back
CTIZAN AD

होलीको आगमनसँगै गाउँ–गाउँमा शुरु भयो जोगिरा

वि.सं.२०७७ चैत ५ बिहीवार

561 

shares

५ चैत्र, महोत्तरी । उमेरले ५५ कटिसकेको भए पनि अचेल साँझ पर्नेबित्तिकै जलेश्वर नगरपालिका–८ बजराहीगाउँ बस्ने अरुण पाण्डे हातमा डम्फु र झ्याली समातेर गाउँको चोकमा पुग्ने गर्छन् । उनीसँगै स्थानीय ५० वर्षीय रामदेव महरा, ४५ वर्षीय पवित्तर साह र अन्य कैयौँ व्यक्ति आ–आफ्ना घरबाट निस्केर आउँछन् र चोकमा जम्मा हुने गर्छन् ।

केही दिनयतादेखि उनीहरुको यो दैनिकीजस्तै भएको छ । उनीहरु साँझ पर्नासाथै गाउँको चोकमा कुनै सभा, सम्मेलन, बैठक, बहस वा छलफल गर्नका लागि भने जम्मा हुने गरेका होइनन् । बरु आपसी भाइचारा, प्रेम सद्भाव, सुखदुःख साटासाट गर्न र परम्परादेखि चल्दै आइरहेको जोगिराको संरक्षण र प्रवद्र्धनका लागि हिजोआज दैनिकरूपमा यसरी जमघट गरेका हुन्।

उनीहरु साँझको त्यस्तै ७ बजेतिर यसरी जम्मा भएपछि शुरु हुन्छ जोगिरा गान । जब सँझ शान्त र सुनसान बन्दै जान्छ अनि उहाँहरुको स्वर र सङ्गीतले टोलबासीलाई नै मुग्ध बनाउने गर्दछ । गाउँघरमा प्रायः साँझको ७ बजेपछि बेलुकाको खाना खाइसक्ने गरिन्छ । अनि त्यसपछि शुरु भएको जोगिरा (होलीका गीत) ले गाउँलेलाई आनन्द पनि दिने गर्दछ भने कतिपय जोगिराको डम्फु बज्न थालेपछि चोकमा नै आइपुग्दछन् । यसरी साँझको शान्त समयमा एकै स्वरमा लय हालेर सबैले गाएको जोगिरा सुन्दा जोसुकैलाई पनि आनन्द दिन्छ । जोगिरा गीत र यसको धुनले सबै गाउँले खुशी हुने गर्दछन् ।

हात–हातमा ढोल, तासा, मृदङ्ग, डम्फु, झ्यालीलगायतका बाजाहरु लिएर विभिन्न धुन र सङ्गीत सृजना गर्दै उनीहरुले शुरु गर्ने जोगिरा रातको कम्तीमा पनि ११÷१२ बजेसम्म निरन्तर रुपमा चलिरहन्छ । रात ढल्किदै जाँदा गाउँ टोल थप सुनसान हुन पुग्छ अनि गीतको स्वर र बाजा थप चर्को सुनिन थाल्छ । तर पनि गाउँलेलाई झर्को लाग्दैन, बाजाको चर्को आवाजले सुत्न नपाएको भनेर रिस उठ्दैन । बरु केहीले घरबाटै सुन्ने गर्दछन् भने अधिकांश चोकमा जम्मा भएर गायनमै सहभागी हुने गर्दछन् ।

विभिन्न प्रकारका गीत, चुटकिला, हाँसो ठट्टा र मानिसलाई हँसाउने तथा जिस्क्याउने तीतामिठा वाक्य र शब्दलाई लयमा ढालेर गाइएको जोगिरा सुन्न र हेर्न गाउँलेहरुको भीड लाग्ने गर्दछ । त्यस्तै जोगिराको क्रममा हुने नाचगानमा समेत ठूलो सङ्ख्यामा सहभागी हुने गरेकोे होलैया (जोगिरा गाउने) रामबाबु चौधरीले बताए । जलेश्वरको वडा नं ८ को जोगिरा टोली निकै चर्चित र नाम चलेको भए पनि जलेश्वरकै वडा नं ७ मा पनि बर्सेनि जोगिराले धुम मच्चाउने गर्दछ ।

वडा नं ७ का वडाध्यक्ष रामछविला यादव स्वयं पनि होलैया भएको कारण अहिले त्यस वडामा पनि होलीको अवसर पारेर जोगिरा गाउनकै लागि युवाहरु देश परदेशबाट आ–आफ्नो गाउँ फर्किएका छन् । उनीहरु अहिलेदेखि नै जोगिरामा लागिसकेका छन् । यसका कारण जोगिराको धुन गाउँ–टोलमा प्रायः रातभर नै घन्किने गरेको छ ।

