
जब सम्झन्छु
तिम्रा स्निग्ध प्रेमिल स्पर्शहरु
हर्षले आँखाबाट
फूलका आँसु बर्षन्छन् ।
हृदयतल रसाउँदै
कण–कणमा आनन्दको
प्रशान्त सागर छचल्किन्छ
स्वयं प्रेमका देवता
हृदयगृहमा बास बस्छन् ।
फेरि सम्झन्छु
फूलको किस्तीमा छुपाएर गरेको
धारिलो छुरीको प्रहार
तिमीले दिएका
ती मर्मान्त घातका चोटहरु;
हृदयको कापकापमा
पुत्पुताउछ निसासिंदो धुवाँ ।
धोकाको अग्निज्वाला
दावानल बनेर जलाउँछ
विश्वासका नाजुक मुजुराहरु
अनायास ओइलाउँछन्;
‘पवित्र मधुर प्रेम’
प्रीतको अग्निले जलाएको घाउको
दुःखाउने खत बन्छ ।
दुई थोपा पानी
एक थोपा बनेर घोलिएको प्रवाह
कसरी
फरक भगालोमा बहन्छ ।
जब जलिरहेको हुनेछ
मेरो चिता
तिमी किनारमा बसेर
शंखको शोकधुनबाट तरङ्गीत
शोकाकूल संगीतको
परम आनन्दमा – एक्लै डुब्नु ।