
सहरको चकमन्नतालाई
खल्बलाउँदै आजभोलि
मुटु भेदने साइरनका
चर्को आवाजसँगै
प्रहरी वाहन,
सडकको छाती मिच्दै कुदिरहन्छ
मेरो सहरको सिमाना भरि ।
त्रसित सशंकित आँखाहरू
श्वास घाँटीमा दबाएर
ठुलै आशँकाले ग्रसित
चिहाउछन् घरका झ्याल,
ढोकाबाट छिमेकीका आँगनतिर
कहीं वाहन त्यतै आएर रोकिने
हुनकी भन्ने उत्सुकताले ।
शंका उपशंकामा डुबेका
मनहरू डराउनलाई
प्रहरी वाहन पछ्याउँदै
खै ! कहाँबाट आउछ कुन्नी ?
डरले होस उडाउने हावा
अरे..का बतासे हल्लाहरू उडाउदै ।
त्यस पश्चात् मेसेजको लहर चल्छ
वाट्सएप र म्यासेन्जरमा,
फलानो ठाउँमा यति संक्रमित भेटियो रे
ढिस्कनालाई एम्बुलेन्समा हालेर पो लग्यो रे ।
अरे..अरे..ले तर्सिएका मनहरू
केही अप्रिय सुन्नलाई
सधैं आतुर र उत्सुक ।
आजभोलि यस्तै छ
मेरो सहरको खबर,
श्मशान सरह निर्जन छ
सडक र गल्लीहरू ।
बस..
मनमा त्रास र मास्तिष्कमा खलबली मच्चाउदै
घरिघरि,
मुटु भेदने साइरनका चर्को आवाज सँगै
प्रहरी वाहनहरू कुदिरहन्छन्
सडकका छाती मिच्दै,
र त्यसैलाई पछ्याउँदै
खै ! कुन्नि कहाँबाट आएका
डरले होस उडाउने हावाहरू
बहिरहन्छ
अ..रे..का बताशे हल्लाहरू उडाउदै ।
वि.सं.२०७७ असोज ३ शनिवार ०९:४१ मा प्रकाशित






























