
सिरसिरे हावा थामिएपछि
चौतारीमा झरेको
पिपल पातको प्रेमपात्र साक्षी राखेर
तिमीलाई सुनाउदा
भरिएको थियो प्रेमाश्रुले आँखा
बिश्वास थियो
अबिश्वास समाप्त भएर पग्लने छ
पत्थर जस्तो मन
परन्तु
तिम्रो हातले अन्याय गर्यो
च्यात्यौ
मुटु जस्तै पिपलको पातलाई
भुईँमा फ्यालेर पनि कुल्चिएपछि
हेरिरहे
तिम्रो अहंता र क्रुरता भरिएको
रातो अनुहार
लहरामा झुन्डिएको
बन काँक्रो टिपेर चिरेपछि
सलक्क परेको काक्राको चिरा देखाएर
फेरि भनेको थिएँ
काँक्राको गिद्रो जस्तै
मुटु उधारेर लुकाएको छु तिम्रो सग्लो स्वरुप
बाँधेको छु आफैलाई प्रेमपाशमा
बिश्वास खुम्चिएर
मेरो कमलो मुटुका झिल्लिहरू च्यातिन्छन्
प्रिय !
तिम्रो प्रेमपाशबाट फुत्किन सक्दिन म
छोपिदिन्छ
अँध्यारोले नयाँ दिनमा
आँखाको नानी …!
छातीको फ्रेमभित्र हेर
रगत लत्पतिएको छ अनुहारमा
बेदाग आँखा खुलेका छन्
तिर्खाको मुस्कान फुस्किएको छ
तर
कागती झैं आँसु निचरेर पिउँछौ
तिमी आर्तनाद
र
राइतो बनाउने काँक्राको गिद्रो झैं
लाउछौ मुटुमा कोर्याँसो
बिश्वास खुम्चिएर
मेरो कमलो मुटुका झिल्लिहरू च्यातिन्छन्
प्रिय !
तिम्रो प्रेमपाशबाट फुत्किन सक्दिन म
छोपिदिन्छ
अँध्यारोले नयाँ दिनमा
आँखाको नानी …!
वि.सं.२०७७ पुस १८ शनिवार ०९:२७ मा प्रकाशित






























