यशोधरा
म न सिद्धार्थ हुँ
न वुद्ध नै
शान्ति
मैले मेरो म भित्रको सपना
फुलाउन उठाएको गजुर हो ।
प्रीया
म
पृथ्वी निलेर
आकाशको च्यादर ओढ्ने
सपनाहरुको खातमा च्यापिएर
निस्सासिएको सामान्य मान्छे
निर्धनले सपना देख्ने
आँखा खोज्ने हुटहुटीले हुत्तिएर
चाहुरिएको अनुहारले
जून चुम्ने ओँठ कुद्न निस्किएँ
रोगले ढलेको जीवनमा
घाम च्यात्न थोरै उचालिए
अनि
मृत्युभित्र जीवन नचलाउन
ताल र बाजा भिरेँ
प्रीया,
मेरो मुटुको चारै कोठा
मैले बकसपत्र गरी
तिमीलाई दिन सकिन
र त
एछिट्टिएँ यो रातो अनि पहेँलो
जवरजस्त रङ्गहरुबाट ।
प्रीया,
तिम्रो जस्तो
मेरो सपना एक पोल्टोको थिएन
तब म निस्किएँ
मेरो भागको
मेरो सपनाको
मै भित्रको एक मुठ्ठी आकाश
हो प्रीया,
त्यो मेरो सपनाको
एक मुठ्ठी आकाश छुन
प्रीया मात्र
एक मुठ्ठी आकाश छुन ।
वि.सं.२०७३ पुस २४ आइतवार ०९:१६ मा प्रकाशित