हुने आयोजकले बताएको छ ।
सन् २०१६ देखि शुरू भएको आइसिटी अवार्ड नियमित रूपमा १७ अगष्टमा हुने गर्दथ्यो भने यस वर्ष कोरोनाको कारण केही महिनापछि सरेको छ । आयोजकले अवार्डको फिनाले कार्यक्रम डिसेम्बर महिनामा राखेको जनाएको छ । लिभिङ विथ आइसिटीले आयोजना गरेको आइसिटी अवार्ड २०२० मा नेपाल सरकारका विभिन्न निकायहरू, नेपाल दूरसञ्चार प्राधिकरण, जिनस सोलुसन, इमिनेन्स वेज लगायतका संस्थाहरूको सहयोग रहेको छ ।
वि.सं.२०७७ भदौ २८ आइतवार १६:०२ मा प्रकाशित





























