त्यो बादलको स्वर घनघोर बर्षा गराउने थियो भने यो बादल सुर्वालमा पिसाब फेर्दै खस्केको आवाजमा धोद्रो स्वरमा करकर गरेको आवाजमा खड्ग प्रसाद्को जयजयकार गरेको बिद्रुप दृश्यले म पानी पानी भएँ ,लज्जित भएँ।
२०५६ भदौको दोस्रो हप्ता गोरखपुर। करिब ७०० जनाको क्षमता भएको सभाहल। भक्ति पाण्डेको नेतृत्वमा गएको हाम्रो टोली रातीको १२ बजे हलमा पुगे पछी त्यहाँ गर्न हुने र नहुने निर्देशन जारी भयो। केहि किन्नु परे पैसा बुझाउनु पर्ने, आँफु किन्न जान नपाइने, सामान त्यहिं आइ पुग्ने, ठुलो स्वरमा बोल्न नपाइने, सरसफाईमा भाग लिनु पर्ने, आंफुले खाएको आँफै सफा गर्ने, नुहाई धुवाई सकेर बिहान ०४।३० मा तयार हुनु पर्ने। भने अनुसार गरियो। खानपिन गरेर २ बजे सुतेको ३।३० मा घन्टी बज्यो। मच्छेडले एक डेढ घण्टामा शरीरबाट आफ्नो आहारा पुर्याई सकेछ। घंटिको आवाजले जुरुक्क पार्यो। आमालाई सम्झें। बीर अस्पतालमा भर्ना गरेर हिंडेको थिएँ, ३ दिन बितिसकेका थिए । एक कल फोन गरेर आमाको खबर बुझ्न मन लागेको थियो। मोबाइलमा ब्यालेन्स थिएन। उताबाट आवाज आयो। ल अब पन्द्र मिनटमा चिया नास्ता तयार हुँदैछ। छिटो छिटो गर्नुस सबैजना। उठेर बाथरुममा लाइन लागियो, मेरो पछाडी २१ जना र ठिक अगाडि कामरेड बादल,अलि अगाडी लालध्वज,टोप बहादुर लगायत। यस्सो पछाडी फर्केर बादलले कसिलो हात मिलाउनु भयो। कतिबेला आई पुग्नु भयो, भनेर सोध्नु भयो। अरु सामान्य कुरा भए। सामाखुशीमा अलि पहिला भेट्दा भन्दा कपाल अलि लामो। मन ढक्क गर्वले फुल्यो। आफ्नो पालो आए पछि बाथरुम छिर्दा बादल कमरेड संग भर्खर मिलाएका हात धुन नपरे हुन्थ्यो भन्ने मनमा लाग्यो। हतार हतार गरेर चियाको लाइनमा लागियो। लामो लाइन थियो। आफ्नो पालो आउँदा थाहा भयो, हिसिला यमी र टोपजीको श्रीमतीले आलो पालो गर्दै चिया नास्ता टक्र्याउँदै गरेको। अन्य ४,५ जना जति महिला कमरेडहरुले ठूला कित्लेमा पानी उमाल्दै गरेको देखे पनि अन्यलाई चिन्न सकिएन। नाम थर ,ठाउँ ठेगान सोध्ने चलन हुँदैनथ्यो। सवा ४ बजे कार्यक्रम शुरु भयो। आउने ३ दिन सबै यहि हलमा रहने, लगायतका केहि भूमिका बारे टोपजीले बताए पछि प्रशिक्षणका गतिबिधि अगाडी बढे। स्मरणमा धेरै कुरा छन्। अहिले मेरो मानस पटलमा भने त्यो बादलको गडगडाहट पूर्ण आवाज गुन्जी रहेको छ।
‘ कमरेडहरु ! हामी विजय यात्रामा छौं। दुश्मन गली सकेको छ। मुलुकका झन्डै ७०% भूभागमा क्रान्तिको लाल झण्डा फहराई सकेको छ। यद्यपि सदरमुकामहरुमा दुश्मनको कब्जा छ। अबको धक्काले दुश्मनलाई फतक्कै गलाउने कुरामा शंका छैन। महाकाली सन्धि लगायत असमान सन्धि सम्झौताको बिरुद्ध राष्ट्रियताको आन्दोलनलाई शहर केन्द्रित बनाउने र दिर्घकालिन जनयुद्धको स्प्रिट अनुसार आधार इलाकाहरुको संरक्षण गर्न हाम्रा राता सिपाहीहरुको संख्यामा गुणात्मक परिवर्तन अहिलेको आवश्यकता हो। खड्ग ओली जस्ता भारत भक्तहरुको मुकुण्डो उतार्न महाकालीमा भएको राष्ट्रघात काफी छ, देस भित्रको सामन्तबाद र नेपाली नाम भएका भारतीय एजेण्टहरु हाम्रा लागी समान हुन्। मुक्ति यात्राका सिपाहीहरुलाई जनताले भरपुर माया गरेको छ ……..’ । ५५ मिनटको त्यो बादलको भनाइको सानो अंश हो यो।
