
हाम्रो हाल बबाल गर्न तिमीले कहाँ सिकेको भन ?
देखायो कुन दुष्टले र कसको जालै छ पार्ने भन ?
पुर्खाका कतिथे अपूर्व सपना पाखा लगायौ कि न ?
गर्छाैँ देश विकास लौ भनी कताआँखा लगायौ भन ?१।
कस्तो मान पुगेन र भन त्यहाँ लुछा चुँडी यो गर्याै,
कस्को निम्ति मर्याै र मारि जनता घ्याम्पो त आफ्नै भर्याै ?
मुर्झाए सपना र थाकी विपना कैलै नउठ्ने भए ,
गर्छाै देश विकास रे अब कतै कोही न जुट्ने भए ।२।
चुनावी ननिको रचेर भुमिका खाली पछार्छाै किन ?
कयौँ यी जनता लुटेर यसरी लाठी बझार्छाै किन ?
पर्देशी जगमा पठाइ जनता खायौ रेमिटान्स कति ?
साँढे भै जुधँदा सधैँ भरि तिमी होला नि यस्ले खति ।३।
आफ्नै पौरखमा खनेर हरिया पाखा सिगार्ने भए,
खायौ के सपथै बनाउन भनी उल्टै बिगार्ने भए ।
फैलायौ हतियार साधु जनता साथी भए तारन,
पोखी भल्भल आँसु धार धरती रुन्छिन् यही कारण ।४।
कैले साँध सिमा अतिक्रमणको व्यथा यहि पर्याे,
कैले रोगहरु अनेक तरहका झेलेर मर्नै पर्याे ।
आतङ्की समयै बिते कति यहाँ बाला अकेला भए,
छारो नेत्र कवै नहाल्नु अबता ती याम तिम्रा गए ।५।
शार्दूल विक्रीडित छन्द
वि.सं.२०७७ पुस ११ शनिवार ०९:५३ मा प्रकाशित






























