
रक्ताम्य सडक माथि
सहिदका सपना विक्रीगर्न
पालैपालो
पलेटीकसेर बस्छन्
कुहिराको काग बनेका
केही हूल व्यापारी मानिसहरू ।
उनीहरूको युगान्तकारी क्रान्तिमा
सडक प्रदूषित पार्नु
र
सत्ताको ऐश्वर्य भोग्नु
उत्तम पेशा र पवित्र कर्म ठानिन्छ ।
गरीबको आँसुमा प्यास बुझाउँने
संसारका कुनै शासक
गरीबका सुन्दर सपना लुटेर
सत्ताको छानो टाल्छ र एक्लै ओतिन्छ
परिवर्तनको सूत्र
गद्धीको दायाँबायाँ दराजमा थुनेर
शव्दको गुलाम बनाउँछ ।
महान् शहीद
सडकको चिसोचोकमा बसेर
आफ्ना सपना लुटिएको
टुलुटुलु हेर्दैगरेको
विवश र मार्मिक दृश्य
ओझेलमा परेको
कुरुप समय हो यो ।
वि.सं.२०७७ माघ १७ शनिवार ०७:०९ मा प्रकाशित






























