Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

चितवनलाई देशकै पर्यटन केन्द्रका रुपमा विकास गरौँ



krishna dhungana

प्रचुर पर्यटकीय सम्भावना बोकेको चितवनका रमणीय वनजंगल, खोलानाला, तालतलैया एवं मठमन्दिरहरुको जगेर्ना, प्रवद्र्धन र प्रचारप्रसार गर्न सक्ने हो भने हामीले समग्र चितवनलाई नै पर्यटन केन्द्रका रुपमा विकास गर्न सक्छौँ । लोपोन्मुख जंगली जनावर, विभिन्न प्रजातिका चराचुरूंगी र अन्य ससाना जीवजन्तुहरुको एउटै क्रीडास्थलका रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्ज पर्यटकहरुको पहिलो रोजाइ बन्न सक्छ । प्राकृतिक सुन्दरताका अनुपम छटाहरुले सुसज्जित हाम्रो यो परिवेश संसारका कुनै पनि पर्यटकीयस्थलहरु भन्दा कम सुन्दर छैन, तर प्रचारप्रसार र पूर्वाधार विकासमा यथेष्ट ध्यान नदिँदा यो छायामा परिरहेको छ । पर्यटन आकर्षणको रुपमा विकास भैरहेको पूर्वी चितवनको सौराहदेखि गोही प्रजनन् केन्द्रका रुपमा रहेको पश्चिम चितवनको कसरासम्मको निकुञ्ज क्षेत्र र यसआसपासका सामुदायिक वनहरुलाई हामी पर्यटन क्षेत्रका रुपमा विकास गरी त्यस क्षेत्रका गाउँहरुलाई पर्यटन सिटीका रुपमा अघि बढाउन सक्छौँ, जसले समग्र चितवनको विकास र पर्यटन क्षेत्रमा उल्लेख्य योगदान पु¥याउन सक्छ ।
चितवन राष्ट्रिय निकुञ्जको काखमै पूर्वदेखि पश्चिमतर्फ कलकलाउँदै बग्ने रापती नदी, नदीकिनारका फराकिला बगरहरु, हात्ती तथा गोही प्रजनन केन्द्र, सुन्दर एवं रमणीय ताल, विविध धार्मिक स्थलसँगै सबै खाले जंगली जनावरहरुका बीच चराचुरूंगीहरुको संगीतमय वातावरणमा हुने डुंगा सयर, हात्ती सयर, फिसिङ, जंगल सफारी र भ्यू–टावर पर्यटन आकर्षणका आधारहरु हुन् । यी सब कुराहरुलाई व्यवस्थित गर्दै यसलाई पर्यटन प्याकेजकै रुपमा अघि बढाउने हो र पर्यटन बसाइका हिसाबले सुविधासम्पन्न पूर्वाधार निर्माण गर्न सक्ने हो भने हामी लक्ष्यमा पुग्न सक्छौँ । त्यसका साथसाथै एउटा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सक्ने हो भने चितवनलाई देशकै पर्यटन केन्द्रको रुपमा विकास गर्न असम्भव देखिँदैन । खाँचो छ त केवल तपाईंको, मेरो अनि हामी सबैको एक दरिलो प्रयासको ।
सौराहादेखि पश्चिममा रहेका बिसहजारी तालको मौलिकता, दक्षिणकाली सामुदायिक वन क्षेत्रको रमणीयता, बाटुलीपोखरी सामुदायिक वनभित्र रहेको बाटुलीपोखरी तालको सुन्दरता, धार्मिक पर्यटकीयस्थल क्षीतामाई अनि विक्रम बाबाको ऐतिहासिकता, राप्तीको पश्चिम किनार घट्गाईको शालीनतासँगै मेघौलीस्थित राप्ति र नारायणीको मित्रता वास्तवमै चितवन पर्यटन विकासका आधार क्षेत्र हुन्, जसको संरक्षण र प्रवद्र्धनबिना हामी चितवनको वास्तविक सौन्दर्यता आँकलन गर्न सक्दैनौँ । त्यसो त पूर्वमा रहेको सौराहा, उत्तरमा रहेको ऐतिहासिक क्षेत्र उपरदाङगढी, सूर्योदय पहाड भनेर चिनिने सिराइचुली, चेपाङ बस्तीहरु रहेको सिद्धि, कोराक, काउलेजस्ता ट्रेकिङको सम्भावना बोकेका पहाडहरु पर्यटकीय हिसाबले उत्ति नै महत्वपूर्ण छन् । यता, राप्ती र नारायणीको संगमस्थल मेघौलीको गोलाघाट, गोही प्रजनन् केन्द्रको रुपमा रहेको कसरा र यहाँका ठूला–ठूला जंगल, रिसोर्टहरु पहिलेदेखि नै पर्यटकका रोजाइ नबनेका हैनन् । धार्मिक तीर्थस्थल देवघाटधाम र नारायणी नदीको विशालतालाई पनि नजरअन्दाज गर्न सक्दैनौँ हामी, चितवन पर्यटन विकासका दृष्टिकोणले । फेरि पनि हामीले भन्नैपर्छ– भौगोलिक सुगमता, पूर्वाधार सम्भाव्यता र प्राकृतिक सुन्दरताका हिसाबले पनि चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र, बरन्डाभार अन्तर्गतका सामुदायिक वनहरु र यहाँका गाउँबस्तीहरु नै पर्यटन विकासका प्रमुख आधारहरु हुन् । त्यसका लागि मेघौलीमा रहेको क्षेत्रीय विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल, जिल्लाभित्र रहेका विविध संस्कृति र रहनसहन भएका जनजाति समुदायका बस्तीहरुलाई सुविधासम्पन्न होमस्टेका रुपमा विकास गर्न सक्छौँ ।
