राष्ट्र वा समाजमा व्यक्तिहरुले क्षमता प्रर्दशन गर्ने विषयगत विधाहरु धेरै हुन्छन् । केहि विधा निर्माण भईसकेका हुन्छन त केहि निर्माण गर्नुपर्ने हुन्छ । हरेक मानिसका लागि दुवै ठाउँमा नेतृत्वदायी क्षमता प्रर्दशन गर्ने अवसर समाजले सबैलाई प्रदान गरिराखेको छ । मानिसहरुका रुचि, विचार र दृष्टिकोण अलग–अलग हुने हुनाले उनीहरुले भने आफु अनुकुलको विषयगत विधा रोज्दछन् । सामान्यतया समाजका सबै मानिसहरु कुनै न कुनै विधामा विभक्त भएका हुन्छन् । तर, नतिजामुखि क्षमता प्रर्दशन गर्ने कार्य भने सीमित व्यक्तिहरुले मात्रै गर्न सक्दछन् । त्यसैले हामीले देखिरहेका छौं, दार्शनिक, वैज्ञानिक र राजनेताहरु एक युगमा केहि मान्छेहरुले मात्रै हुने अवसर प्राप्त गर्दछन् ।
हामीले बुझेकै छौं, अरु धेरै विषयगत विधाहरु भन्दा राजनीति बृहत्तर र समाजको मुल विधा हो । राजनीतिमार्फत राजनेता र मार्गदर्शक बन्नको लागि तत् मानिससँग भिन्न अदभुत क्षमता र संयोग दुवैको आवश्यकता पर्दछ । सामान्यतया युगले नेतृत्वको माग गरिराखेको हुुन्छ र त्यहि सन्दर्भमा उदाउँदो नेतृत्वले जनसमर्थन र छनौटको संयोगको बीचबाट आफँुलाई प्रस्तुत गर्ने कोशिस गर्दछ । नेपाली कम्युनिष्ट आन्दोलनको बीचबाट उदाएकी वर्तमान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की केन्द्रीय कमिटी सदस्य पनि हुनुहुन्छ । अर्याललाई उहाँले प्राप्त गरेको अवसर र यसको उपयोगिताको मुल्यांकन गर्दा आगामी नेपालको सम्भावित नेतृत्वको रुपमा हेर्न थालिएको छ ।
विद्रोही इतिहास
अहिलेको समय नभएर करिब ४ दशक अगाडिको समाज कल्पना गर्दा पनि हामीलाई थाहा हुन्छ, कस्तो थियो समाज ? तत्कालिन निरंकुश सामन्ती पञ्चायती व्यवस्थामा विद्रोहको आवाज उठाउने कुरा । त्यो पनि महिलालाई । पक्कै पनि सहज थिएन । स्याङ्जा जिल्लाको तत्कालिन थुमपोखरा गाविस अहिलेको परिवेशमा पक्कै थिएन् । हाम्रो गाउँ ठाउँ अहिलेपनि पुरुषबादी सत्ताको चेत र संरचनामा उभिएको छ । पञ्चायती व्यवस्थाको परिवेशलाई नियाल्ने हो भने अघोषित रुपमा महिलाहरु दोस्रो दर्जाको नागरिक थिए । महिलाले पढ्ने, जागिर गर्ने, व्यवसायको नेतृत्व गर्ने आदिजस्ता विषय अत्यन्तै न्युन थियो । महिला राजनीतिमा लाग्ने कुरा त एक प्रकारको कठोर विद्रोह नै थियो, अर्थात महिलाले कुनै पनि विषयको नेतृत्व गर्ने कुरालाई ‘पोथी बासेको’ उपमा दिईन्थ्यो । जुन कुरा आज पनि कतिपय समाजमा विद्यमान रहेको छ ।
सतही रुपमा हेर्दापनि हामीले अनुभव गरेको कुरा के हो भने, तत्कालिन माओवादी जनयुद्धले मात्रै महिला, आदीवासी÷जनजाति, दलित, मधेशी, मुस्लिमलगायत समाजमा पछाडि परेका आम मान्छेहरुलाई ह्वात्तै माथि ल्याउने काम गरेको हो । जसरी माओवादी जनयुद्ध पछिको परिवेश सिमान्तकृत समुदायलाई राजनीतिमा होमिन सहज बनेको छ, त्यसरी विगत पक्कै थिएन् । बाबुहरुको आवाज चल्ने त्यो समाजमा परिवारबाट माथि विद्यार्थी अवस्थादेखि नै भूमिगत राजनीतिमा लागेकी एउटा विद्रोही महिला हुनुहुन्छ । भविष्यको विषयलाई एकछिन एकातिर राख्दा आजको दिनमा पनि सम्भावित नयाँ विद्रोहको रेखा कोर्नेहरुको लागि सायद उहाँको विगत आदर्श बन्न सक्छ ।
