महिला बिना यो संसारको सृष्टि चल्नु सम्भब नै छैन । अनि कल्पना समेत गर्न सकिदैँन । महिलाहरु सृष्टिकी खानी हुन् । महिलाहरुको बारेमा कुरा गर्ने क्रममा स्त्री अंकमा प्रतिष्ठित हुनु परेको कारणले सीता र द्रौपतीले हिंसाको सिकार हुनु परेको थियो भन्ने मैले कता–कता इतिहासहरु पढ़ेको थिए । त्यो युगबाट शुरू भएको घरेलू महिला हिंसा हाल बर्तमानको २१ औ शदाब्दीको समयसम्म पनि जारी नै छ । हाम्रो समाजमा लैंगिंक हिंसाका घटनाले झन–झन जटिल रुप लिँदै गइरहेको छ ।
संयुक्त राष्ट्रसंघको तथ्याङ् अनुसार बिश्वमा ८० प्रतिशत महिलाहरु कुनै न कुनै हिंसाबाट पीडित छन् । ज्यादा प्रतिशतमा त दक्षिण एसिया मध्ये हामी नेपाली महिलाहरु सोषित भएका छौ ? लैंगिक हिंसाका अनगिन्ती घटनाहरु शहर, बजारदेखी गाऊँसम्म प्रत्येक दिन घटिरहेका छन् । जस्तैः बाबुबाट छोरी, दाजुबाट बहिनी, मामाबाट भाञ्जी, ससुराबाट बुहारी नै असुरक्षित भएपछि छोरी चेली दिनानुदिन आफनै हाड़ नाताबाट स–साना किशोरीहरु समेत असुरक्षित बन्न थालेका छन् ।
त्यस्तै बोक्सीको आरोपमा अर्धनग्न बनाई दिसा समेत खुवाई क्रुर तरिकाले यातना दिएको घटनाहरु पनि घटिरहेका छन् । दाइजोको निहुँमा पनि आफनै परिवारबाटै यातना दिने गरेको धेरै घटनाहरु घटेका छन् । त्यसैले छोरी चेलीको जीवन सहज बनाउन तथा यस्ता घटना नघटोस् भन्नका लागि राज्य, समाज अनि परिवारबाट नै दाइजो प्रथालाई अन्त्य गर्न शसक्त अभियान चलाउन जरुरी छ । सबैले यो बुझ्न जरुरी छ कि, दाइजोको साटो छोरीलाई उच्च शिक्षा दिएर आफ्नो खुट्टामा उभिन सक्ने बनाउनु परिवार तथा समाजको प्राथमिकता हो ।
पछिल्ला समय प्रदेश नं २ सरकारले यस्ता सकारात्मक कदम चालेको पनि देखिन्छ भने अन्य प्रदेशका विभिन्न पालिकाले पनि छोरीको महत्व बुझाउँदै उनको शिक्षा दिक्षाका लागि विशेष प्राथमिकताका कार्यक्रमहरु ल्याएको समाचारहरु आइरहेका छन् ।
समाज तथा परिवार अनि राज्यले यो बुझ्न जरुरी छ कि, जब छोरीहरु शिक्षित हुन्छन् तबमात्र उनीहरुमा संघर्ष गर्नसक्ने क्षमतामा बृद्धि हुन्छ अनि मात्र उनलाई घरपरिवार, समाजबाट तिरस्कार गर्न सक्तैन । जब महिलाहरुसँग शिक्षा र सीप हुँदैन अनि अरुको कमाई र अरुको आसा भरोसामा आत्मानिर्भर हुन बाध्य हुन्छन्् । उनीहरुमाथि बिभिन्न प्रकारका हिंसको सुरुवाती चरण यहिबाटै हुन्छ भन्दा फरक पर्दैैन ।
अहिले पनि हाम्रो देशका केही समाजमा छोरी बोझ हुन् भन्ने मान्यता छ । गर्भमै छोरा वा छोरी के छ भन्ने छुट्याइन्छ । यदि छोरी भए भ्रुणमै हत्या गर्ने गरेका घटनाहरु पनि धेरै नै छन् । छोरा र छोरीको भेदभाब त आफनै घर परिवारबाट शुरू हुन्छ । महिलाको शत्रु महिलाभनेजस्तै कतिपय आमाहरु पनि छोरी भन्दा छोरा नै महत्वपूर्ण ठान्छन् । किनभने छोरा नभए पितृ तर्दैन भन्ने चलनले अझै पनि हाम्रो समाजमा जरो गाडेर बसेको छ ।
महिलाले लगातार २/३ वटी छोरी छोरी जन्माएमा पुरुषले अर्काे विवाह समेत पछि पर्दैनन् । आफ्नै घर परिवारको आमा बुवाबाट यो मानसिकता हट्न सकेको छैन । यी र यस्ता रुढीबादी संस्कार अनि सोचलाई जरैबाट उखेलेर फाल्नु जरुरी छ ।
समाजमा महिलामाथि विभिन्न प्रकारका हिसांका घटना बढी रहँदा पनि राज्यको जनप्रतिनिधिदेखिसुरक्षा निकाय र प्रशासनले समेत सहजरुपमा सुन्दैन । न्यायलयको ढोकासम्म पुग्नका लागि पीडितहरुको पहुँच नै हुँदैन । पुगिहाले पनि शक्ति र सम्पत्तीको आडमा अपराधीको पक्षमा निर्णय हुन जान्छ । पीडितहरुका लागि ‘नेपालको कानुन दैबले जानुन्’ भन्ने उखान सावित हुन्छ ।
अझ मुद्दा फैसला नभई आरोपितलाई धरौटीमा छाडिएपछि पीडितको जीवनमा आइपर्ने डरत्रास र सम्भावित खतराका बारेमा न्यायालयको अनभिज्ञता हुने गरेको छ । अर्कातर्फ यस्ता आपराधिक घटनामासमेत जनस्तरमा क्रियासिल राजनीतिक दलदेखि नागरिक समाजका अगुवाहरु पीडित र प्रभावितको पक्षमा वकालत गर्नुको साटो पीडक पक्षलाई उन्मुक्ती दिलाउन पक्षमा रहेको कैयौ घटनाहरुले देखाएको छ । उता पीडितहरुको भविस्य घर न घाटको हुन पुग्छ । परिवार र समाजले पनि उल्टै पीडितलाई नै दोषि मानिदिन्छ ।
बिश्वका धेरै राष्ट्रहरुमा लैगिंक हिंसाको कडा भन्दा कडा कानुन बनेका छन् । नेपालमा पनि कानुन त बनेको छ तर कार्यान्वयन फितलो भएकाले पीडितलाई झन पीडा दिएको मात्र पाइन्छ । तसर्थ कानुनलाई सशक्त रुपमा कार्यान्वयन गरेर महिलाले समाजमा स्थापित भएर सहज रुपमा बाँच्न पाउने अधिकारको प्रत्याभुत गर्न जरुरी छ । छोरी भएर जन्मनु कुनै पाप होइन्, समाजमा छोरीलाई दोस्रो दर्जाको नागरिकका रुपमा सोचिनु् र हेरिनु चाँहि पाप हो ।
वि.सं.२०७७ कात्तिक १९ बुधवार १२:३२ मा प्रकाशित






























