१९ फागुन, काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको एक महिना पुगिसकेको छ । १४ माघबाट लगाउन सुरु गरिएको यो खोप ५ लाख बढीले लगाइसकेका छन् ।
सुरुवाती चरणमा कोरोना खोप लगाउँदा हुने असरहरुबारे जानकारी नहुँदा खोप लगाउन आनाकानी गरिएपनि पछिल्लो चरणमा भने खोप लगाउनेको संख्या बढिरहेको छ ।
तर खोप लगाउने क्रममा केही अप्ठेरा तथा असहजताहरु पनि देखिएका छन् । त्यसमध्ये पोशाक पनि एक देखिएको छ । खोप लगाउन जाने क्रममा सहि पोशाकको चयन नगर्दा खोप लगाउने तथा लगाइदिनेहरुमा असहजता देखिएको हो । यसका विषयमा डा. रविन्द्र पाण्डेले खोप लगाउन जाँदा चयन गर्नुपर्ने पोशाकका बारेमा सर्वसाधारणका लागि यस्तो जानकारी दिएका छन् ।
डा. पाण्डेले खोप लगाउन खोप केन्द्रमा जाँदा टाइट स्वेटर, कुर्ता, हाइनेकजस्ता अप्ठ्यारा कपडा लगाउँदा समय नष्ट हुने तथा अप्ठ्यारो गरेर खोप लगाएको देखिएकोले यस्ता अप्ठ्यारा कपडा लगाउँदा ९० डिग्री गरेर खोप लगाउन गाह्रो हुने बताउँछन् । उनका अनुसार कतिपय अवस्थामा खोप लिक हुनपनि सक्छ ।
त्यस्तै कतिपय व्यक्तिले भित्रि बस्त्र देखिने गरि निकै अप्ठ्यारोसंग खोप लगाएको देखिएकाले खोप लगाउन जाँदा भित्र हाल्फ टि सर्ट र बाहिर ज्याकेट लगाएमा ज्याकेट खोलेर तथा हाल्फ टि–सर्टको बाहुला माथि सारेर सजिलोसंग खोप लगाउन सकिने सुझाव दिन्छन् डा पाण्डे ।
‘खोप लगाउन जाँदा नुहाएर, खाना तथा झोलिलो कुरा प्रशस्त खाएर जानुपर्छ । यसो गर्दा प्रेसर र सुगरको मात्रा कम भएर रिंगटा लाग्ने, वाकवाकी लाग्ने, चक्कर आउने सम्भावना कम हुन्छ’ डा. पाण्डे सुझाव दिन्छन्, ‘खोप लगाउन जाँदा मानसिक रुपमा कन्भिन्स र तयार भएर जानुपर्छ । शंका र कन्फ्युज भएर खोप लगाउनु हुँदैन ।’
त्यस्तै खोप लगाएर आधा घण्टा खोप केन्द्रमा बसेपछि त्यो दिन आराम गर्ने, झोलिलो खाना खाने तथा धपेडी नगर्नु उपयुक्त हुने र खोप लगाएपछि सकभर २ महिना मदिरा सेवन नगर्न पनि डा. पाण्डेको सुझाव छ ।
सरकारले कोरोना भाइरस विरुद्धको पहिलो चरणको खोप, कोरोना भाइरस विरुद्धको लडाइमा खटिएका चिकित्सक, सुरक्षाकर्मी, स्वयम्सेविका, एम्बुलेन्स तथा शब बाहन चालक, पत्रकार, कुटनीतिज्ञ लगायतमा लगाइएको थियो । साथै सरकारले फागुन २३ गतेदेखि दोश्रो चरणको खोप जेष्ठ नागरिकहरुका लागि लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७७ फागुन १९ बुधवार १३:१४ मा प्रकाशित






