त्यसैगरी,अन्तर्राष्ट्रियस्तरका ठूला–ठूला होटल, रिसोर्ट र क्लबहरुको अवधारणालाई अघि बढाउने हो भने विकसित देशहरुका पर्यटकहरु भित्राउन पनि सक्षम हुन्छौँ हामी ।
पूर्वको सौराहादेखि पश्चिम घट्गाई जोड्ने रापती नदीको किनारलाई हामी पर्यटक हाइवेका रुपमा विकास गर्न सक्छौँ र ठाउँ–ठाउँमा विश्रामस्थलसहितको भ्यू–टावर बनाउन सक्छौँ । पर्यटक बोक्ने प्रदूषणमुक्त साना सवारीसाधनलाई सिसी क्यामेराको प्रत्यक्ष निगरानीमा सञ्चालन गर्न दिँदा त्यसले राष्ट्रिय निकुञ्जभित्रको पर्यावरणमा पनि खासै असर गर्दैन । बरू, यसले चितवनका पूर्वदेखी पश्चिमसम्मका सबै पर्यटकीयस्थलहरुलाई जोड्ने पुलको काम गर्दछ । यसो हुँदा सबै पर्यटकीयस्थलका विशेषतालाई समेटेर हामी आकर्षक प्याकेजसहित पर्यटकहरुलाई आकर्षित गर्न सक्छौँ । हामी यो प्याकेजलाई सौराहाबाट सुरू गरी घट्गाईमा लगी टुंग्याउन पनि सक्छौँ भने घट्गाईबाट सुरू गरी सौराहामा लगेर टुंग्याउन पनि सक्छौँ । घट्गाईबाट सुरू गर्दा पश्चिमका अरु क्षेत्रहरुलाई समेट्न सकिन्छ भने सौराहाबाट सुरू गर्दा पूर्वका अन्य क्षेत्रलाई पनि जोड्न सकिन्छ ा जताबाट सुरू गरे पनि केन्द्र भागमा रहेको बेल सहरको फराकिलो भूभागमा भ्यू–टावरमार्फत दृश्यावलोकन गराउँदै नजिकै रहेको बाटुलीपोखरी तालको रमणीयतामा समाहित गराउन सकिन्छ पर्यटकहरुलाई । पर्यटक हाइवेको लगभग केन्द्र भागमा रहेको यो शान्त अनि मनोरम बाटुलीपोखरी तालमा डुंगा सयर र जंगली जनावरहरुको मनोहरतासँगै चराचुरूंगीहरुको संगीतमय वातावरणमा रम्नेछन् पर्यटकहरु । साँझ–बिहानमा देखिने दुर्लभ वन्यजन्तुहरुको सामूहिकता, उनीहरुले गर्ने जलक्रीडा एवं यौनक्रीडा र मयूर, डाँफेको नाच बाटुलीपोखरीका विशेषता हुन् । यस अर्थमा पनि बाटुलीपोखरीको महत्व विशेष रहन्छ, यो प्याकेजको सान्दर्भिकताका लागि । बाटुलीपोखरीलाई थोरै भौतिक पूर्वाधारहरुले श्रृंगार्ने हो भने अज उसको सुन्दरतामा निखार ल्याउन सकिन्छ, जसले देशविदेशका पर्यटकहरुलाई सजिलै लोभ्याउने छ । बाटुलीपोखरीभन्दा माथिपट्टि रहेको बिसहजारी ताल र यहीबीचमा रहेका अन्य ससाना किङफिसर ताल, निउरे ताल, रातमाटे ताल, वेदघारी ताल, मयूर ताल र दक्षिणकाली तालहरुको पनि उचित संरक्षण र सम्बद्र्धन गर्ने हो भने यो प्याकेजको दायरा अझ फराकिलो हुन सक्छ । यस क्षेत्रभित्र गर्न सकिने हात्ती सफारी, डुंगा सयरसँगसँगै बस्तीकिनारमा हुन सक्ने क्याम्प फायर पर्यटकका लागि अर्को आकर्षण हुन सक्छ । त्यसैगरी, दक्षिणकाली सामुदायिक वन क्षेत्रमा रहेको परम्परागत धान पूजाका लागि प्रशिद्ध देवालय पर्यटकहरुको चासोको विषय बन्न सक्छ, जसले हाम्रो मौलिकता र संस्कृतिलाई विश्वमाझ चिनाउन मद्दत पु¥याउँछ । यिनै सामुदायिक वनसँगै रहेका विभिन्न थारु, दराई, गुरूङ र मगर बस्तीहरुलाई हामी होमस्टेका रुपमा विकास गरी उनीहरुको आर्थिक विकाससँगै कला र संस्कृतिको जगेर्ना गर्न सक्छौँ । बाटुलीपोखरीभन्दा तलपट्टि रहेको क्षीतामाई मन्दिर क्षेत्र र कसरामा रहेको विक्रम बाबा क्षेत्रलाई धार्मिक पर्यटक स्थलका रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको छ । यी सबै क्षेत्रहरु राष्ट्रिय निकुञ्जको नजिक र बरन्डाभार जंगलको छेउछाउमै रहेका छन् । दिनभरि काम गरेर बिहान–बेलुकाको छाक टार्नुपर्ने बाध्यतामा रहेका विपन्न वर्ग या समुदाय नै जंगलआसपासमा बस्ने गर्दछन् । त्यस क्षेत्रमा हुने पर्यटन विकासले तिनै मानिसहरुको सामाजिक चेतना र आर्थिक समृद्धिको स्तर वृद्धि गर्दछ, जसले गर्दा राष्ट्रिय निकुञ्जभित्र हुने चोरीसिकारी र अतिक्रमणलाई धेरै हदसम्म कम गराउँछ । त्यहाँको पर्यटकीय विकासको प्रत्यक्ष लाभ लिने वर्ग पनि तिनै हन् । नेपालको अहिलेको राजनीतिक परिवर्तनको उद्देश्य पनि तिनै वर्ग अनि समुदायलाई राज्यको मूलधारमा ल्याउनु हो । यस अर्थमा पनि त्यस क्षेत्रको पर्यटन विकासका लागि हामी सबैले हातेमालो गर्न जरूरी छ ।

