back
CTIZAN AD

डा.दाहालको ‘मभित्रको महाभारत’ पढेपछि…

वि.सं.२०७७ फागुन २ आइतवार

1.3K 

shares

मान्छेको शरीर–विज्ञान पढेर परिपक्व भएका झापानिवासी डा. खगेन्द्रप्रसाद दाहालले भर्खरै ‘मभित्रको महाभारत’ नामको कविता सङ्ग्रह प्रकाशित गरेर विश्वदृश्यात्मक विधिबाट उक्त कृति लोकार्पणसमेत गरिसकेका छन् ।

अत्यन्त मिजासिला र विनम्र स्वभावका डाक्टर खगेन्द्रले जब श्रद्धा र प्रेमका साथ आफ्नो कृति घरमै ल्याएर मेरो हातमा दिए, उनको भद्रता र सरलताबाट म छिनमै प्रभावित भइहालेँ । त्यसैदिन कृति आद्योपान्त पढेर सिध्याएँ पनि । कृति पढिसकेपछि यसका बारेमा केही लेख्ने चाहनालाई रोक्न सकिनँ । यी अक्षरहरू त्यही चाहनाका उपज हुन् । यो ‘मभित्रको महाभारत’ कृति पढिसकेपछिको मेरो ‘प्रतिक्रिया’ हो, समालोचना गर्ने मेरो सामर्थ्य पटक्कै छैन ।

जीवन र मृत्युलाई सबभन्दा नजिकबाट नियाल्ने भनेकै डाक्टरहरू हुन् । डाक्टरले आफूकहाँ आउने हरेक बिरामीको मनोदशा पढेको हुन्छ, उसको शारीरिक मात्र हैन मानसिक पीडालाई पनि अन्तर्हृदयदेखि महसुस गरेको हुन्छ, पेसागत काममा धेरै ठाउँ घुम्नुपर्ने हुँदा समाजका विसङ्गति, विकृति, गरिबी आदिसँग पनि उत्तिकै परिचित भएको हुन्छ । आर्थिक, सामाजिक गतिविधिलाई साक्षात्कार गर्नुका साथै ऊ प्रकृतिसँग समेत आत्मीय बन्न पुगेको हुन्छ । सोचौँ त मानवीय संवेदना र मृत्युलाई यसप्रकार नजिकबाट नियालेको एउटा डाक्टर जब साहित्य सिर्जनातिर लाग्दछ उसको साहित्य कति उत्कृष्ट हुन्छ होला ? साँच्चै भन्नु पर्दा एउटा डाक्टरसँग साहित्यसिर्जनाका लागि यति धेरै कच्चा पदार्थ उपलब्ध हुन्छन्, ती अनुभूतिलाई मात्र व्यक्त गर्न सके उसले कल्पनाको आकाशमा धेरै उडिरहनु नै पर्दैन । प्रत्यक्ष भोगाइ र बुझाइबाटै उसले गुणस्तरीय कृति उत्पादन गरी बौद्धिक खुराकको रूपमा वितरण गर्न सक्छ । डा. अञ्जनीकुमार शर्मा, डा.भोला रिजाल, डा. रवीन्द्र समीर, डा.अरुण सायमीहरूले यसको प्रमाण दिइसकेका छन् र यसलाई निरन्तरता दिँदै अहिले आफ्नो कृति ‘मभित्रको महाभारत’ लिएर नेपाली साहित्य जगत्मा डा.खगेन्द्रप्रसाद दाहाल उपस्थित भएका छन् । ‘मभित्रको महाभारत’ कवितासङ्ग्रह डा.खगेन्द्रप्रसाद दाहालको पहिलो कृति हो । यसमा कविहृदयबाट उद्वेलित भएर आएको भाव छताछुल्ल पोखिएको छ । अचम्म त के छ भने यहाँ एक चिकित्सकले आफूले देखेका भोगेका र अनुभूत गरेका कुरालाई गद्यमा हैन पद्यमा, छन्दका गति, यति, लय र गणमा बाँधेर त्यो पनि ५० भन्दा बढी छन्दको प्रयोग गरी १०७ वटा कविता मार्फत् आफ्ना मनका कुरा पोखेका छन् ।

सर्वप्रथम उनको यो साहस, साधना, तपस्या र सफलता नमनीय छ र प्रशंसनीय छ । डा. खगेन्द्रका कवितामा अध्यात्मको महक छ । सुरुको कवितामा उनी सरस्वतीसँग सिर्जनामा सधैँ रम्न सकूँ भनेर वरदान माग्दै गरेका भेटिन्छन् भने दोस्रोमा मार्गनिर्देशनका लागि गुरुसँग आशीर्वाद मागिरहेका देखिन्छन् । उनका धेरैजसो कविता ‘गीता ज्ञान’बाट प्रभावित रहेका छन् । कतैकतै त उनी जीवनजगत् बुझेका दार्शनिक जस्ता पनि देखिन्छन् । तेस्रो कविता ‘मभित्रको महाभारत’उनको शीर्ष कविता जसलाई उनले कृतिकै शीर्षक बनाएका छन् । यसमा उनले मानवमनमा हुने अन्तर्द्वन्द्वलाई महाभारतको संज्ञा दिँदै मार्गनिर्देशनका लागि कृष्णसँग पुकारा गरेका छन् ।

