काठमाडौँ । दिनेश राउतको निर्देशनमा बन्न लागेको चलचित्र ‘प्रकाश’ मा अभिनेता प्रदीप खड्का भित्रिएका छन् । यस चलचित्रमा अडिसनबाट हिरोइन तथा अन्य कलाकार छनोट गरिने भएको छ । यही डिसेम्बर १५ देखि १७ तारिखसम्म अस्कर कलेज, सुकेधारमा आयोजना हुने लागेको अडिसनबाट मुख्य अभिनेत्रीसहित अन्य कलाकार छानिनेछ ।
फिल्मका लागि मुख्य अभिनेत्रीमा १६ देखि १८ वर्षका युवती र नायकका लागि २० देखि २२ वर्षका युवकले अडिसन दिन सक्ने बताइएको छ । त्यस्तै, फिल्मका लागि चरित्र अभिनेता, चरित्र अभिनेत्री, सहायक कलाकार (पुरुष र महिला), बाल कलाकार, सहयोगी कलाकार (पुरुष र महिला) पनि खोजिएको छ । अडिसनबाट पात्र सुहाउँदो कलाकार भेटिनेमा निर्माण टिम विश्वस्त छ ।
‘प्रकाश’ का लागि कलाकार छनोट गर्ने जिम्मेवारी निर्माण टिमले कलाकार अनुप बरालको एक्टर्स स्टूडियोलाई सुम्पिएको छ । यो फिल्मका लागि प्रदीपले दशैंअघि कलाकार बरालसँग तीन महिना अभिनयको कोर्ष समेत लिएका थिए । म्यूजिक भिडियो निर्देशक विकास सुवेदीले लेखेको कथामा निर्माण हुन लागेको फिल्ममा प्रदीपले पहिलो पटक गाउँले यूवकको भूमिका निर्वाह गर्दैछन् ।
वि.सं.२०७७ मंसिर २४ बुधवार १२:२३ मा प्रकाशित






























