२८ पौष, काठमाडौं । चन्द्रागिरी हिल्सको आइपीओ भर्ने आज मंगलबार (पुस २८ गते)अन्तिम दिन रहेको छ । चन्द्रागिरीले पुस २४ गतेबाट सर्वसाधारणका दोस्रो चरणको आईपीओ निष्कासन गरेको हो । आज आईपीओमा बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ।
चन्द्रागिरी हिल्सले गत शुक्रबारदेखि १०० रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ०९१ कित्ता सेयरको सार्वजनिक निष्कासन गरेको हो। कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने ७६ हजार ७०५ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ। बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
उक्त आईपीओमा सोमबारसम्म मागभन्दा १५ गुणा बढी आवेदन परिसकेको छ। क्यापिटलका अनुसार सोमबार अपरान्ह ५ बजेसम्म सम्ममा चन्द्रागिरीको आइपीओमा १० लाख ६७ हजार ८९३ आवेदकले आवेदन दिएका छन् । उनीहरुले २ करोड १० लाख ५२ हजार ३२० कित्ता खरीदका लागि आवेदन दिएका छन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन पाउनेछन् । यसमा नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन पाइनेछ । यो आईपीओको निष्कासन बन्द छिटोमा पुस २८ गते र ढिलामा माघ ९ गते बैंकिङ समयपछि हुनेछ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर ३ गते चुक्तापुँजीको १२ प्रतिशतले हुन आउने १८ लाख ४० हजार ९१० कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। दोस्रो चरणमा भने कम्पनीले चुक्तापुँजीको १० प्रतिशतले हुन आउने रकम बराबरको आईपीओ निष्कासन गरेको हो ।
पहिलो चरणमा कम्पनीले २ प्रतिशतले हुन आउने ३ लाख ६ हजार ८१९ कित्ता आयोजना प्रभावितका लागि निष्कासन तथा बाँडफाँड भइसकेको छ। चन्द्रागिरीको आइपीओमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । यसअघि चन्द्रागिरीले मंसिर १७ देखि पुस १ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई आइपीओ बिक्री गरेको थियो ।
वि.सं.२०७७ पुस २८ मंगलवार १२:२८ मा प्रकाशित



