आफैँभित्र म देख्छु कौरवहरू दुर्भावका डङ्गुर
व्यर्थैको अभिमानले र हठले उभ्याइएको घर
देऊ शीघ्र विवेकशक्ति म चिनूँ पापिष्ठ दुर्योधन,
आऊ कृष्ण ! बसेर यो हृदयमा गीता–सुधा गाउन ।

होलान् द्रोण र भीष्म घोर रणमा छन् बाध्यतामा कति
इच्छाको विपरीत युद्ध छ ठुलो बेमेल होलान् कति
आऊ केशव धर्मयुद्ध छ ममा हौ दुष्टसंहारक
गीता ज्ञानसुधा–प्रदायक हरे ! संसार उद्धारक ।

उनका कवितामा धार्मिक भावनासँगै राष्ट्रप्रेम पनि उत्तिकै छचल्किएको पाइन्छ । उनी कतै देशको छिमेकी नराम्रो परेकोमा पिरोलिएका भेटिन्छन् त कतै प्यारो धरासँग जालझेल नहोस् भन्ने कामना गरिरहेका भेटिन्छन् । कतै नेपाल जम्मै तीर्थस्थल लाग्दछ भन्दै नेपालको महिमा गुणगान गरिरहेका भेटिन्छन् त कतै नेपाली माया मुटुभरि सजाएर गुनगुनाइरहेका भेटिन्छन् । कतै देशको रक्षा गर्न समाज एक बनोस् भनेर समाजलाई एकताका लागि आह्वान गरिरहेका भेटिन्छन् त कतै संसारमै अति सुरम्य छ मेरो देश भन्दै देशको प्राकृतिक सुन्दरता र आफ्नो गौरवशाली इतिहासमा मख्ख परेका भेटिन्छन् । उनले राष्ट्रप्रेमको पुनित भावलाई आफ्ना कवितामा यसरी व्यक्त गरेका छन्–

कतै देश दुख्दा हिया चस्स दुख्छ,
कतै देश डुब्दा स्वयं डुब्छु हुन्छ
छ शृङ्गार मेरो यहीँको पखेरो
ममा मृत्तिकाको छ माया गढेको । (देशप्रेम)

प्यारा छन् वनवाटिका प्रकृतिका हो केन्द्र संसारको
यो लीलास्थल राम कृष्ण शिवको हो तीर्थ संसारको
कैयौँ सुन्दर जीवजन्तु यसमा भर्छन् कला सुन्दर
साँच्चै स्वर्गसमान सुन्दर छ यो नेपाल हाम्रो घर । (नेपाल हाम्रो घर)

खगेन्द्रका कवितामा प्रकृतिप्रेम जताततै पाइन्छ । जागिरको क्रममा उनी पुगेका नेपालका कुनाकन्दराको प्राकृतिक सौन्दर्यलाई महसुस गरेर कवितामा अभिव्यक्त गरेका छन् । उनी कतै हिमालको सौन्दर्यमा मुग्ध बन्न पुगेका छन् त कतै फूलको मनमोहकताप्रति दङ्गदास बनेका छन् । कतै प्रकृतिको मौसमी चालढालमा मख्ख परेका छन् त कतै उसको कहरदेखि छक्क परेका छन् । कविता पढ्दा नेपालको प्राकृतिक छटाले उनमा उर्जा भरेको महसुस हुन्छ । उनको प्रकृतिप्रेम ‘हिमाल’ कवितामा यसरी पोखिएको छ–

रवि नित तल झर्छन् खेल्दछन् शैलसाथ
धवलसँग रमाई भुल्दछन् उष्ण राप
गुपचुप पिरतीमा पल्किई झल्किएहून्
हर कणसँग घुल्दै प्रेमले टल्किएहून् । (हिमाल)

