४ माघ,रत्ननगर (चितवन)। चितवनको खैरहनी–१७ सिसवारकी १९ वर्षीया रेश्मा चौधरी अघिपछि भन्दा फरक देखिएकी छिन् । अहिले कक्षा १२ को पढाइ पनि सकेकी उनी सधैँ स्कुल पोसाकमा हिँड्थिन्, तर यो पटक उनको पोसाक फेरिएको छ ।
घाँटीमा चाँदीका हँसुली, गलामा चकती (माला), नाडीमा माठा, खुट्टामा गुडुला, कम्मरमा डडकासा छ । चाँदीका गहनामा चम्किइन् । साथमा आकर्षक थैली झुन्ड्याएकी छिन् । बाटुले मुहारकी उनी कालो ब्लाउज र सेतो साडी (धोती)मा सजिँदा फरक चमकमा थिइन् । “यति लगाएर नाच सिक्न झन्डै तीन महिना लाग्यो,”, खिचरा पर्वको नृत्यमा थकित रेश्माले स्वाँ–स्वाँ गर्दै सङ्क्षिप्त प्रतिक्रिया दिइन् ।
उनलाई साथ दिँदै थिए अन्य १२ जना बठिनिया (केटी) हरु । पूर्वी चितवको खैरहनीमा जारी माघिमेला (खिचरा महोत्सव)मा सुस्मिता, सविना, आश्मा, रेलु, सुमिना, अस्मिता, सुमित्रा, रमिता, रोजिता चौधरी लगायतले दर्शकलाई झट्का लाग्ने गरी कम्मर मर्काए ।
ढोलबाजे ढोलबाजे बठिनिया (ढोलक बजाएर केटीहरु नाच्ने) बोलको गीत केटीहरु नै मिलेर नाच्ने आकर्षक गीत हो । यही गीतलाई रिमिक्स गीतमा आफ्नै मौलिक पोसाक र मौलिक संस्कृतिअनुसार नै नाच्दा दर्शकको सिटी र हुटिङ मजैले पाए । उनीहरुले उक्त गीतमा थारूको मौलिक नृत्य ‘स्टिक डान्स’ प्रस्तुत गरे । प्रस्तुति निक्कै फरक र नयाँ शैलीको थियो । जोसिलो गीतमा पस्किएको उनीहरुको नृत्यले दर्शकलाई उचाल्यो ।
शैलीलाई आधुनिकतासँग जोड्ने प्रयास गरेको रेश्माले बताइन् । ती थारू बठिनियालाई सिकाउँदै थिइन् एकजना आमा डुलारी महतो । उनीहरुले सिसवार आमा समूहबाट प्रस्तुति दिएका थिए । “भर्खरै सिकेको, अब पनि सिक्ने हो, नृत्यमा सहभागी अनिशा चौधरीले भनिन्, “आफ्नो संस्कृति आफँैले त हो जोगाउने ।”
खिचरा भनेको माघी हो । अहिले पनि चितवनमा माघी मनाउने क्रम जारी छ । खिचरा महोत्सव दुई दिन बाँकी रहेकाले यो क्रम माघ ५ गतेसम्म चल्छ । उनीहरुजस्तै विभिन्न समूहबाट थारू युवतीले नृत्य सिकेरै प्रस्तुति दिए । माघ महिनाको पहिलो दिनलाई नयाँ वर्षका रुपमा मनाइने गरिन्छ । चितवनमा यसलाई खिचरा पर्वका रुपमा मनाइने गरिएको थारू बुद्धिजीवी वासुदेव चौधरी बताउनुहुन्छ । यो क्रम करिब साता दिनसम्म चल्छ । चिचर (पोका) र घुँगी अनि माछाका परिकारको स्वादमा आफन्त जम्मा भएर मनाइन्छ खिचरा पर्व ।
सौराहाकी सोनिया चौधरी आफ्नो संस्कृति प्रदर्शन गर्न चितवन मात्रै होइन पोखरा, काठमाडौँलगायत क्षेत्रमा पुग्छिन् । उनलाई थारू महिलाले नाच्ने झमटा, लाठी नाच पनि आउँछ । झुमरा, डम्फु नाच पनि थारूको प्रख्यात नाच हो । उनीसँग थारू बठिनियाको एउटा समूह छ । “जहाँ गए पनि हामीसँगै गएर एउटा टोलीले नाच देखाउँछौँ, सबैले मन पराउँछन्”, सोनियाले भनिन् । उनी अहिले थारू कल्चर हाउस सौराहामा पर्यटकलाई दैनिक आफ्नो संस्कृति देखाउँदै आएकी छिन् ।
सौराहामा रहेका दुईवटा कल्चर हाउसमा यसरी थारू संस्कृति प्रदर्शन गर्ने युवती थुप्रै छन् । पहिले केही गतिविधि हुदैनथ्यो, थारूका संस्कृति सौराहा र सङ्ग्रहालयमा सीमित थियो । अहिले गाउँगाउँमा विभिन्न कार्यक्रम नै हुने गरेको र खिचरा महोत्सव पनि संस्कृतिको संरक्षण र मौलिकता जोगाउने उद्देश्यले नै ४ वर्षदेखि आयोजना हुन थालेको थारू पत्रकार सन्तकुमार चौधरी बताउनुहुन्छ ।
हरेक कार्यक्रममा युवाकै सक्रियता बढी छ । अझ वेशभूषा प्रदर्शन होस् या ¥यालीमा थारू युवतीको मौलिक पहिरनले शोभा दिने गरेको छ । बिस्तारै नयाँ पुस्ताले संस्कृति सम्हाल्न थालेको अर्का थारू अगुवा कारी महतो बताउनुहुन्छ ।
खिचरा महोत्सव सञ्चालन गर्ने सबै युवा छन् । उनीहरुको जिम्मामा धेरै कुरा छाडेर पुराना पुस्ता बाहिरबाट रेखदेख गर्छन् । कार्यक्रम संयोजक नारायण महतो अब संस्कृति जगेर्ना गर्ने पालो थारू युवायुवतीको काँधमा आएको बताउनुहुन्छ ।
“हराउने चिन्ता थियो, अब बिस्तारै नयाँ पुस्तामा संस्कृति हस्तान्तरण हुँदैछ”, महतोले भन्नुभयो । चितवनमा आदिवासी थारूको राम्रो बस्ती छ तराईका जिल्लामा थारूको उपस्थिति राम्रो छ । थारूका जिल्ला नेता टिकेन्द्र चौधरी सरकारी तवरबाट हेर्ने दृष्टिकोण फराकिलो नहुँदा अधिकार प्राप्त गर्न भने कठिन भइरहेको बताउनुहुन्छ ।
वि.सं.२०७३ माघ ४ मंगलवार ०५:१३ मा प्रकाशित