नेताहरूले ‘मैल यस्तो भने’ भनेर पत्रकारलाई नभनि पत्रिकामा नेताका भनाई छापिदैनन् । यसको अर्थ नेता पार्टीका नेता होइनन् पत्रिकाका संवाददाता रहेछन भन्ने देखिन्छ पछिल्लो अवस्थामा । जसका कारण पार्टी र कमिटीमा राख्नु पर्ने धारणा, असन्तुष्टी बाहिर छताछुल्ल आइरहेका छन् । नेता, कार्यकर्ताबीच विवाद र विभाजन बढाई रहेछन् । देशमा अस्थिरता र जनतामा आक्रोश अनि निरासा बढीरहेको र पार्टीभित्र नेताहरू बीचको शत्रुता, पदलोलुपता, संघर्ष, गैरजिम्मेवारीपनका कारण नेता तथा कार्यकर्ताको भविष्य अनिश्चित र छिन्न–भिन्न बन्दै गइरहेको अवस्था छ । आउने चुनावमा नेकपालाई जनताले मतदान दिने र विश्वास गर्ने अवस्था विस्तारै गुम्दैछ । मिलेर खान र बस्न नजान्ने नेकपाका नेताहरूले आफँ, आफन्त, परिवार र गुटका केहि मुख्य नेताहरू बाहेक आम जनताका जनजिविकाका सवालमा आखा चिम्लने गरेको र कार्यकर्ता र समर्थकहरूको मनोभावना बुझेर काम गर्न नजानेका कारण नै यो अवस्था आएको हो भन्दा फरक नपर्ला ।
यतिबेला पार्टीले सरकारलाइ सहयोग नगर्ने अनि सरकारले पार्टी नहेर्ने दुवै अतिवादी चरित्रले न पार्टी न सरकार जनतामा प्रशशा लायक बन्न सकेका छन् । भएका लोकप्रियता पनि आफ्नै दलका नेताहरूले समाप्त पारिदिएको र पार्टीका नेता तथा कार्यकर्ताले नै सरकारले केहि गरेन नराम्रो काम मात्र गर्यो भन्दै बाहिर हिँडिरहेको अवस्था छ । सधै आफ्ना र आफन्तका स्वार्थका लागि मात्र झगडा गरेर जनमतको विश्वास गिराउँदै गएको नेकपाका नेताले ‘भोली चुनावमा ‘हामीले पाँच वर्षमा यो–यो काम गर्यौ, निरन्तर गर्न र सम्पन्न हुन बाँकी यी–यी काम पूरा गर्न पुनः नेकपालाइ मतदान गरिदिनुस्’ कुन मुख लिएर जनता सामु जाने भन्ने गम्भीर समिक्षा अब नेताहरुले गर्नैपर्ने हुन्छ ।
पार्टी र यसका नेताहरूको झगडा, सत्रुता, विवाद, अवरोध, खुट्टा तान्ने काम देखेका जनताले कसरी कुन विश्वास र आधारमा नेकपालाई पुनः बहुमत देलान ? सधै आफुँ र परिवार मात्र भन्ने र बनाउने नेताहरूलाइ जनताले कसरी बिजयी गराउलान् ? कसरी आफ्नै दलका नेता र सरकारलाइ आफ्नो नमान्ने, विरोध गर्ने र उल्टै काम गर्ने वातावरण बिगारी दिने नेताहरूलाई कार्यकर्ता र समर्थकहरूले सहयोग र मतदान गर्लान ? पार्टी अनुशासन, नीति, विधी साना नेता र कार्यकर्तालाई मात्र लागु हुने र ठूला–ठाला नेताहरूले जे गरे पनि अनि जे बोले पनि हुने यस्तो अनुशासनहिन, अराजक व्यवहार र काम जनता सामु कसरी पाच्य र मान्य भैरहन सक्ला र !