सिर्जनशील राजनैतिक शैली
राज्यसत्तामा विद्रोह गर्ने कुरा, समाजमा विद्रोह गर्ने कुरा, आफैंमा नयाँ विषय हो । जसको लागि उक्त मानिसमा नयाँ विचार र योजना हुनु जरुरी हुन्छ । पुरानो सत्ता वा समाजसँग विद्रोह गर्नेहरु ति शक्तिसँग क्यानफ्लाईज भएर काम गर्न जानेनन भने प्रवेशको चरणबाटै नकआउट हुन्छन् । नेतृ अर्यालसँग त्यस्ता केहि भिन्न व्यवहार र शैली छन् जसको माध्यमबाट उहाँले हरेक परिवेशमा आफँुलाई नेतृत्वमा सावित गर्ने हैसियत राख्नुभएको छ । जसले गर्दा नै उहाँले आफुलाई पञ्चायतदेखि ०४७ से प्रजातन्त्र हुँदै अहिलेको अवस्थामा पनि नेतृत्व सावित गर्न सफल हुनुभएको छ ।
मेरो अनुभवमा पार्टीको संगठन निर्माण गर्ने र त्यसको निरन्तर नेतृत्व गर्ने कामको तुलनामा जनवर्गीय संगठन र मोर्चाहरुमा जिम्मेवारी लिएर काम गर्ने कुरा धेरै सजिलो विषय हो । संरक्षित वा आरक्षित कोटाबाट नेतृत्वमा छनौट हुने विषयमा त कुनै जोखिम नै हुने कुरा भएन् । कमरेड अर्यालले पितृसतात्मक परिवेशको पार्टीमा देशकै पहिलो निर्वाचित अध्यक्ष बन्ने ईतिहास रच्न सफल हुनुभयो । सफलताको पछाडिको सिर्जनशिल व्यवहार नै मुख्य कुरा हो भन्ने कुरालाई नकार्न सकिँदैन ।
ति मानिसहरुले मात्रै सफलता प्राप्त गर्दछन् जसले समय र परिवेशलाई सहि ढंगले सदुपयोग गर्न जान्दछन् । हामी सबैले देख्यौं, पहिलो संविधानसभामा सिमान्तकृत समुदाय वा वर्गको तर्फबाट धेरैले सहभागिता हुने अवसर प्राप्त गरे । तर धेरैले त्यस आफ्नो राजनीतिक भविष्यको लागि एउटा महत्वपुर्ण अवसरको रुपमा प्रयोग गर्न सकेनन्, त्यसको बिघटनसँगै हराए । प्रत्यक्ष निर्वाचित होस् वा समानुपातिक प्रणालीमार्फत गएको होस् जसले आफँुलाई त्यहि प्लेटफर्मबाट आफुँलाई दह्रोसँग उभ्याए । आज उनीहरु देशको बागडोर चलाउने ठाउँमा कायमै छन् । यसको पनि एउटा उदाहरण हुन पुग्नुभएको छ, हाम्री स्याङ्जाली नेतृ अर्याल ।
जोसुकैले पनि आफ्नो जिल्लामा दरिलो जनाधार निर्माण गर्ने र निर्वाचित हुने कुरा सामान्य विषय हुँदै होइन । आफ्नो पार्टीलाई एकढिक्का बनाएर होम्ने र प्रतिपक्षलाई कमजोर नबनाइकन कहिल्यै पनि निर्वाचनमा विजय हाँसिल गर्न सकिँदैन । सँगै बहुजन समुदायले अभिभावकको रुपमा पनि स्वीकार योग्य बन्न सक्नुपर्दछ । स्याङजामा लामो समयदेखिको प्रतिपक्षको अखडालाई तोड्ने कुराको श्रेय पनि उहाँलाई नै गएको छ ।
सामान्यतया युगले नेतृत्वको माग गरिराखेको हुुन्छ र त्यहि सन्दर्भमा उदाउँदो नेतृत्वले जनसमर्थन र छनौटको संयोगको बीचबाट आफुँलाई प्रस्तुत गर्ने कोशिस गर्दछ । नेपाली कम्युनिष्ट आन्दोलनको बीचबाट उदाएकी वर्तमान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले प्राप्त गरेको अवसर र त्यसको उपयोगिताको मुल्यांकन गर्दा उनलाई आगामी नेपालको सम्भावित नेतृत्वको रुपमा हेर्न सकिन्छ ।
जनपक्षीय, आवश्यक र सफलतामुखी योजनाकार
