back
CTIZAN AD

आठ महिनादेखि बन्द रहेको लुम्बिनी पर्यटकको पर्खाईमा

वि.सं.२०७७ मंसिर ६ शनिवार

564 

shares

६ मंसिर,रुपन्देही । कोरोना महामारीका कारण आठ महिनादेखि बन्द रहेको बुद्ध जन्मस्थल लुम्बिनी भर्खरै खुलेको छ । लुम्बिनी विकास कोषले लुम्बिनी खुलेको घोषणा गरे पनि कोरोना सङ्क्रमणको त्रासले पर्यटक अझै आउन सकेका छैनन् । लुम्बिनी खुलेपछि व्यवसायीले पर्यटकको स्वागतका लागि तयारी भने थालेका छन् ।

मायादेवी क्षेत्र खुलेसँगै उत्साहित भएका व्यवसायीलाई अहिले लामो समयदेखि बन्द रहेका होटलका कोठा सफा गर्न, विस्तारा मिलाउन, होटल तथा रेस्टुराँमा जमेको धुलो टक्टक्याउन, झ्याल ढोकाका सिसा पुछ्न र फर्निचर टल्काउन भ्याइनभ्याइ छ । कतिपयले त रङ्गरोगनका कामसमेत गर्दैछन् । “लुम्बिनी खुलेको घोषणाले यहाँका व्यवसायीलाई ठूलै उत्सव वा चाड आएको अनुभूति भएको छ”, लुम्बिनी होटल व्यवसायी सङ्घका महासचिव लीलामणि शर्मा भन्छन् ।

यहाँ सरकारले बनाएको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्ने तयारीसमेत गरिएको छ । कोरोना सङ्क्रमणको रोकथामका लागि होटललाई पटकपटक स्यानिटाइजेसन गर्ने, पहिलाको तुलनामा सरसफाइलाई बढी जोड दिने, कोठा तथा हातको प्रयोग हुने सामग्रीमा स्यानिटाइजेसन गर्ने काम भइरहेको छ । राम्रो सरसफाइ गरी होटल, माला पसल तथा अन्य व्यवसायलार्ई चिटिक्क पारेर पर्यटकलाई स्वागत गर्ने तयारी उनीहरुको छ । होटल तथा आफ्ना व्यवसायलाई पुरानै लयमा फर्काउन उनीहरुलाई अहिले भ्याइनभ्याइ छ ।

“लामो समयदेखि बन्द रहेका होटल तथा अन्य व्यवसायको सरसफाइ तथा व्यवस्थापनका काम सम्पन्न गरेर पर्यटकको पखाईमा छौँ, लामो समयकोे बन्दले हामी थप गुणस्तरीय सेवा दिनसक्ने गरी तयार भएका छौँ”, लुम्बिनी होटल सङ्घका अध्यक्ष मिथुनमान श्रेष्ठ भन्छन् ।

सरकारले धार्मिकस्थल खुला गर्ने निर्णय गरेपछि लुम्बिनीको मायादेवी मन्दिर क्षेत्र पनि पर्यटकका लागि खुला गरिएको हो । मायादेवी मन्दिर नखुले पनि पवित्र उद्यान क्षेत्र खुलेसँगै यहाँका व्यवसायी, लुम्बिनी विकास कोष तथा भिक्षु भिक्षुणी मिलेर मायादेवी मन्दिरमा दैनिक दीप प्रज्वलन गर्ने, पूजापाठ गर्नेलगायतका काम शुरु गरिएको छ । हरेक दिन साँझमा मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन गरी कोरोना महामारी अन्त्यको कामना गरिएको छ ।

यससँगै लुम्बिनी विकास कोषले पनि आठ महिना अवधिको सदुपयोग गर्दै केही सौन्दर्यीकरणका काम सम्पन्न गरेको छ भने केही शुरु गरेको छ । लामो समयपछि पर्यटक आउँदा उनीहरुलाई केही नौलो अनुभूति होस् भन्नका लागि सौन्दर्यकरणका काम गरिएको कोषका उपाध्यक्ष भिक्षु मेत्तेय ९अवधेश कुमार त्रिपाठी०को भनाइ छ ।