खुशी र उमङ्गको पर्व होलीलाई निम्ता दिँदा विगत तीन दिनदेखि वडा नं ७ मा ५० बढी युवा, बयस्क तथा वृद्धसमेत संयुक्त टोलीले जोगिरा गाएर पूरै वडालाई नै सङ्गीतमय बनाएको स्थानीय शङ्कर कापरले बताए। यस वडामा अहिले साँझ पर्नेबित्तिकै होलैयाहरु आएर जोगिरा शुरु गर्ने प्रतिक्षामा घरघरमा महिला, पुरुष तथा बालबालिका र वृद्धवृद्धासमेत बसिरहेका हुन्छन् ।

सम्पूर्ण मिथिलाञ्चलवासीलाई मन पर्ने जोगिरा महोत्तरीको जलेश्वर नगरपालिकामा मात्रै सीमित नभएर जिल्लाको पिपरा गाउँपालिका–७ बनौलीगाउँमा पनि निकै धुमधामका साथ गाइने तथा सुन्ने गरिएको सञ्चारकर्मी एवं होलैयासमेत रहनुभएका स्थानीयवासी वैद्यनाथ चौधरीले बताए । उनले सो गाउँमा पनि परम्पराकालदेखि जोगिरा गाउने प्रचलन रहेको र जोगिरा गाउनका लागि कुनै पनि उमेर समूहले बाधा नपारेको बताउँछन् । सो गाउँमा एउटै मञ्चमा विभिन्न उमेर समूहका व्यक्ति बसेर जोगिरा गाउने, हाँस्ने, हँसाउने, कथा, कहानी र जीवनका अनुभव साटासाट गर्दै देवी–देवताप्रति भक्तिभाव, ठूलालाई आदर सत्कार र सानालाई स्नेह बाँड्ने काम हुने गरेको बताए।

कवि कोकिल विद्यापतिको जन्मथलोसमेत रहेको सो गाउँमा विगत तीन÷चार दिनदेखि रातिको बेला होलैयाहरुको भीड मेलाजस्तै लाग्ने तथा उनीहरुले गाउने गीतले गाउँ नै गुञ्जयमान हुने गरेको छ । होलीपर्वको अवसरमा मिथिला क्षेत्रमा गाइने जोगिराका यी केही प्रतिनिधिमूलक उदाहरण मात्र हुन् भने प्रत्येक वर्षझैँ यस वर्ष पनि होलीपर्वको आगमनसँगै महोत्तरी जिल्लाको गाउँगाउँमा जोगिरा गीत गाउन शुरु भएको छ ।

महोत्तरी जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकाको प्रत्येक गाउँ टोलमा चैत १ गतेदेखि नै रातिको समयमा ढोल, तासा, मृदङ्ग, डम्फु, झ्यालीलयायतका बाजागाजाका साथ जोगिरा गाउन शुरु भएको हो । “मिथिलामे राम खेलैया होली, मिथिलामे । मिथिलामे हो, मिथिलामे हो, मिथिलामे ।” “किनका के सोभे पियरी पितम्बर, किनकाके हाथ अबिर झोली । मिथिलामे” “सीताजीके सोभे पियरी पितम्बर, रामजीके हाथ अबिर झोली । हो मिथिलामे, मिथिलामे राम खेलैय होली, मिथिलामे ।” “रङ बरसे भिगे चुनरबाली रङ बरसे, हो रङबरसे भिगे चुनरवाली रङबरसे ।” प्रायः यिनै शब्दमा गुञ्जिन्छन् हिजोआज यहाँ जोगिरा गीतहरु ।

यस्तै सयौँ गीत, चुटकिला, हाँसो ठट्टा र दुःख बिर्साएर खुशी साटासाट गर्ने महापर्वको होली आगमनको प्रतिक्षामा अहिले महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौतहट, वारा र भारतका मधुबनी र दरभङ्गा जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलमा जोगिरा शुरु भएको हो । जोगिराको धुन र लयले गाउँगाउँलाई सङ्गीतमय पारेका बेला जोगिरा गाउनकै लागि अहिले रातिको बेला युवा तथा वयोवृद्धलाई घरघरबाट तानेर ल्याएर राति अबेरसम्म जाग्राम गराउने तथा जोगिरा गाउन लगाउने गरिएकोे जलेश्वर–२ का दिलीप साहले बताए।

