काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल–भारतबीचको सीमा समस्याको समाधान द्धिपक्षीय संवादबाटै खोज्न आग्रह गर्दै सन्देश पठाएका छन् । प्रधानमन्त्री ओलीका परराष्ट्र मामिलाका सल्लाहकार राजन भट्टराईका अनुसार नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलामार्फत प्रधानमन्त्री ओलीले नेपाल–भारतबीच देखिएका समस्याको हल संवादबाटै खोज्नुपर्ने सन्देश पठाएका हुन् ।
बिहिबार साँझ विदेश सचिव हर्षवर्द्धनसँगको भेटमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई सन्देश पठाएका हुन् । भारतीय प्रधानमन्त्री मोदीले पनि समस्याहरुको हल संवादबाटै गर्न चाहेको सन्देश प्रधानमन्त्री ओलीलाई पठाएको हर्षवर्द्धनले सुनाएका थिए ।
मोदीले नेपाल–भारत सम्बन्धमा कुनै समस्या आउन नहुने कुरा सन्देशको रुपमा पठाएका थिए । प्रधानमन्त्री ओलीले पनि समस्यालाई थाँती राखेर नभई समाधान गरेर अगाडि बढ्नुपर्ने सन्देश पठाएका थिए ।
‘सीमालगायतका सबै विषयलाई द्धिपक्षीय संवादका माध्यमबाट हल गरौं, समस्यालाई थाँती राखेर होइन् तिनिहरुको समाधान गरेर जाँदा नै नेपाल–भारत सम्बन्धले नयाँ उचाई प्राप्त गर्दछ’, ओलीले मोदीलाई पठाएको सन्देश उद्धत गर्दै परराष्ट्र सल्लाहकार भट्टराईले भनेका छन् ।
समस्या पुरानै भएपनि समाधान भने गर्नुको विकल्प नभएको सन्देश प्रधानमन्त्री ओलीले मोदीलाई पठाएका छन् ।
प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘यद्यपि समस्याहरु हामी सरकारका आईसकेपछि उत्पन्न भएका समस्याहरु होइनन् । इतिहासका विभिन्न कालखण्डमा उब्जीएका समस्या अहिले हामीले समाधान गरेर जान सक्दाखेरि म पनि र भारतीय प्रधानमन्त्री मोदी जी पनि नेपाल–भारत सम्बन्धलाई राम्रो बनाउने प्रतिबद्धताबाट अगाडि निर्देशित छौं । र, त्यहि मान्यतामा हामी सहमत छौं ।’
वि.सं.२०७७ मंसिर १२ शुक्रवार १४:०७ मा प्रकाशित






























