
६ चैत, काठमाडौं । बझाङको साइपाल गाउँपालिकाकी उपाध्यक्षसहित वडा अध्यक्षहरु खाद्यान्न माग्दै काठमाडौं आइपुगेका छन् ।
भौगोलिकरुपमा विकट रहेको साइपाल गाउँपालिकाका ६१० घर परिवार भोकमरीको चपेटामा परेपछि पालिकाकी उपाध्यक्ष कल्पनादेवी बोहोरासहित चार वडा अध्यक्षहरु खाद्यान्न माग्दै काठमाडौं आइपुगेका हुन् ।
गाउपालिकामा गत कात्तिकयता एकदिन मात्रै पानी पर्यो । पानी नभएपछि अन्न फलेन र ६१० घर परिवार भोकमरीको मारमा परेपछि पालिकाका वडा नं १ का अध्यक्ष गोपाल बोहोरा, २ का अध्यक्ष हरिलाल बोहोरा ३ का अध्यक्ष जगवीर बोहरा र ४ का जयसिंह रोकाया काठमाडौं आइपुगेका हुन् ।
उपाध्यक्ष बोहराले साथमा एकवर्षको बच्चा पनि ल्याएकी छन् । ‘खेती भनेको गहुँ, जौ, कोदो र मकै हो तर खडेरीले केही उम्रिएन, उम्रेको केही बाली पनि सुक्यो,’ खाद्य व्यवस्थता तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल समक्ष उपाध्यक्ष बोहोराले भनिन्, ‘पुस माघबाट खाद्यान्न अभाव भइसकेको छ । केहीले खाद्यको चामल आए तिरौला भनेर व्यापारीबाट पैचो चामल मागेर खाइरहेका छन् ।’ शुक्रबारको कान्तिपुर दैनिकमा समाचार छ ।
उनीहरुले बुधबार उद्योग तथा वाणिज्य आपूर्ति राज्यमन्त्री विमला विकलाई ज्ञापनपत्र बुझाएका छन् । साथै बिहीबार पनि उनीहरु खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा ज्ञापनपत्र बुझाउन पुगेका थिए ।