
चैत ४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा एमालेको माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएको छ । राष्ट्रिय भेलाको बीचमा ओलीले बैठक बोलाएको भन्दै माधव पक्षले नजाने बताएको हो ।
माधव नेपाल पक्षका नेता योगेश भट्टराईले बैठकप्रति आपत्ती नभए पनि नेताहरुको समय व्यस्तताका कारण आफुँहरु अनुपस्थित हुने जनाए ।
‘प्रधानमन्त्रीले संसदीय दलको बैठक बोलाउनुभएको छ, आज मात्रै एसएमएसबाट बैठकको सूचना आएको’ भट्टराईले भने, ‘संसदीय दलको बैठकमा जान्छौं, आपत्ति होइन, तर भेलाको कार्यव्यस्तताका कारण आउन सक्दैनौं भनेर हामीले विनम्रताका साथ भनेको छौं।’
बुधबारदेखि माधव पक्षको राष्ट्रिय भेला चलिरहेको छ । यसअघि प्रधानमन्त्रीसमेत रहेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय भेला नगर्न चेतावनी दिएका थिए । उनले भेला गरिए कारबाही गर्ने पनि चेतावनी दिएका थिए ।
भेलालाई प्रभावित बनाउने उद्देश्यस्वरुप ओलीले दलको बैठक बोलाएका हुन् । ओलीले बिहिबार ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा एमाले संसदीय दलको बैठक बोलाएका छन् ।