मसंग एउटा मन छ जो मसंग पनि हुन्न,
हजार मन हुनेहरु पनि छन्,
कसरी सम्हाल्छन् कुन्नि हजार मनहरु ।
बादल जब आकाशमा धागो फाल्दै हुन्छ,
मेरो मन त्यसैमा टेकेर बतासिन्छ,
लाग्छ दुर्घटना हुन्छ कता
भरै फर्केला नि
मौलोमा बाँध्छु मन ।
घाम त डुब्छ हरेक साँझ
म को हो र तैरिरहने पर्ने भन्छ
बेला–बेला आकाशमा डुब्छ मन,
चन्द्रमा पनि डुब्दै उत्रदै गर्छ त्यसै अँध्यारोमा
एउटा मन सम्हालेको भएपनि
असिमित भँगालोमा बाँडिन्छ मन,
कहिलेकाँही मनको शुक्ष्मता भेट्न सक्दिन मै ।
निखारिन्छु भन्छु,
खारिन्छु भन्छु
झन् बिखरिन्छु
नभए अस्ति लहैलहैमा लागेर सडकमा उभिएको थियो,
ढुङ्गा हान्न बतासलाई,
बतासमा उल्टै ठोकिएर ढुङ्गा
मलाई नै घाइते पारेको थियो
नभए किन छट्पटाइरहेथ्यो एक्लै ।
वि.सं.२०७७ फागुन १५ शनिवार ०६:५० मा प्रकाशित






























