चैत ३, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटगत भेला गरे स्वीकार्य नहुने बताएका छन् । मंगलबार बालुवाटारमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘सर्वोच्चको फैसलापछि पार्टी २०७५ जेठ ३ अगाडि फर्कियो भन्दा छुट्टै भेला गरेर निहुँ खोजिएको छ, राष्ट्रिय भेलाबाट समानान्तर कमिटी बनाउने अरे, कसैले अर्को पार्टी कमिटी बनाउन सक्छ समानान्तर कमिटी होइन,’ ओलीले भने, ‘अराजकता, अनुशासनहीनता जस्ता कुरा, एकता विरोधी कुरामा छुट हुने छैन, अचाक्ली भयो ।’
उनले माधव पक्षले गर्न लागेको भेला अनुशासनहीनताको पराकाष्टा भएको टिप्पणी गरे । उनले भेला गर्नेलाई कारबाहीसमेत हुनसक्ने चेतावनी दिए ।
‘गुटगत भेला गर्ने, समूहलाई आफ्नो पक्षमा लिएर पार्टीको विधान, अनुशासनविपरीत कार्यक्रम गरिएको खण्डमा विधानअनुसार कारबाही गरिनेछ’, अध्यक्ष ओलीले भने।
उनले माधव पक्षले गर्ने भेलामा सहभागी नहुन पनि नेता तथा कार्यकर्तालाई सचेत गराएका छन् ।
‘सुन्दैछु भोलि भेला आयोजना गरेको छ रे। नेकपा एमालेसँग आवद्ध, सम्बन्ध कोही नेता वा कार्यकर्तालाई गुटगत भेला नगर्न, नगराउन र त्यस्ता भेलामा सरिक नहुन नजान सचेत गराउन चाहन्छु’, अध्यक्ष ओलीले भने, ‘पार्टी एकताको पक्षमा बस्न आग्रह गर्न चाहन्छु। त्यस्ता गुटगत भेलामा सरिक नहुन तमाम् कार्यकर्तालाई अनुरोध गर्छु।’
बालुवाटारमा गरिएको चियापान उपस्थित नभएको भन्दै ओलीले माधव नेपाल पक्षप्रति आक्रोश व्यक्त गरे । ‘नाम लिन परेन, कसले बोलाएको चियापानमा जानुहुन्छ उहाँहरू, सबैलाई थाहा छ,’ ओलीले भने ।
वि.सं.२०७७ चैत ३ मंगलवार १४:२१ मा प्रकाशित






























