back
CTIZAN AD

चितवन घटना : न प्रचण्डले मुख खोले न ओलीको बोली फुटयो !

वि.सं.२०७७ मंसिर ९ मंगलवार

1.1K 

shares

चितवनको लोथरमा भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एक कार्यक्रमका प्रमुख अतिथि, त्यसै निर्वाचन क्षेत्रका सांसद र पार्टी स्थायी समितिका सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे बोल्दाबोल्दै प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका नेता कार्यकर्ताहरुबाट गरे गराइएको हुटिङ, होहल्ला र हुलहुज्जत एवम् नाराबाजी एकातिर नियोजित र प्रायोजित देखिन्छ । उक्त घटना लोकतन्त्र, पार्टी अनुशासन, नीति र विधिविधान विपरीत पनि छ । त्यस प्रकारको व्यवहार अलिकति अमर्यादित, अशोभनीय, अवान्छित, अभद्र, अशिष्ट, अप्रिय र अराजक चिन्तन प्रवृत्तिको द्योतक लागेपनि वास्तवमा त्यो पार्टीभित्रको पद, प्रतिष्ठा, पावर र पैसा प्राप्तिको लागि चर्किएको शीर्षतहको गुटगत संघर्ष हेर्दा त्यसैको स्वाभाविक परिणाम पनि लाग्दछ ।

जब एउटा कम्युनिस्ट पार्टी घोषित नीति सिद्धान्त, विचार, आचार र लक्ष्य उद्देश्यबाट विचलित, स्खलित र पतीत हुन्छ, तब पार्टीभित्र विभिन्न गुट उपगुट स्वार्थसमूह हरु बन्छन् । र, तिनै समूहहरुका बीचको अराजनीतिक र दुश्मनीपूर्ण अन्तर्संघर्ष अर्थात् गुटीय झगडाको रुपमा यसप्रकारका घटनाहरु हुन्छन् । 

पार्टीभित्र देखिने यसप्रकारका घटनाको मुख्य कारण पार्टी र त्यसका मुख्य नेताहरु नै क्रान्तिकारी विचार, राजनीति, लक्ष, उद्देश्य, दिशा, गन्तव्य, मूल्यमान्यता, विधि पद्धतीबाट विचलित र स्खलित हुनु नै हो । जब एउटा कम्युनिस्ट पार्टी यसरी कम्युनिज्मका घोषित नीति सिद्धान्त, विचार, आचार र लक्ष्य उद्देश्यबाट विचलित, स्खलित र पतीत हुन्छन्, तब पार्टीभित्र विभिन्न गुट उपगुट स्वार्थसमूह हरु बन्छन् र तिनै समूहहरुका बीचको अराजनीतिक र दुश्मनीपूर्ण अन्तर्संघर्ष अर्थात् गुटीय झगडाको रुपमा यसप्रकारका घटनाहरु हुन्छन् । यसरी यो घटना पनि पार्टी नेतृत्वबाटै निशर्त हो भन्ने देखिन्छ ।

पार्टीमा वर्गसंघर्षको प्रतिविम्बनको रुपमा देखापर्ने यसप्रकारका संघर्षहरु, जसलाई हामी अन्तर्संघर्ष र दुई लाईनसंघर्ष पनि भन्छौं, ती जबसम्म विचार, राजनीति केन्द्रीत हुन्छन्, तबसम्म ती स्वच्छ, मैत्रीपूर्ण र रचनात्मक हुन्छन् । तिनको स्वरुप एकता, संघर्ष र रुपान्तरण हुँदै परिणामतः नयाँ आधारमा नयाँ, उन्नत र उच्चस्तरको एकतामा पनि पुग्दछ । अनि पार्टी र क्रान्ती सामुका विभिन्न नयाँ, जटिल र गम्भीर समस्या र चुनौतीहरुको समाधानार्थ झन् झन् नयाँ, उन्नत, क्रान्तिकारी र बैज्ञानिक विचार, विधि र व्यवहारको अनुसन्धान र अवलम्बनमा पुग्दछ । तर, जब त्यो पार्टी र तिनका शीर्षतम नेताहरु नै पार्टीको घोषित विचार, राजनीति, विधि, पद्धति, योजना र कार्यक्रमअनुसार नभै आफ्नो व्यक्तिगत र गुटगत सोंच, सनक र स्वार्थअनुसार चल्छन् र पार्टीलाई पनि त्यसै अनुसार चलाउन खोज्छन्, तब पार्टीमा यसप्रकारका गुट (स्वार्थसमूह)हरु बन्ने र तिनका बीचमा नीति विशेषलाई लिएरभन्दा नेता विशेषलाई लिएर गुटगट राजनीति सुरु हुने हुन्छ ।

