मन्दा पौडेल, काठमाडौँ
शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग डराउने छ।
नियति हो,चढाएर रुख आफैँ,फेरि तल झराउने छ।
जरुरी यो छैन कि बाडुल्की लाग्ने बित्तिकै कसैले सम्झियोस्,
एक दुई घुट्का पानी पिएर त हेर्नुस्,आफैँ हराउने छ।
भै गो हतार नगर्नुस्,सुख होइन सबैलाई बाँड्नलाई,
उघार्न हुन्न दु:खको दैलो,आफ्नै छाया नि लरखराउने छ।
चुम्न चाहन्थ्यो शिखर,कठै चिचिलो रहरलाई के थाहा,
बारम्बार यो समयले हृदयमा आघात गराउने छ।
कृतज्ञ हुन सिक्यौ भने आज नदी तराउने डुङ्गाप्रति,
चौड्याएर त्यो छाती उसले,भोली पनि नदी तराउने छ।
अक्षर सङ्ख्या : २१
अनुप्रास : आउने
शेष अनुप्रास : छ
अभ्यास : चारु अभ्यास पाठशाला
वि.सं.२०८३ वैशाख १२ शनिवार ०८:१९ मा प्रकाशित






























