१९ माघ, रौतहट । राजदेवी नगरपालिकाका उपप्रमुख अंशुु सिंहले नगर प्रमुख धीरेन्द्र सिंहले एकलौटीरुपमा नगरसभा गरेको आरोप लगाएका छन् ।
आफूसँग कुुनै छलफल नै नगरी भ्रष्टाचार गर्ने मनस्थितिले प्रमुख सिंहले एकलौटीरुपमा बन्द कोठाभित्र नगरसभा गरेको यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले सो आरोप लगाएका हुन् ।
राजदेवी नगरपालिकाको पाँचौँ नगरसभा शनिबार नगरपालिकाको कार्यालयभित्र बन्द कोठामा सम्पन्न भएको थियो । खुुला ठाउँमा पारदर्शी ढङ्गले नगरसभा गर्न आफूले पटकपटक आग्रह गर्दा पनि आफनो कुरालाई अटेरी गर्दै प्रमुख सिंहले बन्द कोठाभित्र नगरसभा गरेको उनको भनाइ थियो ।
एकलौटीरुपमा कार्यपालिका सदस्यलाई बोलाएर प्रमुख सिंहले बैठक गरेको र आफूखुुशी नीति तथा कार्यक्रममाथि छलफल गरी घरघरमा पुुगेर हस्ताक्षर गराएकोे बताउँदै उनले गत आर्थिक वर्षको बजेट तथा कार्यक्रममाथि कुुनै छलफल नभएको र आफूसँग कुुनै छलफल नगरी नगरप्रमुखले एकलौटीरुपमा आफ्नो खुुशी योजना ल्याएर नगरसभाबाट जबरजस्ती पास गराएको आरोप लगाए ।
नगरसभामा गएर आफुूले आफ्ना कुुरा राख्न चाहेको भए पनि प्रमुखले आफूलाई प्रवेशसमेत गर्न नदिएको दुखेसो व्यक्त गर्दै उनले स्थानीय सरकार सञ्चालन गर्न बनेको ऐन, नीति तथा कानूनविपरीत आफूलाई बाइपास गरी नगरसभा गरेकोमा आपत्ति जनाए ।
नगरप्रमुख सिंहले नीति तथा कार्यक्रमबारे छलफल गर्न कार्यपालिका बैठकमा उपप्रमुखलाई बोलाउँदा नआएको बताए । आफूले सबै कार्यपालिका सदस्यको सहमतिमा नै नीति तथा योजना ल्याई नगरसभा गरेको उनको भनाइ छ ।
रासस
वि.सं.२०७७ माघ १९ सोमवार ११:५८ मा प्रकाशित






