वर्ग विशेषलाई लिएरभन्दा गुट विशेषलाई लिएर, सेवा विशेषलाई लिएरभन्दा स्वार्थ विशेषलाई लिएर संघर्ष हुन्छ तब त्यो अन्तरसंघर्ष अस्वस्थ, अमैत्रीपूर्ण र अराजक तरिकाले चल्छ । त्यसले वर्गसंघर्षको अर्थात् दुश्मनीपूर्ण र विध्वंसात्मक रुप लिन्छ र पार्टीका नेता कार्यकर्ताका बीचमा द्वन्द्व, प्रतिद्वन्द्व र घात तथा प्रतिघात हुने गर्दछन् । फलतः पार्टीमा टुट, फुट, विभाजन र विसर्जन हुने गर्दछ । अहिले यही प्रकृया सुरु भएको संकेतको रुपमा चितवन घटनालाई लिन सकिन्छ ।

यसबाट स्पष्ट हुनसकिन्छ, आफ्नै पार्टीका नेताका विचार र व्यवहारको वैचारिक प्रतिवाद गर्न नसकेर भौतिक प्रतिरोध गरेमा हुने उपलब्धी आत्मरती र अहंकारको तुष्टि र प्रतिशोधको पूर्ती त होला तर क्षति त पार्टीको बेइज्जती, विभाजन, विघटन र विसर्जनसम्म हुने खतरा हुन्छ । वास्तवमा कम्युनिस्ट पार्टीमा क्रान्तिकारी विचारमा विचलन, व्यवहारमा विकृतीकरण र मूल्य मान्यताको मानमर्दन अनि नीति नैतिकतामा अनास्था र विधि पद्धतिको बेवास्था हुने हो भने आउने परिणाम यस्तै हो !

सुरेन्द्र पाण्डेका विचार र व्यवहारहरु जनहितविरोधी, राष्ट्रहितविरोधी, क्रान्तिविरोधी र सर्वहारा वर्गविरोधी नै छन् भने तिनको निर्ममतापूर्वक विरोध, भण्डाफोर र चिरफार गर्नु आवस्यक र औचित्यपूर्ण पनि हुनसक्छ । त्यसै सभामा तथ्य र तर्कसंगत ढङ्गले राजनीतिक र वैचारिक दृष्टिले खण्डन र भण्डाफोर गर्दा कती उपलब्धिपूर्ण हुन्थ्यो होला ? यदि उनी भ्रष्टाचारी हुन् भने त्यसको डाटा प्रमाणसहित त्यो उजागर गरिनु देश, जनता, पार्टी र क्रान्तिको लागि कति उपलब्धिपूर्ण हुन्थ्यो । त्यसैगरी उनी भारत वा अमेरिकाजस्ता विस्तारवादी र साम्राज्यवादी शक्तिकेन्द्रका दलालै बनेर संसदबाट राष्ट्रघाती नागरिकता विधेयक र एमसीसीजस्ता खतरनाक विषयहरु पास गर्ने गराउने दुस्प्रयासमा सकृय छन् र उनी रअ र सीआईएजस्ता हस्तक्षेपकारी हत्यारा जासुसी संस्थाको नीति निर्देशन र षड्यन्त्रमा चल्न खोजेका हुन् भने ती सबैको सत्यतथ्यसहितका दसीप्रमाण राखेर पोल खोली नाङ्गेझार पारेको भए त्यो संघर्ष कति शानदार वैचारिक राजनीतिक संघर्ष हुन्थ्यो । त्यसले देश, जनता र क्रान्तिको हितमा हुन्थ्यो ।

चितवन घटना एकातिर नियोजित छ त अर्कोतिर प्रायोजित । घटना लोकतन्त्र, पार्टी अनुशासन, नीति र विधि विधान विपरित पनि छ । तर बिडम्बना, माधव र झलनाथले घटनाको निन्दा गर्दा पार्टीका कार्यकारी अध्यक्ष तथा जिल्लाबासी सहयोद्धाका नाताले न प्रचण्डले मुख खोले न त सरकारका प्रमुख एवं पार्टीका एक नम्बर अध्यक्ष ओलीको बोली फुट्यो !

