३० भदौ, काठमाडौँ । वि.सं २००६ मा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका बारेमा मतभेद अझै कायम रहेको छ ।
नेपाली क्रान्तिको एकमात्र सहि मुलबाटो ‘नयाँ जनवादी कार्यक्रम’ लाई तेस्रो ऐतिहासिक सम्मेलनद्वारा पारित र २६ जनवरी १९८० मा प्रकाशित पुष्पलाल लिखित पुस्तकमा १५ सेप्टेम्बरलाई नै नेकपाको स्थापना भएको दिन मानिएको छ । सो पुस्तकको ‘ख’ अंशको ‘केही कुराहरु’ मा भनिएको छ “नयाँ जनवादी कार्यक्रम स्पष्ट पारेर सन् १९४९ को सेप्टेम्बर १५ मा नेकपाको स्थापना भएको हो ।’

यसैगरी पुष्पलालद्वारा लिखित ‘नेपाली जनआन्दोलन एक समिक्षा’मा नेपाली काँग्रेस, प्रजातन्त्र काँग्रेस तथा अन्य समूहमा रहेका वामपन्थी कार्यकर्ताहरुको सचेतन विद्रोहले नेकपाको पृष्ठभूमि तयार भएको बताउँदै नेकपाका संस्थापक महासचिव पुष्पलालको नेतृत्वमा सन् १९४९ को सेप्टेम्बर १५ का दिन नेपाल कम्युनिष्ट पार्टी जन्मिएको कुरा (पृष्ठ ३६ दोस्रो अनुच्छेद को अन्तिम ३ हरफमा) उल्लेख गरिएको छ ।

तर मदन आश्रित प्रतिष्ठानद्वारा प्रकाशित ‘पुष्पलाल : छानिएका रचनाहरु भाग १’ मा पुष्पलालकै पुरानो लेख सम्पादन गरिएर राखिएको छ । त्यहाँ अरु सबै जस्ताको तस्तै छ तर अप्रिल २२ मा पार्टी स्थापना भै सेप्टेम्बर १५ मा घोषणा गरिएको लेखिएको छ ।

सबैभन्दा रोचक सामग्री त के छ भने जनताको बहुदलीय जनवादमा पिएचडी गरेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को स्थायी समिति सदस्य तथा पुष्पलाल स्मृति प्रतिष्ठानको उपाध्यक्ष रहेका डा. बेदुराम भुषालद्वारा सम्पादित र सो प्रतिष्ठानद्वारा २०७३ असार १४ मा प्रकाशित ‘पुष्पलाल छानिएका रचना’ को शुरुवातीमै उनले भनेका छन् ‘२२ अप्रिलमा शुरु बैठक बसेर पर्चा समेत ड्राफ्ट भएको तथ्यका आधारमा २२ अप्रिल १९४९ लाई एकरुपता दिने गरी मिलाउने र स्ष्पष्टता बिग्रीएको देखिएका शब्द बाहेक अरु कुनै पनि हेरफेर नगर्ने मान्यता राखेर काम गरिएको छ ।’
उनले एकरुपतामा जोड दिएर २२ अप्रिलको पुष्ट्याइँ गर्न खोजेको सहजै बुझ्न सकिन्छ । तर कम्युनिष्ट पार्टीको संस्थापक महासचिव पुष्पलाल आफैले लेखेको पुस्तकलाई आधार मान्ने हो भने १५ सेप्टेम्बरलाई नै स्थापना दिवस मान्न सकिन्छ ।
बैठक बसेर पर्चा ड्राफ्ट गरेको दिनलाई मान्ने की घोषणा गरेको दिनलाई मान्ने विषयमा लामो समय देखि विवाद चल्दै आएको हो । जसले पार्टी स्थापना गरे, जसले घोषणापत्र लेखे, उनैले दिएको तथ्य मान्ने की पछि तोडमोड गरिएको मान्ने ? भन्ने प्रश्नहरु पनि उठ्दै आएका छन् ।

केही समय पुष्पलालसँगै काम गरेका र उनको आर्दशमा रहेको बताउने अर्को कम्युनिष्ट घटक नेकपाका वरिष्ठ उपाध्यक्ष लोकनारायण सुवेदीले २०१९ सम्म पार्टी स्थापना दिवस १५ सेप्टेम्बर नै हो भन्ने बारेमा कुनै विवाद नरहेको बताउँछन । उनले पछिल्लो पर्चा र घोषणा पढेपछि इतिहास प्रष्ट हुने चुनौति दिँदै आएका छन् । सन् २००८ मा भएको कम्युनिष्ट पार्टीको प्रथम सम्मेलनले क्रान्तिको कार्यक्रम ‘नयाँ जनवादी कार्यक्रम’ र स्थापना दिवस १५ सेप्टेम्बर नै पास गरेको दस्तावेजलाई हेर्न उनले अनुरोध गर्दछन् । उनले त्यत्तिमात्रै भनेका छैनन् सोभियत संघ, भारत, चीन, भियतनाम लगायतका कम्युनिष्ट पार्टीले पठाएको शुभकामना पनि १५ सेप्टेम्बर मै आउने गरेको खुलासा गरेका छन् ।

तत्कालिन माक्र्सवादी पार्टीमा लामो समय काम गरेका र हाल पुष्पलाल अध्ययन समाजको उपमहासचिव रहेका मुकुन्द आचार्यले इतिहासलाई बलमिच्याइँ गरेर तोडमरोड गरिएको प्रति रोष प्रकट गरेका छन् । बेदुराम भुसालको ‘एकरुपता कायम’ आशय प्रति नै उनले आपत्ति जनाएका छन् । बिग्रीएको शब्द बाहेक अरु हेरफेर नगरेको बताउनेले लेख कपि गर्दा नियतपूर्वक मिति नै सच्याएको आचार्यको प्रमाणसहितको दाबी छ । ठूलो पार्टीको हौवा दिएर इतिहासप्रति भद्धा मजाक गरिएको टिप्पणी आचार्यको छ । संसारन्यूजसँग आचार्य भन्छन् ‘तथ्यलाई सत्य मान्ने हो भने १५ सेप्टेम्बर नै स्थापना दिवस हो, एकरुपता कायम गर्ने नाउँमा बलमिच्याइँ गर्ने हो भने त्यो उहाँहरुको कुरो हो ।
यसैबीच कम्युनिष्ट आन्दोलनको इतिहास र अनुसन्धानमा लेखिएका पुस्तकमध्ये लेखक डा. सरेन्द्र केसीको पुस्तक र प्रा.डा राजकुमार पोखरेलको तथ्यले पनि १५ सेप्टेम्बरलाई नै स्थापना दिवस भएको बताएको छ ।
वि.सं.२०७७ भदौ ३० मंगलवार ११:४९ मा प्रकाशित





