यो बादलको फेरी आज बिहान यस्तै एउटा भाषण कानले सुन्यो।
बादल लागेपछि पानी पर्छ भन्छन तर बादल भने गर्मी नचढ्दै गोबरकै गुइंठो भएको कुराले भने सबैलाई स्तब्ध बनाएको छ।
‘ फुटबादीहरुलाई परास्त गर्न सकिन्छ। मध्यावधि निर्बाचन एकताको लागि हो। पार्टी बिभाजन हुन नदिन ओली कामरेडले धेरै मिहिनेत गर्नु भो । उनले प्रतिनिधि सभा विघटन अग्रगामी र क्रान्तिकारी कदम भएको बताए। आफूहरूले नयाँ क्रान्ति गर्नुपर्ने र ‘संसद विघटन अग्रगामी र क्रान्तिकारी कदम भएको बोले । विघटित संसद पुनर्स्थापना हुन्छ भन्नु पश्चगामी हो। निर्वाचन हुनु अग्रगमन हो। हामीले निर्वाचनबाट दुई तिहाइ ल्याउनु पर्छ,’।
त्यो बादलको स्वर घनघोर बर्षा गराउने थियो भने यो बादल सुर्वालमा पिसाब फेर्दै खस्केको आवाजमा धोद्रो स्वरमा करकर गरेको आवाजमा खड्ग प्रसाद्को जयजयकार गरेको बिद्रुप दृश्यले म पानी पानी भएँ ,लज्जित भएँ। त्यो बादलको नाम सुन्ने बित्तिकै दुश्मनको मुटुको धमनी खल्बलिन्थ्यो। भैरबनाथ गणको एउटा सिपाहीले भनेको सम्झें। ‘बादल त खत्रा छ रे गुरु भेट भाछ त ? त्यो सिपाहीले आजको बादलको कुरो सुनेका भए उसको ‘ खत्रा’ भन्ने भ्रमबाट पनि मुक्त हुन्थ्यो होला। संसद बिघटनलाई ‘अग्रगमन’को जामा पहिर्याउने बादलले अक्मकाऊंदै उल्टो कुतर्क गरेको सुन्दा उनले प्रयोग गरेको शब्दले समेत लज्जाबोध गरेको हुनुपर्छ। भात खानलाई मुन्छेले कतिसम्म नीच पदावलीको प्रयोग गर्छ भन्ने यो एउटा गतिलो उदाहरण हो।
संसदले जनजीविकाको हल गर्छ कि गर्दैन यसमा शंका पनि छ र बहस पनि छ तर यो बादलले यसलाई ‘पश्चगमन’ भन्नु कायरता ,घृणा र गोबर बुझाई वा बुझपचाई शिवाय अरु के हुन सक्ला ? संसद पुनर्स्थापनामा प्रतिक्रान्तिको खतरा देख्ने यो बादल के हिजोकै त्यो बादल होला र ! १ खड्क प्रसादले यस्तो भन्नुमा कुनै आश्चर्य हुँदैन किनकि यो उनको स्वभाव, बुझाइ र गणतन्त्रलाई हेर्ने उनको पुरानो बानी हो। बयल्गाडे गणतन्त्र उनको रुचिको बिषय होइन। यो उनलाई पहिला देखिनै बिझाऊँदै आएको हो। उनि अब प्रतिगमन र प्रतिक्रान्तिका खलनायक हुन् भन्नेमा कुनै शंका छैन। यो बादल पनि प्रतिक्रान्तिको बिजयोत्सव मनाउन धुँवा बनेर मडारिने तर्खरले जनताका आँखा अहिले देखिनै पिरो हुन थालेका छन्। बादल लागेपछि पानी पर्छ भन्छन तर बादल भने गर्मी नचढ्दै गोबरकै गुइंठो भएको कुराले भने सबैलाई स्तब्ध बनाएको छ।
वि.सं.२०७७ पुस १० शुक्रवार १६:५६ मा प्रकाशित






























