
शून्यबाट शुरु भएको
सफल जीवनको एउटा अङ्कगणित भएर
बेहिसाब मै जोडघटाउ सिकाउँछ समयले ।
अभ्यासबिना नै
शूण्य गुणनविना नै
मानौँ यसरी-
शिकारको खोजीमा लखतरान जङ्गली बाघको
उच्छ्वास जस्तै
विक्षिप्त इरादा भन्छ-
लक्ष ताकौँ या भएको अन्त्य गरौँ
छोडौँ या भएको सबै छाडौँ
अनि त समय हिजो, हिजोकै पर्याय थियो ।
आज आज हुनुको दुरुपयोग देख्दा
समाज परिवेश र राष्ट्र जस्तै महरू र
हामीहरू जस्तै प्राचीन वा अर्वाचीन
यो मानव वस्ती !!
अपारिभाषिक समयको गतिविधिसँग
म र मेरो नैसर्गिक सत्य
कुन्नी किन हो मिल्दैन
र त भनिरहन्छ राज्यले-
जनता भएनन्
उसका मागहरू भएनन्
भएनन् विचार संप्रेषणका तरिकाहरू
पटक्कै भएनन् आचारसहिंताहरू ।
भूगोल जस्तै लाग्छन् आजकल
मेरा अनियन्त्रित जिन्दगीका हिमाल पहाड
कच्छाड र तर्कहरू
जता लडे पनि
जता पहिरिए पनि
जता खुम्चिएर उठे पनि
पहाडको तील र
सरकारले मेरै समस्याहरूको
तिललाई पहाड बनाएर व्यवस्थापन
र व्यावहारिकता
इन्द्रेणी रङमा नमिलाए जस्तो ।
असरल्ल बासी तिर्सनाहरूमध्ये
भाषा आफै अभिव्यक्त हुन्छ र भइरहन्छ
सीमा सिमानामा बाँधिन्न
नबुझेर पनि टुक्रिन्न
टुक्रिएर पनि अव्यवस्थित बन्दैन
र यादृच्छिक हुनुको गर्वबोध साटिन्न
कहिले पनि
तर गन्न नसकिने भन्दैमा जीवन र
जगत् यसको ठीक उल्टो छ ।
गन्न नजानिने जीवनका मूल्यबोधहरू
दर्शनमा बाँचेका लालबुझक्कडहरू
कमण्डलुमा जीवनपर्यन्त
बाँचेका त्यागी साधूहरू
समयको असिनाले मर्माहत नपारेसम्म
कात्रो किन्ने मूल्यसमेत नभएर भएका जोगी र
समाधिस्थलमा सम्पत्तिको गोजी
नभएर भएका लखपतिहरू
समयको मान्द्रोमा सुकाएको विकृत गणित नै त हुन् ।
ल स, म स समीकरण र ज्यामितीय आकारहरू
त झन् पर जाउन्
केवल संङ्ख्यामा आफूलाई
म एक म हुँ भन्न कहिल्यै सिकाएन
सरकार राजहंस हुँ भनिरहन्छ
जानेको गणितमा
भ्रष्टाचारको सगरमाथा लुकाइरहन्छ
झल्याकझुलुक र तितरवितर !
कृपया–ः यो देशले एक सपूत छोराको माग राखेर
आशक्तिको भावमा थुपारिएको
हरिवंश पुराणको शब्दानुवाद होइन,
समयको बाढीमा तैरिएको देशको बिम्ब हो
अन्तिम सत्य
जीवनको गणित ।
वि.सं.२०७७ कात्तिक २९ शनिवार ०८:०१ मा प्रकाशित





























