
काठमाडौं । नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा रहने नैतिकता नरहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैठकमा बोल्दै उनले ओली नेतृत्वको सरकारले जनताका अपेक्षा अनुकुल नभई प्रतिकुल काम गरेको टिप्पणी गरे ।
‘यो सरकारको कामकारवाहीबारे पार्टीले मूल्यांकन गर्दा जनता, संघीयता र संविधान कार्यान्वयनका पक्षमा काम गरेको पाइएन, संघीयता टिकाउने काम गरेन, उल्टो कमजोर पार्ने काम गरेको छ’, बैठकमा निधिले भने ‘हाम्रो आधिकारिक निष्कर्ष हो( यो सरकारसँग शासन गर्ने राजनीतिक र नैतिक अधिकार छैन ।’
सरकार असफल भएको कारण सडकमा प्रदर्शन देखिएको उनको भनाई छ । ‘अहिले जेजति कुरा आएका छन्। यो तपाईंहरूकै कारणले भएको हो,’ सडकमा राजावादीका प्रदर्शनतर्फ संकेत गर्दै निधिले भने, ‘कांग्रेस संघीयता र गणतन्त्रको पक्षमा सधैं रहिरहन्छ।’
उनले सरकारको प्रवृत्ति र भ्रष्टाचारविरुद्व आफुँहरु आन्दोलनमा जान लागेको पनि बताएका छन् । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री प्रकाशशरण महत र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि धारणा राखेका थिए।
बैठकमा उपस्थित भएका सभापति देउवा भने अन्य नेताहरुलाई धारणा राख्न लगाएका निस्किएका थिए ।