
ताराहरु टल्केका छन् पनि के भन्नु
आफैलाई नपुगेर उज्यालो प्रकाश
जूनेली उज्यालोको सहरामा अघि अघि घस्रिन्छन्
नदीमा टल्केको जुनको सहयोगमा हिँडे झैं
जून पनि हिँड्छ बरा ! संगसंगै
म भने प्रत्येक श्वास गनिरहेछु
जूनबाट सालनाल नछुटेको किरणको
जौनो किरण शीतहरुमा जूनको डिम्बशेचन हो
जौनो मेरो प्रेमको परागशेचन खोजिरहेछ
यत्तिको लागि
मैले मेरो आयुको एक एक अंश दिएको छु
तसर्थ रित्तिन्छु औँसी सम्ममा
पुच्छ्रे ताराको पुच्छर समाएर लतारिदै
कसरी जून आइपुग्छ क्षितिजमा
तिम्रो आँगनमा उज्यालोले लिप्न
तिमी पनि आयौ भने पो देउरालीसम्म काँध फेर्न,
ताराहरुले एकछिन थकाई मारेर चौपारीमा
उज्यालोको खरानी घसेर टल्किन्थे
आफैलाई नपुगेको उज्यालो पनि चुँडेर दिन्थे ।
खै रे रे को हल्ला हो
सँघारमा आइपुगेर जूनले श्वास फेरेको थियो रे !
यतिञ्जेल श्वास मुठ्ठीमा च्यापेर भागेको थियो
वि.सं.२०७७ कात्तिक २९ शनिवार ०७:५७ मा प्रकाशित






























