काठमाडौं । लकडाउन पछि नेपालमा पहिलो पल्ट चलचित्र प्रदर्शनमा आएको छ । नायक तथा निर्माता शिव श्रेष्ठको निर्माणमा बनेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ आज बाट प्रदर्शनमा आएको हो ।
आइतवार मन्त्रिपरिषद्को बैठकले १० महिनादेखि बन्द रहेको सिनेमा हललाई सञ्चालनको अनुमति दिएको छ । तर, सरकारले सिनेमा हललाई सञ्चालनको अनुमति दिनुभन्दा अगाडि नै नेपाल चलचित्र संघले पुष १० गतेबाट एकतर्फी रुपमा हल खोल्ने घोषणा गरेको थियो । मन्त्रिपरिषद्को बैठकले सिनेमा हल खोल्न अनुमति दिएपछि भने हल सञ्चालकहरुले राहतको सास फेरेका छन् ।
तर, सिनेमा घरहरु सञ्चालनमा आएपनि दर्शक उपस्थिति उत्साहजनक छैन । एकातिर कोरोनाको भय र अर्कोतिर पुराना चलचित्र चलेका कारण पनि हलमा दर्शक आउन नसकेको हल सञ्चालकहरुको भनाई छ । नयाँ चलचित्र प्रदर्शन भएपछि सुनसान हल दर्शकले भरिनेमा उनीहरु विश्वस्त छन् । तर, तत्काल नयाँ चलचित्र प्रदर्शन गर्ने जोखिम उठाउन निर्माताहरु तयार देखिएका छैनन् ।
आजदेखि प्रर्दशनमा आएको चलचित्रमा शक्ति श्रेष्ठ, कविता मानन्धर, प्रियंका कार्की, बर्षा बस्नेत, बशुन्धरा भुसाल लगायतका थुप्रै कलाकारहरुको अभिनय रहेको छ ।
वि.सं.२०७७ माघ १ बिहीवार १४:१५ मा प्रकाशित





























