
‘अर्काको लोग्नेलाई फसाएर यसले बर्वाद पारी, यो नक्कलीलाई गाँउबाट निकाल्नु पर्छ ।’ दुर्गा दिदी बेस्सरी कराइरहेकी थिइन् । उनीसँग आएका राधा र चेतना पनि ‘हो यसले हाम्रो टोललाई बिगारी भनेर उफ्रिरहेका थिए ।’ मैले उनीहरूका कुरा घरमाथिबाट सुनिरहेकी थिएँ । म ग्यास चुलो बन्द गरेर तल आएँ ।
मेरो आँगनमा भीड भैसकेको रहेछ । ‘के भएको दुर्गा दिदी ? मैले सोधें । ‘हेर्नु न बहिनी, तपाईँको घरमा भाडामा बस्ने नक्कलीले राधाको लोग्नेलाई फसाएर सबै लुटिसकी । अब त उसैलाई ल्याउँछु पनि भन्यो रे !’
‘राधा, तिम्रो लोग्नेचाहिँ गतिलो, यो सुनीताचाहिँ खराब भन्न पाउँदिनांै । दुवै जनालाई राखेर कुरा गर्नु पर्छ । खोइ तिम्रो लोग्ने ? बोलाऊ, सधंैँ अर्काको कोठामा बहाना बनाएर ऊ आउँछ । सुनीताले कुनै दिन तिम्रो लोग्नेलाई बोलाउन गएकी छे ? भन्न पाएँ भनेर जे पायो त्यही नभन । त्यो गिरधारीलाई मैले धेरै पल्ट भनेकी छु । दुर्गा दिदी तपाईँ पहिले गिरधारीलाई लिएर आउनुस् अनि सुनितालाई दोष लगाउनुस् ।’ मैले भनेँ । दुर्गाले फेरि भनिन् ‘बहिनी तपाईँलाई के थाहा ? यिनीहरू फोनमा घण्टौं कुरा गर्छन् ।’ ‘दिदी मलाई तपाईंको घरको पनि धेरै कुरा थाहा छ । अरू कुरा गर्नभन्दा गिरधारीलाई लिएर आउनुस्’ भनेर मैले भनेपछि उनीहरू फर्किए ।
मैले सुनीतालाई बोलाएर कोठा खाली गरिदेऊ भनेँ । सुनीता केही बोलिनन् । गहभरि आँसु पारेर भनिन् ‘मेरो पोइले अर्की लिएर हिंडेपछि मलाई पनि अर्काको लोग्ने खोस्दा कति पीडा हुन्छ, थाहा छ दिदी । तर के गरुँ । मेरा भोका छोराछोरीका लागि मैले यस्तो गर्न प¥यो । गिरधारीले मलाई सधैँ पैसा दियो, मेरो अभाब टारीदियो । मैले कहिले गिरधारीलाई माया गरेकी छैन । छोराछोरीको भविष्य सम्झेर मर्न पनि सकिनँ । म मरेँ भने कसले यिनीहरूलाई माया गर्छ । दिदी मैले गिरधारीको पैसालाई माया गरेकी थिएँ । भोलिसम्म म हजुरको कोठा खाली गरिदिन्छु । मैले घर त पाउँछु होला, तर मेरा लागि बोलिदिने हजुरजस्तो घरबेटी पाउँदिन । म अभागी आमाको पीडा बुझिदिनु भयो ।’
उसका शब्दले मलाई नमीठो पीडा दियो । सुनीताले छोराछोरीका लागि बाध्य भएर आफूलाई बन्धकी राखेकी छे । मैले मनमनै सोचेँ, जे होस् सुनीतालाई जान दिन्न ।
वि.सं.२०७७ असोज ३ शनिवार ०९:३९ मा प्रकाशित






