तर, विडम्बना, त्यसो नगरेर वा गर्न नसकेर अथवा त्यसो गर्ने सही विचार, स्वच्छ आचार, सद्बुद्धि, स्वविवेक र सबलता नभएर हो वा त्यसप्रकारका गल्तिकमजोरी सुरेन्द्रबाट भएको नदेखेर हो, आवेग र उत्तेजनामा आएर अलि अराजनीतिक, अभद्र, अमर्यादित र अवान्छित तरिकाले बाहु लको वैकल्पिक विधि र बाटो अबलम्बन गर्न खोज्दा अकल्पनीय घटना हुन पुगेको छ । व्यवहारत राष्ट्रका अहंम महत्वका अत्यन्त गम्भीर र संवेदनशील मुद्दाहरुमा सारतः एकै स्थानमा देखिने व्यक्ती र प्रवृत्तिहरुबीच हुने यस किसिमको हर्कतलाई विचित्र नै मान्नु पर्दछ ! विचित्र यस अर्थमा पनि कि विचार र आचारमा खास र सारमा त्यस्तो गुणात्मक अन्तर नभएका व्यक्ती, शक्ति र प्रवृत्तिका बिचमा सामान्यतया त्यस्तो नहुनुपर्नेमा त्यस्तो भएको छ । यसले गर्दा ओलीगुटलाई यो घटना प्रत्युत्पादक भएको छ भने प्रचण्ड माधव गुटलाई तुलनात्मक रुपले फाइदा भएको छ । त्यसैलाई भजाउँदै अस्ति मात्रै गण्डकी प्रदेसको प्रचण्डमाधव समूहको भेला अपेक्षाकृत बढी सफल भएको छ !

पार्टी र सरकारभित्रका यस्ता धम्कीदाता, धुन्धुकारी र धमिराहरु माथी पार्टी र सरकारले कडा कारबाहीको शुरुवात गर्नसके राजनीतिक संघर्षको सन्दर्भमा घनवाद, गनवाद, डनवाद र धनवादको प्रयोग, प्रभाव, प्रकोप, प्रदूषण र प्रपञ्चलाई कम गर्न सकिने देखिन्छ । गुटगत झगडालाई विचार–राजनीति केन्द्रीत स्वस्थ, रचनात्मक र क्रान्तिकारी अन्तरसंघर्ष र दुई लाइनसंघर्षमा बदल्ने नयाँ कोर्षमा लैजान पनि सकिन्छ ।

चितवन घटनालाई गुटकै नेताको नाताले माधव र झलनाथले त निन्दा गरे तर, दुःखको कुरा पार्टीका कार्यकारी अध्यक्ष र जिल्लाबासी सहयोद्धाका नाताले न प्रचण्डले मुख खोले न त सरकारका प्रमुख पार्टीका एक नम्बर अध्यक्ष ओलीको बोली फुट्यो ! यसरी नै पार्टीमा स्वतन्त्र (गुट निरपेक्ष) भएर एकता र सहकार्यको निम्ति संकिर्ण समूहहरु बीच समन्वय र सन्तुलनमा सकृय रहनुभएका भनिएका नेता र जनधनको सुरक्षा गरी रामराज्यको अनुभूति दिलाउने जिम्मेवारी बोकेका जनयोद्धा रामबहादुर थापा बादलबाट वक्तव्यवाजीसम्म पनि भएन । अनि यसप्रकारका नेता कार्यकर्ता, नीति विधि, विचार आचारबाट देश र जनताको मुक्ती र प्रगतिको अनि समाजवाद र समृद्धिको क्रान्तिकारीहरुले के कति आश गर्ने ?

(शर्मा सत्तारुढ नेकपाका केन्द्रीय सदस्य हुन्)

वि.सं.२०७७ मंसिर ९ मंगलवार १३:४८ मा प्रकाशित

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

संसारमै चक्मा दिने गरी जनयुद्ध (बिचारले उठेको शसस्त्र संघर्ष) को...

विविधतामा एकता : नेपालको राष्ट्रिय पहिचानको मूल आधार

विविधतामा एकता : नेपालको राष्ट्रिय पहिचानको मूल आधार

१. पृष्ठभूमि राष्ट्रिय पहिचान भनेको साझा इतिहास, संस्कृति, भूगोल र...

सामाजिक सञ्जालको मनोविज्ञान : उपलब्धिभन्दा असन्तोष किन बढी ?

सामाजिक सञ्जालको मनोविज्ञान : उपलब्धिभन्दा असन्तोष किन बढी ?

नेपालमा सामाजिक सञ्जाल केवल सूचना आदानप्रदानको माध्यम मात्र रहेन, यो...

साना सहर विकासका अवसर र चुनौतीः सन्दर्भ खुर्कोट

साना सहर विकासका अवसर र चुनौतीः सन्दर्भ खुर्कोट

१. पृष्ठभूमि नेपालको सन्दर्भमा ‘साना सहर विकास योजना’ भन्नाले गाउँ...

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

काठमाडौँ । विश्व आज अभूतपूर्व प्रविधिगत परिवर्तनको युगबाट गुज्रिरहेको छ...