back
CTIZAN AD

व्यवसायिक कागती खेतीमा रमाउँदै प्युठानका किसान

वि.सं.२०७७ माघ २ शुक्रवार

846 

shares

२ माघ, झिमरुक । प्युठानको ऐरावती गाउँपालिका–६ काल्नेका ७७ वर्षीय वृद्ध डोरबहादुर खड्का व्यावसायिक कागती खेतीमा रमाइरहेका छन् । उनका छोरा भरतको आर्थिक लगानी र सहयोगमा उनले विगत पाँच वर्षदेखि व्यावसायिक कागती खेती गर्दै आएका छन् । विसं २०७२ मा ४०० बिरुवाबाट कागती खेती शुरु गरेको उनी बताउँछन् । पछिल्ला वर्षमा कागतीका बोट वृद्धि गर्दै हाल साना–ठूला गरेर एक हजार कागतीका बिरुवा आफ्नो बारीमा रहेकोे उनले बताए । आफ्नै करिब ४० रोपनी क्षेत्रफलमा कागती खेती गर्दै आएको उनी बताउँछन् ।
“यत्तिकै बस्यो भने अनेकन रोग लागेर बिरामी भइन्छ, मेहेनत गर्यो भने परिश्रमको फल मिठो हुन्छ”, उनले भने “परिश्रमी बन्न कागती खेती गर्दै आएको हूँ ।”

तत्कालीन जिल्ला कृषि विकास कार्यालयबाट ४०० बिरुवा ५० प्रतिशत अनुदानमा पाएपछि उनले कागती खेती शुरु गरेका हुन् । त्यसपछि ऐरावती गाउँपालिका कृषि शाखाबाट ५० प्रतिशत अनुदानमा ६०० बिरुवा थपी एक हजार बिरुवा पुर्याएको उनले बताए ।

एक हजार बिरुवामध्ये हाल ६०० बिरुवाले फल दिइरहेको र अन्य बिरुवा फल्ने अवस्थामा रहेको उनले बताए । लामो समयसम्म गाउँमै तरकारी खेती गर्नुभएका डोरबहादुरले तरकारी खेतीलाई समय दिन नसकेपछि कागती खेती शुरु गरेको बताए । अघिल्लो वर्षमा रु ३५ हजार बराबरको कागती बेच्न सफल भएको उनले बताए । कागती गाउँघरसँगै बजार क्षेत्र बिजुवारमा पुर्याएरसमेत बेच्ने गरेको उनी बताउँछन् ।

करिब रु तीन लाख लगानीमा कागती खेती गरिएको उनी बताउँछन् । यस वर्षमा भने कागती बोटबाट झरेर घाटा भएको डोरबहादुरका छोरा भरतले बताए । उनका अनुसार करिब चार क्विन्टल कागतीका दाना झरेर खेर गएको छ । वैशाखदेखि यता दुई क्विन्टल कागतीका दाना बेचेको उनले बताए ।

जिल्लाको स्वर्गद्वारी नगरपालिका–९ लामाचौरका पूर्णप्रसाद कालाथोकीले पनि व्यावसायिक कागती खेती गर्दै आएका छन् । उनले माण्डवी गाउँपालिका–३ साजपानीमा चार वर्षदेखि कागती खेती गर्दै आएका हुन् ।

एकचालीस वर्षीय कालाथोकीले ३४ रोपनी जग्गामध्ये आधा क्षेत्रफलमा ३५० कागतीका बिरुवा लगाएका छन् । उनले लगाएकामध्ये केही कागतीले यस वर्षदेखि फलसमेत दिन शुरु गरेका छन् । कागती खेतीबाट मासिक रु एक लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्यसहित कागतीका बिरुवा एक हजार लगाउने लक्ष्य कालाथोकीको रहेको छ । त्यस्तै कागती लगाएर बचेको बाँकी जमिनमा हलेदो, अदुवा लगाएको र दालचिनी लगाउने उनको योजना छ ।

स्वदेशमै केही गर्नपर्छ भन्ने उद्देश्यले कागती खेती गरेको र यसले प्रतिफल पनि राम्रो दिने आशा गरेको उनले बताए । कागती खेती गर्नका लागि गाउँपालिकाले ५० प्रतिशत अनुदानमा बिरुवा उपलब्ध गराएको थियो । वर्षमा एकपटक मलजल गरेर पुग्ने कागती खेती अन्य खेतीको तुलनामा सजिलो खेती हो । गाउँपालिकामार्फत एक घर एक धारा निर्माणको अभियानले सिँचाइका लागि एक धारा निर्माण गरिदिएपछि थप सहजता प्रदान गरेको छ । आगामी दिनमा कागती सिँचाइका लागि प्लाष्टिक पोखरी निर्माण गरी पानी सङ्कलन गर्ने योजना बनाएको समेत उनले बताए ।

यस स्थानमा जग्गा खरिद र कागती खेतीसँगै अन्य कामका लागि करिब रु ५० लाख खर्च भइसकेको कालाथोकीले बताउनुभयो । सडकदेखि टाढा रहेकाले उनले कागती खेतीसम्म पुग्नका लागि आफ्नै लगानीमा करिब ५०० मिटर सडकसमेत निर्माण गरेका छन् । आफूसँगै कागती खेतीको रेखदेख र स्याहारसुसारका लागि एक कर्मचारीसमेत राखेका छन् ।

त्यस्तै ऐरावती गाउँपालिका–२ हारबुङका कमलसिंह गुरुङले पनि कागती खेती गर्दै आएका छन् । गुरुङले करिब सात रोपनी जग्गामा साना ठूला गरेर ४०० कागतीका बिरुवा लगाएका छन् । विसं २०६४ देखि ५० बोटबाट कागती खेती शुरु गरेको गुरुङले बताए । उनका अनुसार हाल ५० बोट फल्ने गरेका छन् भने अन्य केही बोट अर्काे वर्षदेखि फल्नेछन् । कबुलियती वनको अनुदान र आफैँ कलमे बनाएर कागतीका बिरुवा लगाएको उनले बताए ।

गत वर्ष चार क्विन्टल कागतीका दाना र ८० लिटर रस बेचे पनि यस वर्ष असिनाले दाना झार्दा आम्दानी घटेको उनले बताए । गुरुङले कागतीको नर्सरीसमेत राखेका छन् । उनको नर्सरीमा दुई हजार कागतीका बिरुवा छन् । कागतीसँगै गुरुङ परिवारले ५०० बोट टिमुर, ६५ बोट मौसम, ४५ बोट कफीसमेत लगाएको छ ।

जिल्लामा परम्परागतरूपमा गरिँदै आएको कागती खेतीलाई पछिल्लो समय व्यावसायीकरण गरिएको छ । जिल्लाको ऐरावती गाउँपालिका, झिमरुक गाउँपालिका, प्युठान नगरपालिका, नौबहिनी गाउँपालिकाका केही क्षेत्रका किसानले पछिल्लो समय व्यावसायिकरूपमा कागती खेती गर्दै आएका छन् । रासस

वि.सं.२०७७ माघ २ शुक्रवार ०९:०७ मा प्रकाशित

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

राँझा (बाँके) । जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी...

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

देवचुली नगरपालिका–१५ स्थित जनज्योति माध्यमिक विद्यालयमा ‘जनज्योति स्काउट ट्रुप’को आयोजनामा...

भन्सार छलेका रु ४१ लाख बढीका सामान बरामद

भन्सार छलेका रु ४१ लाख बढीका सामान बरामद

लुम्बिनी । रुपन्देही प्रहरीले जिल्लाको भैरहवामा एक व्यापारीको गोदामबाट मङ्गलबार...