सरकारमा रहेर सफलतापुर्वक काम गर्ने कुरा आफैंमा चुनौतिपुर्ण कार्य हो । त्यसमा पनि तालमेलको स्वरुपमा रहेको पार्टीको अवस्थामा । जसले जनता र राष्ट्रले स्विकार गर्ने, आवश्यक र कार्यान्वयन गर्न सक्ने योजना निर्माण गर्न सक्छ, उ नै सफल हुन सक्छ । सर्वपक्षीइ स्विकार भएको विषय पनि यो हो कि, हाम्रो मुलुकको सत्ता सामरिक खिचातानीको बीचबाट गुज्रदै आएको छ । यस्तो परिवेशमा राष्ट्र र जनताको हितमा कार्यान्यन योग्य योजना बनाउन सक्नु र कार्यान्वयन गर्न विशेष दक्षता र कहिलेकाहीँ साहसको पनि आवश्यकता पर्दछ ।
विश्वको सर्वोच्च शिखर सगरमाथा नाप्ने काम : हाम्रो राष्ट्रको गौरव र पहिचानको रुपमा रहेको विश्वको शिखर सगरमाथाको उचाई मापन गर्ने कार्य ब्रिटिस, भारत, नर्वे, अमेरिका र चिनियाँ संस्थाहरुले गर्दै आएका थिए । नेपाल सरकारले आफ्नै पहलमा नाप्ने प्रयास गरेको थिएन । माननीय पद्मा अर्यालको पहलमा पहिलोपटक सगरमाथा नाप्ने काम सम्पन्न भएको छ । जुन काममा स्वंय माननीय अर्याल आँफै सगरमाथा आधार शिविरसम्म पुग्नुभएको थियो । सो कामलाई सम्पुर्ण राज्यले नै एउटा महत्वपुर्ण र गौरवको कार्यको रुपमा लिएको छ ।
राष्ट्रको नयाँ नक्सा जारि गर्ने गौरवपुर्ण एवं ऐतिहासिक कार्य : एउटा सार्वभौमसत्ता सम्पन्न मुलुकले विभिन्न कारणले आफ्नो भुगोलको सहि नक्सा नबनाउनु र आफ्नै भुगोललाई शासनबाट अलग राख्नु शोभनिय एवं स्वाभिमानको विषय थिएन् । तत्कालिन प्रधानमन्त्री विपी कोइराला, राजा महेन्द्र, राजा विरेन्द्र, बहुदलीय व्यवस्था र जनयुद्ध/जनआन्दोलन पछिका कुनै पनि सरकार र मन्त्रीहरुले गर्न नचाहेको वा गर्न नसकेको आफ्नो मुलुकको यथार्थ नक्सा बनाउने र सार्वजनिक गर्ने कार्य माननीय अर्यालको नेतृत्वमा भएको छ । जुन विषयलाई आम नेपाली जनताले ऐतिहासिक र साहसिक कामको रुपमा मुल्यांकन गरेका छन् ।
सार्वजनिक जग्गाको संरक्षण एवं संवद्र्धन गर्ने कार्य : सार्वजनिक सम्पत्तिको संरक्षण र सदुपयोग गर्नु सरकारको दायित्व हो । राज्यले आफ्नो सम्पुर्ण भुगोलको स्वामित्वका आधारमा नक्सांकन गरेतापनि सार्वजनिक स्वामित्वमा रहने भूमिको वेवास्ता गर्दै आएको थियो । जसमा शक्तिको दुरुपयोग गर्ने मनसाय बोकेका व्यक्तिहरुले नियन्त्रण जमाउने वा कानुनको छिद्रतावाट प्रवेश गरि निजी स्वामित्वमा रुपान्तरण गर्ने कार्य गर्दै आएका थिए । माननीय अर्यालले सरकारमा रहनेहरुले विगतदेखि अंगिकार गर्दै आएको प्रवृत्तिको अन्त्य गरि सार्वजनिक सम्पत्तिको रक्षा र सदुपयोगको सवालमा संयन्त्र नै निर्माण गरेर लाग्नुभएको छ ।
सुकुम्वासी तथा अव्यवस्थित जनताको लागि आवास : कम्युनिष्ट पार्टीको पहिलो जिम्मेवारी भनेको सर्वहारा वा दुःखी गरिब जनताको पक्षमा काम गर्नु हो, अर्थात् उनीहरुको अधिकार स्थापित गर्नु हो । लामो समयदेखि भूमीहिन हुँदै आएका नेपालीहरुलाई भूमी उपलब्ध गराउने र जोखिमयुक्त वा अव्यवस्थित ठाउँमा बस्दै आएका नेपालीहरुलाई सुरक्षित आवासको निमिक्त भूमी उपलब्ध गराउनको लागि माननीय मन्त्री अर्यालले आयोगकै गठन गरेर कामलाई तिव्रता दिनुभएको छ । छिट्टै नै सम्बन्धित नेपालीहरुले स्वयं आफ्नो स्वामित्वमा जमिन प्राप्त गर्नेछन् । माननीय अर्यालको नेतृत्वमा हुन लागेको यो महत्वपुर्ण कार्य जनताको अति आवश्यकता र राज्यको अनिवार्य दायित्वसँग जोडिएको छ ।