तर अब प्रश्न उठ्छ, यति धेरै पर्यटकीय सम्भावना बोकेका चितवनका यी पर्यटनस्थलहरुको पूर्वाधार विकास र प्रचारप्रसारमा किन कसैले चासो र पहल गरेनन् होला त ? विगतमा हाबी रहेको सहरकेन्द्रित राजनीति, बन्द–हड्ताल र हिंसात्मक आन्दोलनले थलिएको गाउँसमाज, पलायनवादी संस्कृति, स्थानीयस्तरमा सचेतनामूलक कार्यक्रमको कमी, लामो समयदेखि रिक्त स्थानीय निकाय आदि यसका प्रमुख कारण थिए । यसबीचमा नारायणी र रापती नदीमा धेरै पानी बगिसक्यो । हामीले ठूला–ठूला राजनीतिक एवं सामाजिक परिवर्तन गरिसक्यौँ, भलै त्यसको संस्थागत विकास अहिले प्रक्रियामा छ । अब हामी आर्थिक एवं सांस्कृतिक परिवर्तनको सँघारमा छौँ । आर्थिक परिवर्तनको हाम्रो प्रमुख आधारमध्ये पर्यटन विकास पनि एक हो । यस अर्थमा पनि हामी चितवनवासीका लागि यो उपयुक्त समय हो, यहाँको पर्यटन विकास गर्न ।
संघीय संरचनाअन्तर्गत हाम्रो चितवन अहिले तीन नम्बर प्रदेशमा पर्छ, जुन समग्र नेपालको केन्द्र भागमा रहेको छ । स्रोत र साधनका हिसाबले पनि हाम्रो चितवन पर्यटन, कृषि र जडीबुटीका लागि धनी छ । समग्र तीन नम्बर प्रदेशकै विकासका दृष्टिकोणले पनि यहाँको पर्यटन विकास अबको आवश्यकता हो । यहाँ रहेका हामी सबै धर्म, जातजाति, वर्ग, समुदायहरुबीचको सामूहिकता नै हाम्रो समृद्धिको आधार हो र हामी चितवनवासीको पहिचान हो । अहिले संघीयताका नाउँमा मच्चिरहेको जातीय कलहका लागि पनि हामी चितवनवासी उदाहरण बन्न सक्छौँ । त्यसैले, अब फेरि एकपटक हाम्रो चितवनको समृद्धिका लागि पर्यटकीय सम्भावना बोकेका यी ठाउँहरुको संरक्षण र प्रवद्र्धनमा हातेमालो गरौँ । चितवनलाई पर्यटन केन्द्रका रुपमा विकास गर्न तपाईं हाम्रो प्रयास नै पर्याप्त छ । त्यसैले, अब ढिला नगरी आ–आफ्नो ठाउँबाट सहयोग गरौँ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

धन्न पानी र अन्न बिना पानी बिना अन्न मानव जीवन रहन्न । यदि नहुँदो

१. पीडाको कथा मनको व्यथा बलिको प्रथा । २. हाम्रो अक्कल अज्ञानी पशु बध

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा