९ चैत्र, काठमाडौं । अबदेखि कोभिड १९ विरुद्धको खोप कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रियस्तरका सरकारी संस्थाले पनि ल्याउन पाउने भएको छ ।
औषधि व्यवस्था विभागले एक विज्ञप्ति जारी गर्दै अब कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय अन्तरसरकारी संस्थालाई खोप ल्याउन दिने निर्णय गरेको जनाएको हो।
कोभिड १९ खोपको आपतकालीन प्रयोग र आयात अनुमति प्रदान गर्ने सम्बन्धमा गत पुष महिनामा मन्त्रीपरिषद्ले गरेको निर्णय अनुसार नेपालस्थित कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय अन्तरसरकारी संस्थाले सम्बन्धीत मुलुक वा अन्तर सरकारी संस्थाले स्वीकृत गरेको खोप नियोगका कर्मचारी तथा निजका परिवारका सदस्यहरुलाई खोप लगाउनका लागि आयात गर्न चाहेमा ल्याउन सक्नेछन् ।
नियोगका कर्मचारी तथा निजका परिवारका सदस्यहरुलाई कोभिड १९ खोप लगाउतका लागि आयात गर्न चाहेमा परराष्ट्र मन्त्रालय एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा औषधि व्यवस्था विभागले आयात अनुमति दिने र नियोगले खोपको प्रयोग प्रतिवेदन स्वास्थ्य मन्त्रालयले तोकेको ढाँचामा उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको बताइएको छ।
साथै औषधि वा खोपको आपतकालीन प्रयोगसम्बन्धी संहिता, २०७७ बमोजिम नेपाल सरकारलाई दातृराष्ट्र, अन्तर्राष्ट्रिय अन्तरसरकारी संस्था वा परोपकारी संस्थाले अनुदानमा खोप उपलब्ध गराउने भएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा विभागले अनुमति दिने व्यवस्था रहेको समेत जनाइएको छ ।
वि.सं.२०७७ चैत ९ सोमवार १६:२६ मा प्रकाशित