आधुनिक मालपोत तथा नापी कार्यालयको शुरुवात : आज २१ औं शताब्दीमा विश्व विज्ञान तथा प्रविधियुक्त भएर विश्वको मानव समुदायले अति सरल जीवन बिताइरहँदा हामी नेपाली भने पछौटे शैलीमा बाँच्न विवश हुनुपरेको छ । कतिपय क्षेत्रमा सरकारको तर्फबाट गरिने सामन्य नीतिगत र व्यवहारिक पहलको कारण उच्च प्रविधिको प्रयोग गर्न सकिने र सरकारी कामकाज अति सरल हुने स्थीति हामी सबैले देखिरहेका छौं । माननीय अर्यालले मन्त्रीको पदभार ग्रहण गर्नासाथ मालपोत र नापी कार्यालयहरुमा कार्यसम्पादनको झन्झटिलो कागजात र प्रक्रियालाई बिस्थापित गरि प्रबिधिमैत्री बनाउने कार्यको शुरुवात गर्नुभएको छ । जसले गर्दा सम्बन्धित कार्यालयबाट अब आम जनताले विगतको तुलनामा छिटो छरितो ढंगले आफ्नो काम गर्न पाउने भएका छन् ।
अनुभव र क्षमतासहितको नेतृत्व राज्यमा विकास भएको छ भने त्यसमा समाजको अतुलनीय लगानी भैसकेको हुन्छ । कामरेड अर्याललाई ईतिहासमा अझै महत्वपुर्ण जिम्मेवारी दिने इच्छा वर्तमानले देखाएको महशुस हुन आएको छ । त्यसैले हामी सबै स्याङ्जालीले उहाँका कमीकमजोरीलाई सुझाबको रुपमा राख्दै थप विकासको निमित्त सहयोग गरौं ।
सपना देख्न सक्ने मानिसले मात्रै अरुलाई पनि नयाँ सपना देखाउन सक्दछ । जोखिमहरुको बीचमा तालमेललाई ख्याल गर्दै अगाडि बढ्न सक्ने राजनीतिकर्मी मात्रै सत्तामा पुग्न सक्दछ । हामी सबैलाई थाहा छ, सत्ता मात्रै त्यो हतियार हो जहाँ राष्ट्र र जनतालाई केन्द्रमा राखेर देखिएका सपनाहरुको कार्यान्वयन गर्न सकिन्छ । त्यसैले अवसरलाई अवसरको रुपमा लिनेहरु, प्राप्ति भएको अवसरमा आफ्नो सपना कार्यान्वयन गर्न साहस गर्नेहरु समाजमा अमुल्य निधी बन्न सक्दछन् ।
परिवेशले धेरै कोल्टो फेरेको छ । समाजको चेतनाले धेरै फड्को मारेको छ । व्यवस्थामा परिवर्तन भएको छ तर, धेरै कामहरुको चाङ लागेका छन् । जसलाई फत्ते गर्ने जिम्मेवारी ईतिहासले नेतृत्वलाई सुम्पेको छ । भनिन्छ, हाम्रो समाजमा अगाडि बढ्दै गरेकोलाई खुट्टा तान्ने प्रवृत्ति छ । अब हामीले यसलाई तोड्नुपर्छ । अनुभव र क्षमतासहितको नेतृत्व राज्यमा विकास भएको छ भने त्यसमा समाजको अतुलनीय लगानी भैसकेको हुन्छ । कामरेड अर्याललाई ईतिहासमा अझै महत्वपुर्ण जिम्मेवारी दिने इच्छा वर्तमानले देखाएको महशुस हुन आएको छ । त्यसैले हामी सबै स्याङ्जालीले उहाँका कमीकमजोरीलाई सुझाबको रुपमा राख्दै थप विकासको निमित्त सहयोग गरौं ।
(लेखक गैह्रे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्याङ्जा जिल्ला अध्यक्ष हुन्)
वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १०:२३ मा प्रकाशित






