युवा नेता कार्यकर्ता र समर्थक ठूला नेताका आदेशपालक र दास त पक्कै होइनन् जो ठुलाले आफ्नै पार्टी र भविस्य समाप्त पार्ने काम भइरहँदा टुलु–टुलु हेरेर बसिरहलान् र ? व्यक्तिगत र गुटगत स्वार्थ पूरा गराउन र गुटगत सत्रुता साध्न विदेशी अनुदान, भ्रमण, भेटघाट,आयोजना, निर्माणलाइ अनावस्यक भ्रम बनाई, आरोप लगाई विदेशी शाशकहरूलाइ खुशी पार्न र ‘म तिम्रो पक्षमा छु’ भन्ने देखाउन जुन अनावश्यक र असान्दर्भिक रूपमा बिषय र मुद्दा बनाएर समस्या बनाइ रहेछन । यही सोच, मानसिकता र व्यवहार अर्को पक्षले यस्तो गरिरहेकाहरू माथी स्वभाविक लगाउने छन्, लगाउछन् । आफ्नैलाइ आफ्नो नदेख्ने र खेद्ने नेकपाका आजका नेताहरूको व्यवहारले न पार्टी न सरकार जनता र कार्यकर्तामा स्थापित र समर्थनमा परिरहन सक्छ । जनता र कार्यकर्ताहरूले बाटो बदल्ने छन । मन र विस्वास बदल्ने छन् । नेताहरू प्रतिको साथ र सम्मान बदल्ने छन् । यसरी पार्टी र यसका नेताहरूको राजनैतिक भविस्य समाप्ति तिर जादैछ । जुन सबैभन्दा दुःखद स्थिती हो ।
आजका सबै दल र नेताहरू सरकारमा पुगिसकेका छन् । यी सबैलाइ थाहा छ कि देशको ढुकुटीबाट कसरी आफ्नो, परिवार र आफन्तको ढुकुटी भर्ने भराउने । आफु दल र सरकारको मुख्य पदमा पुग्न या नपुगे पनि नियमित शक्ति र आम्दानीको श्रोत बनाइ राख्न सबै दलका ठुला नेताहरूले गुट बनाएका हुन्छन् र तीनै गुटका मानिसलाइ दल, सरकार र राज्यका पद र आम्दानीका ठाउमा पुराउने, राख्ने काम गरि रहेका हुन्छन् । चाहे ति दलका सासंद हुन या सरकारका मन्त्री या राज्यका अंग या निर्माण र आयोजनाहरूका प्रमुख र दाता आफ्ना मानिस बनाएर शक्ति र सम्पती जोड्ने र जोगाउने काममा लागिपरिरहेका नै हुन्छन् ।
आज नेकपाभित्रको द्वन्द र झगडा यही शक्ति र सम्पतिको श्रोत कै लागि भएको जस्तो देखिदैछ । भन्नलाइ निित र विधी भनिएता पनि व्यक्ति, परिवार, आफन्त र गुटकै स्वार्थ र स्थान कै लागी हो भन्ने कुरा छर्लग भैसकेको छ । यसमा कि त सरकारको नेतृत्व गरि रहेकाहरूले मात्रै खाए पाए या आफ्ना गुट र श्रोतका मानिसले भने जसरी खान र कमाउन पाएनन भन्ने नै हो । चाहे ठेक्का होस् या आयोजना चाहे ठेकदार होस् या मालदार मन्त्रालय, आफ्ना गुटका मानिस मै राखिरहन र पारिन खोजिएका लफडा नै झगडा बनेर देखिएका हुन सक्छन । आफ्ना मानिसहरूलाइ बचाउने र कमाउने ठाउ दिने अन्य गुटका मानिस र ठेकदारलाइ कार्यवाही गर्ने र कमाउने ठाउ नदिने भन्ने मानसिकताले पनि आजको नेकपा र यसको सरकारभित्र समस्या आइरहेको हुन सक्छ ।
यतिबेला नेकपाभित्र गहिरिँदै गएको समस्या र अध्यक्षद्धयबीचको आरोप–प्रत्यारोप र प्रस्ताव लिखित छन् । तर, जुन पालना भएनन् भनि भनिएका नियुक्तिहरू जस्तै मन्त्री, राजदूत, संवैधानिक र राज्यका अंगका प्रमुख, ठेक्का, आयोजना कस्लाइ पार्ने र दिने भन्ने मौखिक सहमतिहरू लिखित छन त ? लिखित छन् र सहमति यता उति भए बिमति, बिरोध, अवरोध, विवाद र द्वन्द जायज ठहरिएला तर भेटघाट भइरहेका थिए । बैठक भइ नै रहेका थिए । भेटघाट, प्रस्ताव, नामावली र सहमति बमोजिम नै नियुक्ति भएका र आफ्नै दलका नेता, समर्थकहरू नै नियुक्तिमा पारिएका नै हुन् । अबभित्र एउटा बाहिर एउटा ओलीले गरेका हुन् या प्रचन्डले भन्दै हिँडेका हुन, यसको प्रमाण भनेको लिखित निर्णय र नियुक्तिमा पर्नेहरूको लिखित नामावली, बिभाग र ठेक्का पट्टा र आयोजनाहरू नै हो । जुन लिखित कहि हुदैनन मौखिक प्राय हुन्छन् ।
आफ्ना ठेकदार, आम्दानी र शक्तिका श्रोतलाइ ठाउँ र नाउँ दिइएकै होलान तर पनि किन बाहिर अलग–अलग भनाइ र बैठकहरू दुबै पक्षबाट हुने गर्छन ? आफु र आफ्नोलाइ मात्र कुनै पनि व्यक्ति र व्यवस्थाले खान र दिइरहन सक्दैन । यसो गरिए राणा र शासकहरू जस्तै घर, परिवार, समाज, राज्य, सरकार, शाशन संस्था र व्यवस्था मै झगडा र बिभाजन आउछ । काटमार र कित्ताकाट हुन्छन ! काग्रेस र कम्युनिस्टहरू किन बुझेर पनि गल्ति गरि रहेका छन ? के आक्रोश र निराशाका शिकार हुन खोजिएको हो ? नेकपा र यसका ठूला र बुढा नेताहरूले किन निदाएको जस्तो गरि रहेछन ?
वि.सं.२०७७ मंसिर ७ आइतवार १५:१३ मा प्रकाशित






