उनले होलैयाहरुले जोगिराले एकापसमा भाइचारा, प्रेम, सद्भाव र सुमधुर सम्बन्ध निर्माण गर्ने भएकाले आफूहरु रातिको बेला गाउँको चोकचोकमा ठूला सङ्ख्यामा भेला भएर जोगिरा गाउने गरेको बताउनुभयो । पन्ध्र दिनअघिदेखि नै शुरु हुने जोगिरा गायन मिथिलाञ्चलको प्रत्येक गाउँगाउँमा शुरु भइसकेको छ भने यस जोगिरा गायन होलीको दिनको अघिल्लो रातिसम्म गाउने गरिएको छ ।

पछिल्लो समयमा भने भोजपुरी भड्किलो गीत, खुला मदिरा व्यापार र चर्को आवाजमा बजाइने डिजेबाजाको प्रभावले जोगिरालाई कतैकतै खलल् पार्ने कामसमेत हुने गरेको रामगोपालपुर नगरपालिका–७ का होलैया प्रमोद मण्डलले बताए। उनले स्थानीयहरुले एकजुट भएर एकै लय र स्वरमा आफ्नो भाषा, सङ्गीत र आफ्नो शब्दमा गाइने जोगिराले परम्परा झल्काउने, सद्भाव बढाउने र जोगिरासमेतलाई संरक्षण गर्न ठूलो मद्दत मिलेका बेला भोजपुरी आधुनिक नामका भड्किलो गीत, डिजेबाजाको चर्को आवाज र मदिरा सेवनकर्ताले होहल्ला गरेर जोगिरा भाँड्ने प्रयास गर्दा नरमाइलो हुने गरेको गुनासो गरे।

परापूर्वकालदेखि चलिआएको जोगिरा गायनको संस्कृतिले सुरक्षा र संरक्षण पाउनुपर्ने भन्दै जलेश्वर नगरपालिका–११ का जोगिरा रविशङ्कर बिच्छाले जोगिरा गाउने बेलामा स्थानीय नगरपालिका तथा गाउँपालिकाका नगर प्रहरीले सुरक्षा दिनुपर्ने र नेपाल प्रहरीले गाउँ र बस्तीमा गस्ती गरेर कम्तीमा यो १५ दिनसम्म विशेष सुरक्षा दिनुपर्ने धारणा राखे । उनले अहिले गाउँगाउँमा रातिको बेला जोगिरा गायनको बेला स्थानीय बुद्धीजीवी र युवाले पनि समूह बनाएर यो संस्कृतिको संरक्षणका लागि काम गर्नुपर्ने जरुरी रहेको बताए।

आधुनिकताको नाममा जोगिरा गायनमाथि भोजपुरी दुईअर्थी अस्लिल भड्किलो गीत, डिजेको चर्को आवाज र खुला मदिरा बिक्री वितरणलाई होलीको एक दिनअघिसम्म प्रतिबन्ध लगाइनुपर्ने तथा जोगिराको संरक्षण र संवद्र्धनका लागि समय–समयमा विभिन्न अभियान सञ्चालन गर्नुहुने जलेश्वर नगरपालिका–१ का होलैया राकेशप्रसाद चौधरीले बताए ।

मिथिलाका गाउँगाउँमा रहेका मठ, मन्दिर, चौतारा, पाटीपौवा, दोबाटो, चौबाटो अहिले रातिको बेला सङ्गीतमय बनेको बेला मिथिलामा विभिन्न देवी–देवताको आगमनसमेत हुने आस्था रहेको मटिहानी नगरपालिका–६ का होलैया एवं अवकाशप्राप्त शिक्षक चन्देश्वर साहले बताए । उनले जोगिराको संरक्षण, संवद्र्धन तथा जगेर्नाका लागि स्थानीय जनप्रतिनिधि र प्रशासनले विशेष ध्यान दिनु जरुरी रहेको बताए ।

जोगिरा मिथिलासहित सम्पूर्ण देशकै धरोहर (नासो) एवं सम्पत्ति रहेको भन्दै नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डलले इतिहास एवं हाम्रा पूर्वजको सम्मान र भविष्य एवं हाम्रा सन्ततिको संरक्षणकै लागि भए पनि जोगिराको संरक्षण गर्नुपर्ने धारणा राखे । उनले यसका लागि हामी प्रत्येक मिथिलावासी, स्थानीय सरकार, जनप्रतिनिधि, सुरक्षा निकाय र धार्मिक, सांस्कृतिक एवं पुरातत्व विभाग पनि उत्तिकै उत्तरदायी तथा जवाफदेही बन्नुपर्नेमा जोड दिए ।

वि.सं.२०७७ चैत ५ बिहीवार १५:२१ मा प्रकाशित

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता...

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको  ध्यानाकर्षण

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिला सङ्गठनले एलपी ग्यासको कृत्रिम अभाव,...

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...