
होस् भावना सरल स्वच्छ सदा उज्यालो
आनन्दको पल बितोस् नरहोस् तुवाँलो
आशक्त लोभ धनका लत छन् निकालौँ
दुर्भाव तिक्त मनका जति छन् पखालौँ ।१।
सद्भाव राख रसिला दिलमा अँटाऊ
प्यारो बनेर दुनियाँ सबतर्फ छाऊ
पाइन्छ प्रेम जनको शुभ भाव राखे
सम्मान मिल्छ सबमा कटुता नराखे ।२।
बाधा अनेक पथमा सहजै चढिन्न
सङ्घर्षका रणहरू सब भिन्न भिन्न
सत्कार्य गर्न नभुलौं मनमा विचारी
संसार फैलन सकून् दिलका पुजारी ।३।
आत्मा पवित्र नरहेपछि पाप खेल्छ
जे खेल्छ भाव मनमा उति मात्र लेख्छ
माधुर्य शान्त पनमा जब भाव खुल्छन्
लेखिन्छ सुन्दर नयाँ रस राग फुल्छन् ।४।
सन्देश काव्य रसिला सबमाझ देऊ
खोजेर सुन्दर कुरा मनभित्र लेऊ
सक्छौ त चिन्तन गरे इतिहास नौलो
ब्यूँझेर हेर दुनियाँ किन लाग्छ मैलो ।५।
छन्द-वसन्ततिलका
वि.सं.२०७७ पुस १८ शनिवार ०९:३० मा प्रकाशित





