लुम्बिनी परिसर बाहिर रहेको महिलवारस्थित ५ नम्बर प्रवेशद्वारबाट मायादेवी मन्दिर पुग्ने पैदलमार्गमा रङ्गिन इँटा बिछ्याइएको छ । यसअघिको कालोपत्र सडक भत्काएर रङ्गिन इँटा बिछ्याउँदा मायादेवी मन्दिरतर्फ जाने यो सडक निकै सुन्दर देखिएको छ । पाँच नम्बर प्रवेशद्वारबाट मायादेवी मन्दिर जाने सडकको दुवैतिर लहरै राखिएका इटालियन पोलमा बालिएका बत्ती रातिको समयमा मनमोहक देखिन थालेका छन् । यसअघि रातिको समयमा लुम्बिनी भ्रमण असहज रहेकामा बत्तीको व्यवस्थाले लुम्बिनी भ्रमण निकै सहज भएको छ । मायादेवी मन्दिर परिसरमा घाँस, दुबो काटेर विभिन्न ठाउँमा फूल फुलाइएको छ । पवित्र कुण्ड सफा गरिएको छ । माटो भरेर प्राचीन बोधि वृक्षको संरक्षण र मन्दिर परिसरमा रहेका पुरातात्विक संरचनाको मर्मतसम्भार गरिएको छ ।

मायादेवी मन्दिरदेखि शान्तिदीप जाने सडकका दुवै किनारामा पनि इटालियन खम्बा सहितका सडक बत्ती जडान गरेर आकर्षक बनाइएको छ । केन्द्रीय नहरको पानी सुकाएर सफा बनाइएको छ भने दुवैतिर टुटेफुटेका इँटा मर्मत गरेर चिटिक्क पारिएको छ । इँटा छापेर बनाइएका सडक, बत्ती, फूल र सफा गरिएको पानीमा त्यसको प्रतिबिम्ब निकै मनमोहक देखिन थालेको छ । सफा गरिएका सम्पदा निकै आकर्षक देखिएका छन् । शान्ति दीपबाट केन्द्रीय नहरतिर फर्केर तस्वीर खिच्दा डेढ किलोमिटर टाढा रहेको शान्ति स्तूपा प्रष्ट देखिन थालेको छ ।

केन्द्रीय नहरमाथि बनाइएका आर्क ब्रिज र छेउमा निर्मित मण्डलाको पनि सफाइ गरिएको छ । केन्द्रीय नहरको दुवैतर्फ लहरै रहेका कदमको रुखमूनि फूल फुलाएर सिंगारिएको छ । बगैँचा सफा गरिएको छ भने पैदलमार्ग मर्मत गरिएको छ । नयाँ लुम्बिनीग्राम क्षेत्रमा सारसलगायतका पक्षी र जनावरको संरक्षणका लागि पोखरी बनाएर सिमसार क्षेत्रको विकास गरिएको छ । जहाँ अहिले सारसका बच्चा हुर्किरहेका छन् । यस्तै गुरुयोजनको लुम्बिनी ग्राम क्षेत्रभित्र फलफूलका बिरुवा रोपेर हुर्काइएको छ ।

कोषका सदस्य सचिव सानुराजा शाक्यले सौन्दर्यकरणका कामसँगै अन्य पूर्वाधार निर्माणका काम धमाधम भइरहेको बताए । गत हप्तादेखि पर्सा–लोखडिया सडक विस्तार तथा सौन्दर्यकरणको कामसमेत शुरु गरिएको छ । रासस

वि.सं.२०७७ मंसिर ६ शनिवार १४:०० मा प्रकाशित

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

दाङ । बबई गाउँपालिका वडा नं. १ र ५ लाई...

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

नेपालगन्ज (बाँके) । गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ । तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा...