
४ चैत, दाङ । आफ्नो प्रेम प्रस्ताव स्वीकार नगरेको भन्दै एक युवकले प्रेम दिवसकै दिन युवतीको हत्या गरेको खुलेको छ ।
सल्यानको त्रिवेणी गाँउँपालिका १ तल्लो काभ्राकी १६ वर्षीया कविता बोहोराको एकतर्फी प्रेम गरेका सोही गाउँका १६ वर्षीय कृष्ण थापाले हत्या गरेको अनुसन्धानमा खुलेको छ ।
हत्या आरोपि थापालाई एकवर्षपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्ने क्रममा थापाले आफुले हत्या गरेको स्वीकारेको बुधबारको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।
२०७६ फागुन २ गते प्रेम दिवसको दिन राति झण्डै १२ बजे बोहोराको हत्या भएको थियो । कवितालाई थापाले एकतर्फी रुपमा प्रेम गरेको र प्रेम नस्वीकारेपछि आफूले हत्या गरेको उनले प्रहरीलाई बयान दिएका छन् । ‘मेरो हुँदैन भने उसलाई कसैको हुन दिन्न भनेर हत्या गरेको हुँ,’ प्रहरीसँगको बयानमा उनले भने, ‘अरुसँग प्रेम गाँसेको थाहा पाएपछि हत्या गरेको हुँ ।’
फागुन २ गते राति १२ बजेतिर गोठ नजिकैके भकारीको डिलमा बसेर कविताले मोवाइलमा कुरा गरिरहेको अवस्थामा थापाले खुकुरी प्रहार गरेको अनुसन्धानमा खुलेको छ । कविता जनता मावि काभ्रामा ९ कक्षामा अध्ययनरत थिइन् ।