कवि र समाजबिच अन्योन्याश्रित सम्बन्ध हुन्छ । जुन देशमा ऊ जन्मेको हुन्छ, जुन समयमा बाँचेको हुन्छ र जुन परिस्थितिलाई उसले भोगेको हुन्छ तिनै कुराहरूबाट ऊ प्रभावित हुन्छ र तिनैसँग सम्बन्धित भावहरू नै कविका कवितामा प्रतिविम्बित भएका हुन्छन् । खगेन्द्रका कवितामा पनि समय, परिस्थिति र देश टड्कारो रूपमा व्यक्त भएको छ । अहिलेको जल्दोबल्दो समस्या जसले सारा मानव समुदायलाई नै आच्छु–आच्छु पारिरहेको छ, त्यो डरलाग्दो महामारी कोभिड-१९ को छाप उनका धेरै कवितामा भेटिन्छ । उनी कतै कोभिडदेखि त्रसित देखिन्छन् त कतै धैर्य गरी यो सङ्कट टारौँ भन्दै सबैमा हौसला प्रदान गर्दै गरेका भेटिन्छन्, कतै मनको ऊर्जा नघटोस् भनेर प्रार्थना गर्दै गरेका भेटिन्छन् त कतै लकडाउनको पालना गरौँ भन्दै सबैमा चेतना जगाउन प्रयासरत भेटिन्छन् । उनले आफ्नो पेसागत भूमिकालाई पनि साहित्यमार्फत् निर्वाह गर्न खोजेको लाग्छ । आफ्नो चिकित्सक हृदयलाई साहित्यिक र साहित्यिक हृदयलाई चिकित्सक बनाएर बाँचेका खगेन्द्रले दुवैको समन्वय गराउन सकेको भान यी कविताहरूबाट हुन्छ- मान्छे निरीह छन् आज दर्द छोपेर हाँस्दछन् समीप मृत्यु राखेर त्रास पिएर बाँच्दछन् । (कोरोना त्रास) कोभिड हो यो सङ्कट कालो तोड्दछ छिट्टै मानव जालो संयम राखौँ होस जगाऔँ छौँ घरभित्रै अन्त नजाऔँ ।(धेर्य गरि यो सङ्कट टारौँ) देशको विकृत राजनीति, विदेश पलायन भइरहेको युवा जमात, कुलतमा फसेका युवाहरू देखेर आज हरेक नेपालीको मन छट्पटिएको छ ।

यी समस्याबाट कवि खगेन्द्रको मन अझ विचलित बनेको बुझिन्छ । त्यसैले होला उनी कतै विदेश पलायन भएको छोराको विवशता बुझेकी आमाको मार्मिक मनोदशा केलाउँदै गरेका भेटिन्छन् त कतै आमाहरूलाई नै आफ्ना सन्तान बलिया बनाऊ भनेर अनुरोध गरिरहेका भेटिन्छन् । कतै युवा जागरणका लागि आह्वान गर्दै गरेका भेटिन्छन् त कतै बालबालिकालाई तिमी देशका कर्णाधार हौ भनी सन्मार्ग देखाउन तत्पर देखिन्छन् । देशको राजनीति र नेताहरूको चरित्रदेखि वाक्क भएर व्यङ्ग्य प्रहार गर्न पनि उनी उत्तिकै सिपालु देखिन्छन् । समाजमा विद्यमान जातीय विभेददेखि दिक्क मान्दै उनी लेख्छन् – अझै व्यथा छ जीर्ण यो अझै छ प्रेम थर्थर कुरीतिको चिहानमा प्रताडना छ बर्बर छ रूढिवाद गाउँमा जरा फिँजाउँदै घन कहाँ समाज फेरियो छ के नयाँ यहाँ भन । आफ्ना अग्रज र मान्यजनप्रति खगेन्द्र नतमस्तक छन् । गुरु, माता, पिता तथा अग्रज स्रष्टाहरूका बारेमा लेखेर उनीहरूप्रति हार्दिक सम्मान व्यक्त गर्नुले कविको विनम्रता उजागर गरेको छ भने अस्पतालमा रातदिन खटेर बिरामीको सेवा गर्ने परिचारिका(नर्स)लाई समेत हौसला प्रदान गर्दै कवितामार्फत उनीहरूको सेवाको कदर गर्नुले उनको पेसागत सदाशयतालाई बुझाएको छ । समग्रमा भन्दा `मभित्रको महाभारत´ यस्तो कविता सङ्ग्रह हो जसमा विविध रसको आस्वादन गर्न पाइन्छ । कविले विविध विषयलाई यसमा समेटेका छन् । धर्म, संस्कार, जीवनदर्शन, प्रेम, आक्रोश, द्वन्द्व, सान्त्वना, प्रार्थना, सचेतना, व्यङग्य, विसङ्गति, असन्तुष्टि, उत्साह, अपेक्षा आदि सम्पूर्ण भाव एउटै कृतिमा पाउन सकिन्छ । ५० भन्दा बढी साना-ठुला छन्दका लयमा रसिला कविता गुनगुनाउन सकिन्छ साथै सुन्दर र भावमय शब्दले सजिएका सुमधुर कविताबाट आनन्द लिन सकिन्छ । यो सुस्वादु कृतिका लागि कवि खगेन्द्रप्रसाद दाहाललाई अन्तर्हृदयदेखि धन्यवाद । उनको यो कवितायात्रा निरन्तर चलिरहोस् । नेपाली साहित्यले उनीबाट अझ उत्कृष्ट कृतिहरू प्राप्त गर्न सकोस् । उनको नाम नेपाली साहित्याकाशमा चम्किलो नक्षत्रको रूपमा रहोस् हार्दिक शुभकामना ।

 

 

वि.सं.२०७७ फागुन २ आइतवार ११:४७ मा प्रकाशित

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

सुसेली : आदिकविमा समर्पित

सुसेली : आदिकविमा समर्पित

रामप्रसाद अधिकारी अजिरकोट ३ , गोरखा १ भानुका कुरा गर्नुपर्छ...

गजल

गजल

रमा खतिवडा,पोखरा खोज्छ हाँस्दै रम्न सकभर जिन्दगी बन्छ हरपल दु:खको...